सिटि होटलको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सिटि होटलले आज भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

ओरियन्टल होटल्सले २६ प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न असोज ३१ मा डाक्यो भेला

काठमाडौं । ओरियन्टल होटल्सले २६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँको १ सेयर बराबर ०.२६ सेयरका दरले ३१ करोड ५५ लाख ५ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीका अनुसार हकप्रद सेयरबाट संकलित रकम परिसरको रिनोवेशन गर्न खर्च गरिनेछ । हकप्रद सेयर पारित गर्न कम्पनीले असोज ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा २८औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

भाडा पुर्ताल सम्झौतासम्म नियमित, सकिएपछि विमान बिग्रिएको त कहिले मौसम खराब

काठमाडौं । इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्ला वासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाज उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । ‘पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्ने गरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’ नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। तीन महिना यता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए ।  ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन,’ उनले भने ।  ३२८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तार बारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए ।