आन्तरिक उडान सबै रद्द, अन्तर्राष्ट्रिय उडान  भने यथावत्

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तर्राष्ट्रिय तर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

२ दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

काठमाडौं । मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका-४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए ।  ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ । दसैँको बिदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक १०० जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू-भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए । 

प्रतिकूल मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।  उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक तर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’ अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडान तर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।