‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माणदेखि ‘वेडिङ डेस्टिनेसन’ प्रवर्द्धनसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले बजेटमार्फत पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारको लागि विभिन्न योजना प्राथमिकताका साथ अघि सारेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका विभिन्न योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् । मधेश प्रदेशले बाराको ऐतिहासिक सिम्रौनगढलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न र चुरेको फेदीमा पर्या–पर्यटन प्रवर्द्धनका लागि ‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माण तथा ब्रान्डिङ गरिने घोषणा गरेको छ । त्यस्तै, जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्षण, सप्तरीको छिन्नमस्ता, सिरहाको सलहेश फूलबारी, रौतहटको नुन थर, गोल्मेराजा बौद्ध विहार, महोत्तरीको रौजामजार र रौतहटको शिव नगर लगायतका ऐतिहासिक र धार्मिक शक्ति पीठहरूलाई जोडेर ‘मधेश धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट’ निर्माण गरिने घोषण गरेको छ । यस सर्किटमा पर्यटकको सुविधाका लागि आरामदायी पर्यटक बस सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ । साथै, लुम्बिनी, सुनसरीको राम धुनी र जनकपुरधामलाई भारतको अयोध्या र सीतामढीसँग जोड्न क्रस बोर्डर टुरिजम प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेशको मौलिक संस्कृति र परिकारलाई पर्यटनसँग जोड्न सम्भाव्य पर्यटकीय गन्तव्यहरूमा ‘सामुदायिक होमस्टे’ सञ्चालन गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख गरेको छ । स्थानीय मौलिक परिकारहरूको व्यवसायीकरण र ब्रान्डिङ गर्ने स्थानीय उद्यमीहरूलाई विशेष पुँजीगत अनुदानको व्यवस्था मिलाएको मधेश प्रदेश सरकारले जनाएको छ । स्वदेशी तथा प्रादेशिक उत्पादनलाई वजार सुनिश्चित गर्न, प्रदेश सरकार र अन्तर्गतका निकायहरूले सार्वजनिक खरिद गर्दा मधेश प्रदेशभित्रका साना तथा मझौला उद्योगका उत्पादनहरूलाई प्रचलित बजार मूल्यभन्दा निश्चित प्रतिशत महँगो भए पनि खरिद गर्नुपर्ने ‘मूल्य प्राथमिकता’ सम्बन्धी कानुनी व्यवस्था गरिने भएको छ । मधेश प्रदेशले पर्यटन आगमन बढाउन आन्तरिक पर्यटन प्रवर्द्धनका साथै पि.पि.पि. मोडलमा वेडिङ पार्क (वेडिङ डेस्टिनेसन प्रवर्द्धन) कार्यक्रम अगाडि बढाउने भएको छ । त्यस्तै थिम पार्क, वाटर पार्क, होटेल र धर्मशाला निर्माण गर्न लगानीकर्तालाई आमन्त्रण गरी जग्गा लिजमा उपलब्ध गराउन समन्वय गरिने भएको छ ।  साथै, स्थानीय कला र संस्कृति झल्कने उत्पादनहरू जस्तै- स्वीट्स र प्याकेटमा मिथिला कला, धूपको काठको कलात्मक धनु, मिथिला माटोको राम–जानकी र हनुमानका मूर्तिहरू उत्पादन गर्न सामूहिक मोडल अपनाई प्रदेश सरकारबाट सर्टिफाइड सोभिनियरका रूपमा ब्रान्डिङ गरिने भएको छ । 

सकुन्तलालाई सन्तोषले धोका दिएपछि...

काठमाडौं । दुई वर्षअघि शकुन्तला अधिकारी (थापा) को सोच थियो- गैह्रीधारामा सञ्चालन गरिरहेको रेष्टुरेण्ट बेच्ने र फेरि सामान्य गृहिणी जीवनमा फर्किने । होटल तथा रेष्टुरेण्ट व्यवसायमा अनुभव नभएका कारण उनले ठूलो लगानी गरेर सुरु गरेको व्यवसायबाट अपेक्षित सफलता पाउन सकेकी थिइनन् ।  करिब ६-७ करोड रुपैयाँ लगानीमा सञ्चालन गरेको रेष्टुरेण्टले न त लगानी उठायो, न त उनलाई व्यवसायमा टिकिरहन प्रेरित गर्यो । समयसँगै उनले महसुस गरिन्, आफूले अनुभव र ज्ञान नभएको क्षेत्रमा हात हाल्दा ठूलो आर्थिक र मानसिक दबाब व्यहोर्नुपरेको छ । अन्ततः उनले रेष्टुरेण्ट बिक्री गर्ने निर्णय गरिन् । तर, अर्को चुनौती थियो- किन्ने व्यक्ति कसरी खोज्ने ? त्यतिबेला नेपालका चर्चित सेफ सन्तोष साह व्यापक चर्चामा थिए । झम्सिखेलमा उनले नयाँ ‘थाली रेष्टुरेण्ट’ सञ्चालन गरिरहेको जानकारी शकुन्तलाले सामाजिक सञ्जालबाटै पाएकी थिइन् । उनले सोचेकी थिइन- ‘यदि यो रेष्टुरेण्ट अनुभवी व्यक्तिले चलाउने हो भने सम्भवतः सफल हुन सक्छ ।’ यही विश्वासका साथ उनले सन्तोष साहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरिन् । च्याटबाट सुरु भएको संवादमा उनले गैह्रीधारास्थित आफ्नो रेष्टुरेण्टको अवस्था, लगानी र आफूले भोगिरहेको कठिनाइबारे जानकारी गराइन् । त्यसपछि साहले रेष्टुरेण्टको अवलोकन गरे । स्थान, संरचना र सम्भावना हेरेपछि खरिद-बिक्री प्रक्रियाबारे छलफल अगाडि बढ्यो । शकुन्तलाका अनुसार दुई वर्षअघि २ करोड २५ लाख रुपैयाँमा रेष्टुरेण्ट बिक्री गर्ने सहमति भयो । प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ टोकन बैना स्वरूप प्राप्त भए पनि त्यसपछि बाँकी रकम नपाएको उनी बताउँछिन् । रेष्टुरेण्ट बिक्री गरेर आर्थिक भारबाट मुक्त हुने अपेक्षा गरेकी शकुन्तलाको जीवन भने त्यसपछि पनि सहज बन्न सकेन । उनी भन्छिन्, ‘मैले व्यवसाय छाडे, तर समस्या छाड्न सकिँन ।’ उनका अनुसार पटक-पटक सम्पर्क गर्दा पनि बाँकी रकम प्राप्त हुन सकेन । न्यायको खोजीमा विभिन्न निकाय धाउँदा पनि सुनुवाइ नभएपछि अन्ततः प्रहरी प्रशासनको शरण लिनु परेको उनले बताइन् । ‘बैंकमा तिर्नुपर्ने केही दायित्व अहिले पनि मैले नै बेहोरिरहेकी छु,’ उनी भन्छिन्, ‘रेष्टुरेण्ट बेचेर नयाँ जीवन सुरु गर्ने सपना थियो, तर दुई वर्षदेखि रकमको प्रतीक्षामै छु ।’ विकासन्युजले प्राप्त गरेको सम्झौतापत्रअनुसार रेष्टुरेण्ट खरिद-बिक्री सम्झौता ‘मिथिला थाली’का तर्फबाट रामहित साह र ‘आर्जब होल्डिङ प्रालि’ का तर्फबाट सचिन भण्डारीबीच भएको देखिन्छ । उक्त कागजातमा सेफ सन्तोष साह साक्षीका रूपमा उल्लेख छन् । प्राप्त विवरणअनुसार खरिद-बिक्री सम्झौतामा उनको भूमिका प्रत्यक्ष खरिदकर्ता वा विक्रेताको नभई साक्षीको रूपमा रहेको देखिन्छ । यस्तो छ सम्झौता रेष्टुरेण्ट विक्री तथा घर भाडा दायित्व स्थानान्तरण सम्बन्धमा मिति २०८१ जेठ २४ गते मा सम्पन्न सम्झौता ( यस पछि मुल सम्झौता भनिएको ) मा संशोधन  लिखितम् काठमाण्डौं जिल्ला कामनपा वडा न- १ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको श्री आर्जव होल्डिङ्ग प्रा.लि. का तर्फबाट अख्तियार प्राप्त सो का सञ्चालक श्री सचिन भण्डारी (यसपछि, प्रथम पक्ष भनिने) र काठमाडौं जिल्ला कामनपा वडा नं. ४ मा दर्ता भएको श्री मिथिला थाली प्रा.लि (जसलाई मुल सम्झौतामा द्वितिय पक्ष भनिएको को ) बीच रेष्टुरेण्ट विक्री तथा घर भाडा दायित्व स्थानान्तरण सम्बन्धमा मिति २०८१ जेठ २४ मा सम्पन्न सम्झौतामा दुवै पक्षको स्वतन्त्र सहमतिमा तपसिलमा उल्लेखित शर्त तथा बन्देजहरु एक आपसमा परिपालना गर्ने गरी आज मिति २०८१ भदौ १७ मा मुलुकी देवानी सम्झौता २०७४ बमोजिम मुल सम्झौताको निम्न लिखित बुँदाहरुमा देहाय बमोजिम संशोधन गर्न मन्जुर भई प्रथम पक्षको कार्यालय, काठमाडौं जिल्ला कामनपा वडा नं १. काठमाडौंमा बसि तपसीलका साक्षीहरूको रोहबरमा सही छाप गरी एक एक प्रति लियौ दियौँ ।  शर्तहरू:  १. मूल सम्झौताको शर्त नं २ को “व्यवसाय विक्री सम्बन्धी व्यवस्था को उपशर्त ( c) मा संशोधन ।  (क) आर्जब होल्डिङ्ग प्रा।लि र मिथिला थालि प्रालि बीच भएको किनबेच सम्झौतामा टोकन रकम बापत रु १५,००,०००र रु ३८,५०,००० आर्जब होल्डिङ्ग प्रालिले पाउनुपर्ने रकमबाट कट्टा गरि बतास एसोसिएटस प्रालिलाई यस आर्जव होल्डिङ्ग प्रा.लि.ले भाडा बापत तिर्नुपर्ने रकमसँग मिलान गरिएको र नेपाल बैंकमा आर्जव होल्डिङ्ग प्रालिको नाममा रहेको बाँकी ऋण रु १,३५,८१,०६६ (अक्षरेपि रु एक करोड पैतिस लाख एकासी हजार छैसठ्ठी ) २०८१ अषाढ १ गतेदेखि मिथिला थालि प्रालिले व्यहोर्ने गरी दुवै पक्षबीच सम्झौता भएको छ  । (ख) यसैगरी उक्त आर्जब होल्डिङ्ग प्रालिको नाममा रहेको ऋण रु १,३५,८१,०६६- को सावा ब्याज गरि मिति २०८१ माघ मसान्त सम्म भुक्तान गरि उक्त बैंकको नाममा रहेको धितो फुकुवा गर्न दुबै पक्ष सहमत भएको छ ।  प्रथम पक्षको घर जग्गामा जडित धारा, बिजुली, तथा अन्य आवश्यकता अनुसार व्यवस्थापन लगायतका सुविधाहरू दोश्रो पक्षले प्रयोग गर्न पाउने छ । तर सो बापतको जो-जे लाग्ने प्रथम पक्षले दुबै पक्षको सहमतिमा समय समयमा तोके बमोजिमको महसुल दोश्रो पक्षले प्रथम पक्षलाई भुक्तान गर्नु पर्नेछ ।  (२) प्रथम पक्षले (आर्जब होल्डिङ्ग प्रालिले ) नेपाल विद्युत प्राधिकरणलाई यस सम्झौता हुन भन्दा अगाडि तिर्न बाँकी रकम रु २,७७,९९७ - पनि प्रथम पक्ष (आर्जब होल्डिङ्ग प्रालि) ले पाउने पर्ने रकमबाट कट्टा गरि हिसाब मिलान गर्न दुवै पक्ष सहमत भएको छ ।  (३) अब पाउन पर्ने कुल रकम मध्ये रु ३२,९०,९३५ को रु १५,००,००० मिति २०८१ भाद्र महिना र बाँकी रकम रु १७,९०,९३५ यही असोज महिनामा भुक्तान हुने गरि दुवै पक्ष सहमत भएको छ । (४) बाँकी अफिस कोठाको ३ वटा एसि र ३ वटा टेवलकुचिको अहिले कुनै हिसाब नगरिएको र असोज महिनामा यो सामानहरुको बिल अनुसार नरम करम मिलाई सोही अनुसार भुक्तान गर्न दुबै पक्ष सहमत भएको छ ।  (५) मुल सम्झौताका अन्य शर्त तथा बन्देजहरु यथावत कायम गरिएको छ । 

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : पर्यटनमन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित ‘विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावतः आध्यात्मिक भूमि भएकाले यहाँका हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । ‘पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,’ उनले भने, ‘नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ।’ नेपाल पर्यटन बोर्ड, स्पा सङ्घ नेपाल तथा अन्य विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा आरोग्य पर्यटनको बढ्दो विश्वव्यापी सम्भावना, स्पा तथा प्राकृतिक उपचार पद्धतिको महत्त्व र यस क्षेत्रको व्यावसायिक विकासका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए । उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको बताए । ‘विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ,’ उनले भने, ‘नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।’ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीका कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए । उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता भएको उल्लेख गरे । स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले ‘विश्व आरोग्य दिवस’ सम्बन्धी प्रस्तुतीकरण गर्दै आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । उनले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गरे । अन्तर्राष्ट्रिय आरोग्य विज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको टिप्पणी गर्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताए । ‘कसैले आरोग्य भनेको के हो भनेर सोध्यो भने मेरो उत्तर हुन्छ-नेपाल नै आरोग्य हो,’ उनले भने । नेपालमा उपलब्ध प्राकृतिक र आध्यात्मिक सम्पदालाई आर्थिक अवसरसँग जोडेर विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न उनले आग्रह गरे । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा योगाचार्य प्रकाशद्वारा योग अभ्यास सत्र सञ्चालन गरिएको थियो । साथै ध्वनि उपचार सत्र तथा तनाव व्यवस्थापनसम्बन्धी सेल्फ–मसाजको डेमो प्रदर्शन गरिएको थियो । आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले जानकारी दिए ।