पोखराको नयाँ योजना: ‘एक पर्यटक, एक मित्र’ अभियानदेखि सिसा पुलसम्म
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘समुन्नत पोखराको आधार: सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । १९औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताए । ‘निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू आत्मसात गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ,’ उनले भने । महानगरले आगामी वर्षका लागि विभिन्न ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ । पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई नागरिकस्तरबाट आवश्यक जानकारीसहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका अगाडि बढाउन ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने महानगर प्रमुख आचार्यले बताए । त्यसैगरी, सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने र ताल वरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने प्रमुख आचार्यले बताए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकीकृत प्रवर्द्धन गर्ने तथा फेवाताल, बेगनास ताल, रूपा ताल लगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ । पोखरा-भरतपुर-लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणा अन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा त्रिपक्षीय भ्रमण आदानप्रदानलगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवर्द्धनात्मक गतिविधिहरूलाई नीति कार्यक्रममा जोड दिइएको छ । महानगरका प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको मेगा वृक्षारोपण अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने तथा महानगर क्षेत्रमा रहेका एक सय वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन र ‘जिपिएस नक्साङ्कन’सहित अभिलेख तयार पारिने महानगर प्रमुख आचार्यले बताए । ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान, सीमा नाकामा रिफ्रेसमेन्ट सेन्टर, एक वडा एक सार्वजनिक शौचालय अभियान तथा सुरक्षित सहर अभियान महानगरले सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । यसैगरी सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवर्द्धन गर्ने तीन विद्यालय, तीन सरकारी कार्यालय, पाँच टोल विकास संस्था र सात आमा समूहलाई वार्षिक ‘ग्रीन अवार्ड’ प्रदान गरिने प्रमुख आचार्यले बताए । महानगरले ल्याएको नीति तथा कार्यक्रममा महानगरपालिका र मातहत कार्यालयहरूमा सुशासन सुदृढीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित, मितव्ययी, सरल, सहज र पारदर्शी तथा प्रविधिमैत्री बनाइने, महानगरलाई वित्तीय दायित्व पर्ने अनावश्यक संरचना खारेज गरी अनलाइन प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता गर्ने उल्लेख छ । सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन तथा सार्वजनिक जग्गाको अभिलेख व्यवस्थित गर्ने, फिर्के खोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचना हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहर तथा नगरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्दै लगिने प्रमुख आचार्यको भनाइ छ । शैक्षिक गुणस्तर सुधार र स्वच्छ प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समूह विद्यालयको केन्द्र बनाई परीक्षा सञ्चालनलाई निरन्तरता दिइने तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी, शिक्षकहरूलाई उचित प्रोत्साहन प्रदान र प्रधानाध्यापकहरूको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रोत्साहनको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ । स्वास्थ्य बिमा सेवालाई थप गुणस्तरीय बनाउँदै बिमा सञ्चालन भएका स्वास्थ्य संस्थाको कार्यक्षेत्रका सबै घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार तथा सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूको प्रभावकारी नियमन तथा अनुगमन प्रणाली सुदृढ गरिने उल्लेख छ । प्रदेश सरकारको समन्वयमा निजी तथा सरकारी संस्थामा १० प्रतिशत बेड निःशुल्क उपलब्ध हुने व्यवस्था कार्यान्वयन गरिने महानगरको नीति छ । महानगरका वडा केन्द्र जोड्ने ‘कनेक्टिङ सडक’ र सहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लैजाने र रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा सहरी सडकलाई सङ्घ सरकार र प्रदेश सरकारको सहकार्यमा अस्फाल्ट कालोपत्र गरिने प्रमुख आचार्यले बताए । सार्वजनिक निजी साझेदारीमा पातले छाँगोमा सिसा पुल निर्माण आयोजना सञ्चालनमा ल्याएर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, फोहरमैला प्रशोधन केन्द्र र सेती खोंचमा ‘क्यान्टिलिभिर वाक’ निर्माण, व्यवस्थित वधशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, बेगनास तालमा वाटर स्पोर्ट्स परियोजना सञ्चालन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ । त्यसैगरी, नगर विकास कोष र एसियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसपार्क र पोखरा सभागृह निर्माण सुरु गर्ने तथा बेगनास ताल बसपार्क, पोखरा प्रवेश गर्ने नाकामा मिनी बसपार्क, मुक्तिक्षेत्र प्रवेशद्वार र नमूना अक्षराधाम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रमुख आचार्यको भनाइ छ । पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, महानगर क्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको परिचयात्मक प्रोफाइल तयार तथा फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । फिर्केखोलाको दायाँ-बायाँ व्यवस्थित ‘फुटट्रेल’, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग निर्माणसहित हरियाली बेल्ट, ढुंगे तटबन्ध, वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने प्रमुख आचार्यले बताए ।
हस्पिटालिटीमा शशिकान्तलाई एकपछि अर्को सफलता
काठमाडौं । उद्योग, बैंकिङ र व्यापारलगायत क्षेत्रमा स्थापित नाम हो शशिकान्त अग्रवाल, जसले पछिल्लो एक दशकमा नेपालको हस्पिटालिटी क्षेत्रमा पनि बलियो उपस्थिति बनाउन सफल भएका छन् । विश्वप्रसिद्ध म्यारियट इन्टरनेशनल ब्राण्ड नेपाल भित्राउँदै देशको पर्यटन तथा आतिथ्य उद्योगलाई थप उचाइमा पुर्याउन उनको ठूलो योगदान छ । ठमेलमा रहेको चारतारे होटल ‘फेयरफिल्ड वाई म्यारियट काठमाडौं’ बाट होटल यात्रा सुरु गरेका अग्रवालले नक्सालमा पाँचतारे होटल ‘काठमाडौं म्यारियट होटल’ सञ्चालनमा ल्याइसकेका छन् । साथै उनले हालै युवालक्षित ‘मोक्सी’ ब्रान्डसमेत नेपालमा भित्राएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रमा लामो समयको अन्तरालपछि अन्तर्राष्ट्रिय चेन होटल भित्र्याउने काममा व्यवसायी शशिकान्त अग्रवालले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सोल्टी होटलमा क्राउन प्लाजा भित्रिएको लामो समयसम्म नयाँ अन्तर्राष्ट्रिय ब्रान्डहरू भित्रिन सकेको थिएनन् । त्यही बीचमा उनले ठमेलमा फेयरफिल्ड सञ्चालनमा ल्याएको अग्रवाल सुनाउँछन् । त्यस समयमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड नेपाल भित्र्याउन आफैंमा ठूलो उत्साह र चुनौती दुवै रहेको उनी बताउँछन् । ‘लामो समयपछि फेरि अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिएको थियो, त्यसको छुट्टै उत्साह थियो,’ उनले भने । त्यही उत्साहकै बीच अग्रवालले म्यारियट भित्र्याए । तर, नयाँ होटल सञ्चालनमा आएको केही महिनामै विश्वव्यापी महामारी कोभिड–१९ सुरु भयो, जसले समग्र पर्यटन तथा होटल उद्योगलाई गम्भीर रूपमा प्रभावित बनायो । ‘म्यारियट सञ्चालनमा आएको करिब चार–पाँच महिनासम्म व्यवसाय उत्साहजनक रूपमा अघि बढिरहेको थियो,’ अग्रवाल भन्छन्, ‘त्यहीबीच कोभिड महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द, पर्यटक आगमनमा गिरावट र समग्र आर्थिक गतिविधि ठप्प हुँदा होटल व्यवसायमा ठूलो धक्का लाग्यो ।’ कोभिडअघि ८० प्रतिशतसम्म पुगेको होटलको अकुपेन्सी कोभिडपछि ७०/६० हुँदै शून्यमा पुगेको उनले बताए । कोभिडको बेलामा बैैंकको ब्याज तिर्नलाई पनि अग्रवाललाई समस्या भयो । कोभिडको समयममा उनको ऋण ४३० करोडजति थियो । त्यो बेलाको अनुभव सुनाउँदै उनले भने, ‘त्यतिबेला कसरी ऋण तिर्ने होला भनेर साह्रै तनाव भयो, अरू व्यापारबाट कमाएर तिरौंला भन्ने स्थिति पनि थिएन, अरू व्यवसाय पनि ठप्पै थियो ।’ कोभिडको समयमा नेपालको सेयर बजार भने तीव्र रूपमा बढिरहेको थियो । त्यसलाई नै अवसरका रूपमा लिँदै उनले आफ्नो स्वामित्वमा रहेका राम्रा क्वान्टिटीका सेयर बिक्री गर्न थाले । कोभिडको समयमा व्यवसाय पूर्ण रूपमा ठप्प भए पनि आफूले वित्तीय अनुशासन कायम राख्दै बैंकको ऋण तिर्न निरन्तरता दिएको व्यवसायी अग्रवाल बताउँछन् । उनका अनुसार सो समयमा धेरै ऋणीहरू बैंकमा ऋण पुनर्संरचना (रिसेड्युलिङ) गर्न पुगिरहेका थिए । तर, उनले भने ठीक विपरीत रूपमा अग्रिम रूपमा ऋण भुक्तानी गरिरहेका थिए । ‘त्यतिबेला व्यवसाय ठप्प हुँदा पनि बैंकको ऋण तिर्न थालेपछि मलाई बैंकरले नै भन्नुभयो, ‘मान्छेहरू बैंकमा ऋण रिसेड्युलिङ गर्न आउनुहुन्छ, तपाईं चाहिँ अग्रिम तिर्नुहुन्छ, कहाँबाट पैसा ल्याउनुहुन्छ ? घरमा छापेर ल्याउनुहुन्छ कि कसो ?’ अग्रवालले आफ्नो अनुभव सुनाए । त्यो कठिन समयमा पनि अग्रवालले करिब २ अर्ब रुपैयाँ बैंक कर्जा घटाउन सफल भएका थिए । यसले कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । उनका अनुसार कम्पनीको वित्तीय योजना सुरुदेखि नै स्वस्थ र अनुशासित रहँदै आएको छ । कोभिडजस्तो चुनौतीपूर्ण समयमा पनि बैंकको ऋण नियमित रूपमा भुक्तानी गरेकै कारण वित्तीय संस्थाहरूको कम्पनीप्रतिको विश्वास अझ बलियो बनेको उनको भनाइ छ । अग्रवालका अनुसार आवश्यक पर्दा ऋण पुनर्संरचना गर्नुपर्ने अवस्था आए पनि बैंकहरूले सहज रूपमा सहयोग गरेका थिए । हाल सञ्चालनमा रहेका सबै होटलको व्यवसाय राम्रो छ । छोराको साथ उनका छोरा गौरव अग्रवाल पनि होटल क्षेत्रमा सक्रियपूर्वक लागिरहेका छन् । आफ्नो व्यवसायमा विशेषगरी होटलमा छोराको विशेष साथ अग्रवालले पाइरहेका छन् । मोक्सी होटलको सबै जिम्मेवारी उनैले सम्हालिरहेका छन् । ‘ऊ आफै पनि युवा भएको हुनाले उसलाई यस्तै मन पर्छ,’ उनले भने । अग्रवालका अनुसार उनका छोराको रुचि उत्पादनमूलक उद्योगभन्दा हस्पिटालिटी क्षेत्रमा बढी छ । युवापुस्तालाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको ‘मोक्सी’ ब्रान्ड विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको उनले उल्लेख गरे । म्यारियट इन्टरनेशनलअन्तर्गतको यो लाइफस्टाइल होटल ब्रान्ड एसियाका विभिन्न सहरहरूमा विस्तार भइरहेको छ । टोकियो, मुम्बई र गोवासहितका प्रमुख गन्तव्यमा मोक्सी होटल सञ्चालनमा आइसकेका छन् । अग्रवालका अनुसार हाल सञ्चालनमा रहेको मोक्सी होटल ब्रेक–इभन (न नाफा न घाटा) मा छ । ‘अहिले हाम्रो होटल ब्रेक-इभनमा छ, गत महिनादेखि नै हामी ब्रेक–इभनमा पुगिसकेका छौं, त्यसैले हामी निकै उत्साहित छौं,’ उनले भने । नाफामा म्यारियट सन् २०१९ मा सञ्चालनमा आएको काठमाडौं म्यारियट होटल अहिले नाफामा सञ्चालन भइरहेको छ । अग्रवालका अनुसार गत वर्ष होटलले करिब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कर दायित्व चुक्ता गरेपछि होटलले करिब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको उनले सुनाए । होटलले आर्जन गरेको खुद नाफामध्ये १० प्रतिशत अर्थात् करिब साढे ३ करोड रुपैयाँ कर्मचारीलाई बोनसस्वरूप वितरण गरेको पनि उनले जानकारी दिए । गत वर्ष नेपालमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने होटल म्यारियट नै रहेको उनको दाबी छ । म्यारियट अग्रवालको एकल स्वामित्वमा रहेको होटलसमेत हो । उनका अनुसार हाल बैंकको ब्याजदर पनि तुलनात्मक रूपमा कम छ भने तिर्न बाँकी कर्जासमेत धेरै छैन । यसले होटलको वित्तीय अवस्था थप सुदृढ बनेको उनले बताए । वित्तीय अनुशासन कायम गरेकै कारण आफनो होटलले नाफा आर्जन गर्न सफल भएको दाबी गर्छन् अग्रवाल । उनका अनुसार मोक्सी होटल सञ्चालनमा ल्याउँदा १८२ करोड ऋण लागेको थियो । अहिले ५० करोड रुपैयाँ जतिमात्रै ऋण बाँकी छ । म्यारियटमा कोठाको मूल्य सिजनअनुसार फरक–फरक हुने गरेको छ । अग्रवालका अनुसार कोठाको दर सामान्यतया १७–१८ हजार रुपैयाँदेखि सुरु भएर ५० हजार रुपैयाँसम्म रहेको छ । उनी भन्छन्, ‘पर्यटकलाई प्रभावकारी रूपमा आकर्षित गर्न सकियो र होटलको अकुपेन्सी दर बढ्यो भने पर्यटकको आगमन पनि बढ्छ । माग बढेसँगै हामीले कोठाको शुल्क समायोजन गर्न सक्छौं जसलाई ‘डाइनामिक प्राइसिङ’ भनिन्छ ।’ ९ अर्ब लगानीमा ‘जेडब्ल्यू म्यारियट’ भित्र्याउँदै व्यवसायी अग्रवालले म्यारियट इन्टरनेशनलको सबैभन्दा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘जेडब्ल्यू म्यारियट’ अन्तर्गत नयाँ होटल निर्माण गर्दैछन् । भक्तपुरको ठिमीमा निर्माण हुन लागेको उक्त होटल सञ्चालनका लागि उनले म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटसँग हस्तक्षरसमेत गरिसकेका छन् । उनका अनुसार होटलको डिजाइनको काम सुरु भइसकेको छ । २४० कोठा रहने यो होटल विशिष्ट लक्जरी अवधारणामा आधारित हुनेछ । ‘लक्जरीलाई नयाँ ढंगले प्रस्तुत गर्ने योजना बनाएका छौँ,’ अग्रावलले भने । होटलभित्र ‘माउन्टेन म्युजियम’ पनि निर्माण गरिने जनाइएको छ । यसको उद्देश्य नेपाल र हिमाल आरोहणको इतिहासबारे पर्यटकलाई जानकारी गराउनु रहेको उनले बताए । म्युजियममा एडमन्ड हिलरीले प्रयोग गरेका सामग्रीहरू, जस्तै– उनको बन्चरो, जुत्ता तथा अन्य ऐतिहासिक वस्तुहरू संकलन गरी प्रदर्शनीमा राखिनेछ । होटलभित्र ‘आइस बार’ पनि निर्माण हुनेछ । जहाँ अत्यधिक चिसो वातावरण सिर्जना गरिनेछ । यसको उद्देश्य पर्यटकलाई हिमाली क्षेत्रमा पुगेजस्तै अनुभूति दिलाउनु रहेको अग्रावलले बताए । उनी भन्छन्, ‘आइस बारभित्र निकै चिसो वातावरण हुनेछ, हिमाल आरोहणका लागि प्रयोग हुने विशेष पोसाकबिना भित्र जान सम्भव हुँदैन ।’ उनका अनुसार यो अवधारणा विशेषगरी माउन्ट एभरेष्ट आरोहणको तयारी गरिरहेका पर्यटकलाई लक्षित हुनेछ । साथै हिमाल चढ्न नसक्ने वा त्यहाँसम्म पुग्न नसक्ने पर्यटकले पनि विशेष पोसाक लगाएर १५ देखि ३० मिनेटसम्म हिमाली वातावरणको अनुभव लिन सक्नेछन् । यसका अतिरिक्त होटलको डिजाइनमा भक्तपुरको मौलिक संस्कृति र परम्परागत वास्तुकलाको झल्को दिइनेछ । होटलमा हाल प्रचलनमा रहेका सुविधाभन्दा ठूलो, करिब एक हजारदेखि १२ सयजना अट्ने क्षमताको ब्याङ्क्वेट हल निर्माण गरिने योजना छ । त्यससँगै प्रदर्शनी तथा ठूला कार्यक्रम आयोजना गर्न मिल्ने बहुउद्देश्यीय एक्जिबिसन हल निर्माण गर्ने योजना पनि रहेको उनले सुनाए । २० रोपनी क्षेत्रफलमा फैलिएको यस होटलको निर्माणमा करिब ९ अर्ब रुपैयाँ लगानी लाग्ने अग्रावलले सुनाए । उनका अनुसार जग्गाको मूल्यबाहेक होटल निर्माणमै करिब ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । उनले भने, ‘यो करिब ९ अर्ब रुपैयाँको परियोजना हो । कुल ९०० करोड रुपैयाँ लगानीमध्ये करिब ६० प्रतिशत, अर्थात् ५४० करोड रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी रकम आफ्नै हुनेछ ।’ आगामी दिनमा म्यारियटलाई पब्लिकमा लैजाने सोच अग्रवालको छ । तीन वर्ष लगातार प्रफिटमा गएपछि पब्लिकमा लैजाने तयारी रहेको उनले सुनाए । पब्लिक ओनर हुँदा छुट्टै अपनत्व हुने र त्यो पैसाले ऋण तिर्न वा अरु एक्सपान्सन गर्न सकिने उनको भनाइ छ । ५० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालमा एकपछि अर्को गर्दै ठूला होटल सञ्चालनमा आइरहेका छन् भने अन्तर्राष्ट्रिय चेन होटलहरूको प्रवेश पनि बढ्दो छ । यसले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा उल्लेखनीय सम्भावना रहेको सन्देश विश्व बजारमा पुगेको व्यवसायी अग्रावल बताउँछन् । अग्रवालका अनुसार होटल व्यवसायमा लगानी गर्नेहरूले घाटा हुने वा व्यवसाय नचल्ने आशंकाभन्दा पनि दीर्घकालीन सम्भावना र सकारात्मक प्रतिफलको अपेक्षा राखेर लगानी गर्ने गर्छन् । ‘पुँजी, समय र मिहिनेतको ठूलो लगानी हुने भएकाले व्यवसाय राम्रो हुन्छ भन्ने विश्वासका साथ लगानी गरिएको हुन्छ,’ उनी भन्छन् । तर, पछिल्लो समय नयाँ–नयाँ होटल थपिँदै जाँदा त्यसअनुसार आवश्यक पूर्वाधारमा पनि सुधार हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । विशेषगरी हवाई पूर्वाधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन् । अग्रवालले नेपाल एयरलाइन्सलाई कुनै अन्तर्राष्ट्रिय एयरलाइन्ससँग रणनीतिक साझेदारीमा लैजानुपर्ने सुझाव दिए । उनी भन्छन्, ‘नेपाल एयरलाइन्सको ५१ देखि ६० प्रतिशतसम्म सेयर कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई दिन सकिन्छ । विदेशी रणनीतिक साझेदार भित्रिएमा कम्पनीको व्यवस्थापन र सञ्चालन क्षमता थप प्रभावकारी हुन सक्छ ।’ यस्तो साझेदारीले नेपाल एयरलाइन्सको आम्दानी उल्लेखनीय रूपमा बढाउन सक्छ । साथै हवाईमार्फत नेपाल आउने पर्यटकको संख्या पनि हालको तुलनामा धेरै गुणाले वृद्धि हुन सक्ने उनको विश्वास छ । ‘पर्यटक आगमन बढ्न सके अहिले सञ्चालनमा रहेका होटलहरू सहजै भरिन सक्छन्,’ उनले भने । अग्रवालका अनुसार नेपालमा वार्षिक ५० लाख पर्यटक भित्राउने पर्याप्त सम्भावना भए पनि आफू पर्यटन क्षेत्रमा आबद्ध भएदेखि नै १० लाख पर्यटकको लक्ष्यबारे मात्रै चर्चा हुँदै आएको छ । उनी भन्छन्, ‘विगत ८–९ वर्षदेखि १० लाख पर्यटकको कुरा सुनिरहेको छु, अहिले पनि त्यही लक्ष्यकै चर्चा भइरहेको छ । हाम्रो वार्षिक पर्यटक आगमन अझै ११–१२ लाखको हाराहारीमै सीमित छ ।’ उनका अनुसार नेपालले वार्षिक ५० लाख पर्यटक भित्राउन सक्छ, जसमा ठूलो हिस्सा पशुपतिनाथ दर्शनका लागि आउने धार्मिक पर्यटकहरूको हुनसक्छ । पर्याप्त अन्तर्राष्ट्रिय प्रवद्र्धनको अभाव, सीमित हवाई सेवा तथा न्यून उडान क्षमताका कारण अपेक्षाअनुसार पर्यटक संख्या बढ्न नसकेको अग्रवालको बुझाइ छ । उनले हवाई पूर्वाधार व्यवस्थापन, विशेषगरी विमानस्थल सञ्चालन र हवाई ट्राफिक व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको औंल्याए । ‘विमानस्थल व्यवस्थापन र एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणाली अझै कमजोर छ । विदेशबाट विज्ञहरू ल्याएर तालिम दिने र एटीसीमा पाँच वर्षका लागि प्राविधिक सल्लाहकार नियुक्त गर्ने हो भने छिट्टै सुधार सम्भव छ,’ उनले भने । यस्ता सुधार लागू गर्न सकिए नेपालमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने पर्याप्त सम्भावना र क्षमता दुवै रहेको उनले बताए । उनका अनुसार निजी क्षेत्रले आगामी दिनमा ५० लाख पर्यटक भित्रिने लक्ष्यलाई ध्यानमा राखेर लगानी गरिरहेको छ । तर, सरकारले निजी क्षेत्रसँग केवल भाषणमा सीमित नभई वास्तविक रूपमा हातेमालो गर्दै अघि बढ्न सके यो क्षेत्र अझ सफल हुने उनको विश्वास छ ।
एबीसी पदमार्गमा बिजुली पुग्यो, पर्यटक र व्यवसायी उत्साहित
कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो । कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन् । अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आएका जगदीश गुरुङले भने 'यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो । अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ ।' उनका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६०(७० होटल सञ्चालनमा आइसकेका छन् । अन्नपूर्ण ११ छोम्रोङका मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गरे । राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा सहज पहुँच पाउने भएका छन् । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । उनले भने, 'घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन् ।' यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो । पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो । बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो । दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो । विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ । 'पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्', इन्जिनियर रम्तेलले भने । प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ । सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ । स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । 'पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ', गुरुङले भने । विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ । यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन् । रासस