तारागाउँ रिजेन्सीले सच्यायो त्रुटी, कर पछिको नाफा ४६ करोड ८५ लाख रुपैयाँ
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आफ्नो त्रुटी सच्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा भएको त्रुटी सच्याएको हो । कम्पनीको कर पछिको नाफा ४६ करोड ८५ लाख ७६ हजार ३३४ रुपैयाँ हुनुपर्ने हो । तर, यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा ५१ करोड ५४ लाख ३३ हजार ९६७ रुपैयाँ उल्लेख गरेको थियो । सच्याइएको तथ्याङ्क अनुसार कम्पनीको नाफा ९.५८ प्रतिशत अर्थात् ४ करोड ९६ लाख ९२ हजार रुपैयाँ घटेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ । यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एयरपोर्ट लाउन्ज, रेस्टुरेन्ट तथा ट्राङ्क्विलिटी स्पामा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । ग्राहकले यो सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
बन्दीपुर केवलकारको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।