पोखराबाट दुबई उडान दिगो बनाउने कसरत, व्यवसायीसँग फ्लाइ दुबईको छलफल
काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा-दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए । पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ छ । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए । सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा-दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए । रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ । फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने आसमा पर्यटन व्यवसायी छन् । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । झन्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।
दुई महिनाभित्र सञ्चालनमा आउँदै ६ अर्बको जालपादेवी केबलकार
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-७ राजकाँडामा निर्माणाधीन जालपादेवी केबलकार आयोजना अन्तिम चरणमा पुगेको छ । आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको करिब ६ अर्ब रुपैयाँको यो महत्त्वाकांक्षी परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । शुक्रबार नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूजा-अर्चनामा सहभागी हुँदै आयोजना निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गरे । हाल केबलकारका टप र बटम स्टेशनका भौतिक संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । पोल ठड्याउने, स्टेशन निर्माणलगायतका पूर्वाधार अन्तिम चरणमा पुगेका छन् भने अब मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोला जडान गर्ने काम सुरु हुने कम्पनीले जनाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकारमार्ग निर्माण भइरहेको छ । आयोजनाको बटम स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हलसहितका आधुनिक संरचना निर्माण भइरहेका छन् भने टप स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट तथा बाल उद्यान विकास गरिँदैछ । नेपालकै लामो कर्णाली नदी र ऐतिहासिक चिसापानी पुलको मनोरम दृश्यसँग जोडिएको यो आयोजना सुदूरपश्चिम प्रदेशको पर्यटन र आर्थिक विकासको नयाँ आधार बन्ने अपेक्षा गरिएको छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रमा प्रत्यक्ष लाभ पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ । मूर्तिको पदस्थापना कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले समय, लागत र गुणस्तरमा आयोजना सम्पन्न गर्न सक्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गरे । उनले धार्मिक पर्यटनसँगै आधुनिक पर्यटन पूर्वाधार विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे । ‘करिब १२ महिनाअघि सुरु गरिएको यो आयोजना निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौं । धार्मिक आस्थासँग पर्यटनलाई जोडेर देशभर यस्ता ठूला परियोजना निर्माण गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने । भारतसँगको सहज पहुँचका कारण यो आयोजना अन्तरदेशीय पर्यटनका लागि पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकाबाट छोटो सडक यात्रामै पुग्न सकिने भएकाले उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, लखनऊ, बरेली तथा देहरादुनलगायत भारतीय सहरबाट आउने पर्यटकलाई लक्षित गन्तव्यका रूपमा विकास गरिँदैछ । स्थानीयवासीका अनुसार तराईको अत्यधिक गर्मीबाट राहत खोज्ने आन्तरिक तथा भारतीय पर्यटकका लागि राजकाँडा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने सम्भावना रहेको छ । धार्मिक, प्राकृतिक र साहसिक पर्यटनलाई एउटै गन्तव्यमा समेट्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन नक्सामा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।
पर्यटन मन्त्रालयले रिक्त पदमा एकैपटक गर्यो दुई दर्जन नियुक्ति
काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ । असार १७ १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट नियुक्ति गरेको मन्त्रलायले जनाएको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ नियुक्ति गरेको छ । कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्त भएका छन् । त्यस्तै कोषको सदस्यहरुमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त गरेको छ । त्यसैगरी नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई समितिको सदस्यहरूमा माधव प्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्र प्रसाद अधिकारी नियुक्त भएका छन् । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण कुमार लामा सदस्यहरुमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्त भएका छन् । त्यसैगरी पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त भएका छन् । मन्त्रालयका अनुसार हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यहरुमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त भएको भएका छन् ।