पर्यटक आवागमन सहज बनाउन होटल संघ नेपालको आह्वान

काठमाडौं । होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्द भएपछि अनिश्चित बनेको पर्यटक यात्रुलाई सहज बनाउन सम्बन्धित निकायलाई प्राथमिकताका साथ पहल गर्न आह्वान गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले युवाहरुको बलिदानबाट सुरु भएको नयाँ भविष्यको संक्रमणकालमा देश र जनताको हितमा हुने सबै प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमै निषेधाज्ञा र अन्य अवरोधका कारण नेपाल आउने पर्यटकबाट अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन भइरहेको छ । यस्तो अवस्थामा आवागमनको समस्या छिटो व्यवस्थापन गर्न सकेमा पर्यटन क्षेत्रलाई केही हदसम्म सहज बनाउन सकिने संघको भनाइ छ । संघले होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्ति विनाशको रूपमा व्याख्या गर्दै थप क्षति हुन नदिन सबैलाई अपिल गरेको छ । त्यस्तै, हाल प्रभावित पर्यटकको व्यवस्थापन तथा सहजीकरणका लागि होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा पहल गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवश्यक आवास सुविधा चाहिएको खण्डमा होटल संघ नेपालको हटलाइन नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्रिभुवन विमानस्थल बुधबार साँझसम्म बन्द रहने

काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ ।  विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए

सिमकोट । हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौसम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका पाँच हजार ८४२ जना पुगेका छन् । जसमा भारतीय तीर्थयात्री पाँच हजार ५१७ र अन्य देशका ३२५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। उनका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, 'मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो संख्या हो, भारतीय पर्यटक आउने क्रम निकै बढी छ ।' उनका अनुसार मौसम अनुकुल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगञ्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन् । गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । कतिपय पर्यटकहरु गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए। उनका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् । जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क समेत उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु ११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु १५ सय तोकिएको छ । रासस