जेनजी प्रदर्शनपछि पर्यटन विकासमा नयाँ आशाको सञ्चार

पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरू रहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा रहेको नेपालले ती मुलुकहरूसँगको व्यापारमा कुनै प्रतिस्पर्धा गर्न सक्दैन तर पर्यटकीय सम्भावनाका दृष्टिले भने ती मुलुकहरुबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आकर्षित गराउन सक्ने क्षमता रहेको छ । यहाँको भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता र ऐतिहासिक धरोहरहरुले पर्यटकहरूलाई भरपूर आनन्द दिन सक्छन् । ‘नेचर, कल्चर र एडभञ्चर’मा नेपाल विश्वमै समृद्ध रहेको छ । तथापि, सम्भावनाको २० प्रतिशत पनि हामीले उपयोग गर्न सकेका छैनौँ ।  नेपालमा २००७ सालदेखि नै पर्यटनको विकास सुरु भए पनि ७५ वर्षको अवधिमा जति लाभ लिन सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । यस बीचमा केही कामहरू नभएका भने होइनन् तर ती स्वस्फुर्त रुपमा भएका कार्यले राम्रो परिणाम दिन सकेका छैनन् । हामीले अहिलेसम्म पर्यटकीय पूर्वाधारमा जोड दिन सकेका छैनौँ भने कस्ता पर्यटक भित्र्याउने र उनीहरुको बसाइलाई कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ ध्यान पुग्न सकेको छैन । अहिले पनि हामी काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीकै वरपर आठ–दश दिन पर्यटकलाई सीमित गराइरहेका छौँ । यसले पर्यटनको लाभ तल्लो तहसम्म पुग्न सकेको छैन ।  वर्षमा ३५–४० लाख पर्यटकलाई विश्वस्तरको सेवा दिनसक्ने हाम्रा होटलहरू छन् तर हामी अझै पनि सानो आकारमा आएको पर्यटकमै रमाइरहेका छौँ । हामीसँग पर्यटकलाई राख्ने, भ्रमण गराउने क्षमता नभएको पनि होइन । आवधिक १६ औँ योजनाले जम्मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । राजधानीबाहेक भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । तीन तहका सरकारहरुबीच समन्वय र सहकार्य हुन सकिरहेको छैन । सङ्घीय सरकारकै कुरा गर्दा पनि एउटा सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गर्छ, त्यसलगत्तै बनेको अर्को सरकारले सन् २०२५ देखि २०३५ को दशकलाई पर्यटन दशक भन्छ । मन्त्री फेरिएपच्छिे कार्यक्रमहरु फेरिन्छन् । कुनै सरकारहरु पनि गम्भीरतापूर्वक काम गर्नेभन्दा तदर्थवादमै अल्मिलिएका छन् ।  नेपालको अर्थतन्त्रको मेरुदण्ड भनिने पर्यटन क्षेत्रबाट राज्यले लाभ लिन सकिरहेको छैन ।  वर्षमा छिमेकी मुलुक चीनका झण्डै १८–२० करोड मानिस विश्व भ्रमण गर्दछन् भने भारतका पनि आठ–दश करोड नागरिकले अन्य देशको भ्रमणमा जाने गर्दछन् । उनीहरुले चाहेको सबै कुरा हामीसँग छ । त्यसको दुई प्रतिशत मात्रै नेपालमा भित्र्याउन सक्ने हो भने पनि ५०–६० लाख पर्यटक त यी दुई मुलुकबाट मात्रै ल्याउन सकिन्छ । हवाई तथा सडक कनेक्टिभिटी राम्रो नहुँदा यो अवसरलाई उपयोग हुन सकेको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन ।  समृद्धिको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो । यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउँछ, रोजगारी सिर्जना गर्छ र समृद्धि ल्याउँछ । एक जना पर्यटक नेपाल भित्रिनु भनेको कम्तिमा १० जनाले प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिन सक्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । आफ्नो संस्कृति, प्रकृति र आत्मीयता नै हाम्रो पर्यटनको मूल आधार हो भन्ने कुरालाई हामीले राम्ररी बुझ्न नसक्दा यसबाट लाभ लिन सकेका छैनौँ । देशमा व्यवस्था फेरि पनि अवस्था नफेरिनुको मुख्य कारण हामीले हाम्रै सम्पदा, क्षमता र अवसरलाई आत्मसाथ गर्न नसक्नु हो । यसले गर्दा पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि जनताको जीवनस्तरमा तात्विक सुधार आउन सकेको छैन ।   जेनजी प्रदर्शनपछि पर्यटन विकासको सम्भावना  नेपालको इतिहासमा विभिन्न समयमा भएका प्रदर्शनहरूले शासन व्यवस्थामा मात्र होइन, सामाजिक चेतनामा पनि ठूलो प्रभाव पारेका छन् । नेपालमा लोकतन्त्र स्थापनापछि पनि भ्रष्टाचार, अनियमितता र जवाफदेहिताको अभाव गहिरो समस्या बनेको थियो । राजनीति, प्रशासन र सार्वजनिक निकायहरूमा बढ्दो भ्रष्टाचार र सत्ताको दुरुपयोगप्रति नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढेको थियो । यही पृष्ठभूमिमा गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्दै भ्रष्टाचार नियन्त्रणसम्बन्धी जनचेतना र राजनीतिमा युवाको प्रभावकारी सहभागितालाई दबाब सिर्जना गरेको छ ।  लोकतन्त्रलाई बचाउन र सुदृढ बनाउन भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने सन्देशसँगै युवापुस्ताले गरेको सक्रियता र बलिदानले पारदर्शी शासन र जवाफदेहिताको बाटो खुलाउन सक्दछ भन्ने उदाहरण विश्व समुदायलाई दिन सफल भएको छ । युवापुस्ताको नेतृत्वमा भएको यस प्रदर्शनले भ्रष्टाचारबिना लोकतन्त्र सम्भव छैन भन्ने चेतना फैलाएको छ । यद्यपि, यस प्रदर्शनका क्रममा ७४ जना युवाको अकालमै मृत्यु र अर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ती ध्वस्त भएका छन् । यति ठूलो जनधनको क्षति हुँदा पनि नेपाल भ्रमणमा रहेका पर्यटकहरु कसैलाई केही भएको छैन । भदौ १६ देखि २३ गतेसम्म दैनिक तीन हजारको सङ्ख्यामा विदेशी पर्यटन नेपाल भित्रिएका थिए । एक हप्ताको बीचमा करिब २५ हजार ६०० पर्यटकलाई २३ देखि २६ गतेसम्म हिँडडुलमा केही असहज भए पनि २६ गते नयाँ सरकार गठनपछि अवस्था सामान्यीकरण भएकाले निर्धक्कसँग भ्रमण गर्न कुनै समस्या भएको थिएन ।  नेपालमा सामान्यतयाः सेप्टेम्बरदेखि पर्यटक आगमनको सिजन सुरु हुन्छ । जेनजी प्रदर्शनपछि भारत, अमेरिका, क्यानडालगायत केही देशहरुले ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकहरुलाई नेपाल घुम्न जाँदा अवस्था बुझेर मात्र जान भनेका कारण ती देशका पर्यटकहरु केहीले होटल बुकिङ रद्द गरेको जानकारी गराएका छन् । पक्कै पनि यसले केही असर त पुर्याउँछ तर विगतमा पनि यस्ता विकराल अवस्थामा छोटो अवधिमै हामीले पर्यटनलाई पुर्नजीवन दिन सकेका छौँ । विभिन्न राजनीतिक प्रदर्शनदेखि गोरखा भूकम्प, कोरोना महामारीपछि पनि छोटो अवधिमै नेपालले लय लिन सकेको भन्दै विश्व समुदायले प्रशंसा गरेका थिए । यस पटकको जेनजी प्रदर्शनबाट तत्काल केही प्रभाव परे पनि यसले दिएको अवसरलाई उपयोग गरी पर्यटनलाई नयाँ ढङ्गबाट अगाडि लैजाने समय आएको छ । यतिबेला देशभित्र सबै सरोकारवाला निकायहरु र आम नागरिकहरुबीच सहकार्य र सद्भावको खाँचो रहेको छ भने विदेशमा रहेका नेपाली दूतावास, नियोग, काउन्सिलर र गैरआवासीय नेपाली सङ्घमा आबद्ध सबैले नेपाल सुरक्षित छ भन्ने सन्देश र पर्यटकीय सम्पदाहरुको महत्वका बारेमा जानकारी गराउन आवश्यक छ । नेपाली जनताको आत्मीयता, प्राकृतिक सुन्दरताको महिमा र विविध संस्कृतिको धरोहरलाई पर्यटनमार्फत प्रचारप्रसार गर्न सकिन्छ । पर्यटनको प्रवद्र्धनमा निजी क्षेत्रले सुरुदेखि स्वदेश र विदेशमा प्रचारात्मक अभियानलाई अभियानकै रुपमा अगाडि बढाउँदै आएका छन् । हरेक नागरिकले आफ्नो घर, गाउँ, संस्कृति र वातावरणलाई पर्यटकमैत्री बनाउन योगदान दिनुपर्छ । हाम्रो संस्कृति, कला र परम्पराको संरक्षण गर्दै अन्तरराष्ट्रियस्तरमा प्रचार गर्नुपर्छ । दिगो पर्यटनलाई प्राथमिकता दिँदा मात्र भावी पुस्ताले पनि यस क्षेत्रको लाभ पाउन सक्छन् । जेनजी प्रदर्शनपछि पर्यटनका नयाँ सम्भावना र प्रभावहरू देखिएका छन् । अब मुलुकमा राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य र युवा पुस्ताको नेतृत्वमा शासन सञ्चालन हुन्छ भन्ने विश्वास बढेको छ । पर्यटकहरूले सुरक्षित वातावरण खोज्ने भएकाले स्थिरता पर्यटन वृद्धिको प्रमुख आधार मान्न सकिन्छ । प्रदर्शनपछि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण भएमा नेपालको छवि अन्तरराष्ट्रिय जगत्मा उज्जवल हुन्छ । नयाँ पुस्ताले प्राविधिक र सिर्जनात्मक सोचमार्फत आधुनिक पर्यटन विकासमा योगदान पुर्याउन सक्छन् । प्राकृतिक सम्पदा, पर्व–परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्न सकिएमा सांस्कृतिक पर्यटनलाई मजबुत बनाउन सहयोग पुग्छ । यस प्रदर्शनपछि अन्तरराष्ट्रिय जगत्मा पक्कै पनि नेपालको छवि बढ्नुको साथै लगानीको सम्भावना पनि बढेर गएको छ । यसले नेपालको पहिचान स्वच्छ, पारदर्शी र नयाँ पुस्ताद्वारा नेतृत्व भएको देखिन्छ भने अन्तरराष्ट्रिय लगानी र पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ । पारदर्शिता, सुशासन, युवाको नवप्रवर्तन र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेमा नेपालले दिगो र विश्वस्तरीय पर्यटन गन्तव्य बन्ने सम्भावना उच्च हुन्छ । रासस (पर्यटन व्यवसायी शाहसँग गरिएको कुराकानीमा आधारित)  

प्रतिकूल मौसम र जेनी आन्दोलनले ३ हप्ता उडान स्थगन, आजदेखि पुनः सञ्चालन

काठमाडौं । प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । अनुकूल मौसमसँगै पर्यटकीय याम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो । सो क्षेत्रमा उडान भर्दै आएका निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान स्थगित गरेकोमा करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले जानकारी दिए । प्रतिकूल मौसम र जेनीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए । पोखरा-जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुइवटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेसन इन्चार्ज थकालीले जानकारी दिए । ‘जेनजी प्रदर्शन हुनुअघि पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन । प्रर्दशनपछि भारतीय सीमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो,’ उनले भने ।  हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेसन इन्चार्ज थकालीले जनाए ।  ‘प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ,’ उनले भने ।  जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि नियमित सञ्चालनमा आएको उल्लेख गरे । समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोम अवतरण भएका उनले बताए ।  तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेसन इन्चार्ज सुजन लालचनको भनाइ छ । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रतिकूल मौसम र जेनजी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा-जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे । 

सडकमा पहिरोः मुख्ययाममै सुनसान पर्यटकीय स्थल, ऋण तिर्न विकल्प खोज्दै व्यवसायी

काठमाडौं । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज-कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौंसँग जोड्ने नारायणघाट-मुग्लिन र मुग्लिन-काठमाडौं सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए । ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ,’ उनले भने, ‘होटल र पर्यटकीय स्थल सुनसान छ ।’ विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जाने आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ-तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्र श्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थ यात्रीको घुइँचो लाग्थ्यो । सोह्र श्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी-पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्ट मात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए । ‘मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्,’ उनले भने, ‘विदेशी पर्यटक आगमन विगतको तुलनामा एक तिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।’ घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदल यात्रा गरेपछि पुगिने समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङखला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज-कात्तिकको शरद याममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा दैनिक १ हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे-घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ । बेनी नगरपालिका-४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ-तातोपानी बेनी-जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो । भुरुङ-तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए ।  ‘दसैँअघि पर्यटक आगमन निराशाजनक छ । दसैँपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौं,’ उनले भने । भुरुङ-तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेश विन्दु पनि हो । रासस