मुस्ताङमा १ लाख ८ हजार विदेशी पर्यटक भित्रिए​​​​​​​

काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ १ लाख २ हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।  गत वर्षको तुलनामा ५.३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९.९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ । तर, यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।

दशैंमा मनकामना केबलकार अस्थायी रूपमा बन्द हुने

काठमाडौं । दशैंको अवसरमा मनकामना जाने केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ । मनकामना केबलकार प्रालिले जारी गरेको विज्ञप्तिअनुसार महानवमी (असोज १५ गते), विजया दशमी (असोज १६ गते) र एकादशी (असोज १७ गते) का दिन केबलकार सञ्चालन अस्थायी रूपमा बन्द हुने छ । कम्पनीले यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नियमित सेवा असोज १८ गतेदेखि पुनः सुचारु हुने जानकारी दिएको छ । यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको कम्पनीले विजयादशमी तथा बडादशैंको अवसरमा आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना समेत व्यक्त गरेको छ ।

आइजीआई प्रुडेन्सियलले विदेशी पर्यटकका लागि सुरु गर्यो नयाँ बीमालेख

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमालेख सुरु गरेको छ । कम्पनीले हिमालयन गार्डियन नेपाल ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँग सहकार्य गर्दै बीमालेख सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार बीमालेखमार्फत नेपाल भ्रमण, पदयात्रा तथा हिमाल आरोहणका लागि आउने पर्यटकलाई सुरक्षित र ढुक्क भएर यात्रा गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । बीमालेखमा सांस्कृतिक, शैक्षिक तथा अवकाश यात्रुका लागि पहिलो तह, पदयात्राका लागि दोस्रो तह र हिमाल आरोहणका लागि तेस्रो तहको सुविधा समावेश गरिएको छ । यस योजनाअनुसार दुर्घटना भएमा सहज र नगदरहित उपचारको सुविधा उपलब्ध हुनेछ । बीमा लिने प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण प्रदान गरिनेछ जसबाट आपतकालीन अवस्थामा सिधै सेवा प्रदायक तथा चिकित्सकसँग सम्पर्क गरी तत्काल उद्धार सम्भव हुनेछ । बीमालेख अन्तर्गत आपतकालीन उद्धार खर्च, अस्पताल उपचार खर्च, उच्च जोखिम क्षेत्रमा हुने स्वास्थ्य समस्याको सुरक्षा, दुर्घटनाबाट अपाङ्गता वा मृत्यु भएमा बीमा लाभ तथा २४ सै घण्टा आपतकालीन सहायता सेवा समावेश हुने जनाइएको छ । कम्पनीले यस बीमालेखले पर्यटक संख्या वृद्धि र बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ । साथै, यसले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित गराउने अपेक्षा गरिएको छ ।