कोभिडको अवस्थालाई हेरेर बजार रणनीति परिवर्तन गर्न सुझाव

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको हो । जसमा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका हुन् । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रह समेत गरेका छन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताए । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए । सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै, एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था,निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाभार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धनका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा पर्यटनसंग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा), प्यासिफिक एसिया ट्रावल एशोसिएसन ९पाटा० एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागी थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्षमा

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्ष २०७९ देखि हुने नेपाल नागरिक उडड्यन प्राधिकरण अधिकारीहरुले बताएका छन् । सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको भनिएकाे उक्त विमानस्थलको परीक्षण उडान अझै भएकाे छैन । माैसममा सुधार भएपछि परीक्षण उडान थालिने र  अगामी बैशाख (नयाँ वर्ष) देखि नियमित उडानको तयारी भएको प्राधिकरणका प्राविधिकहरुले बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मंसिर दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने जानकारी सार्वजनिक गरेको थियो । परीक्षण उडानका लागि प्राधिकरणले जिम्मा दिएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक विमानस्थलमा आएर परीक्षण उडानको अध्ययन गरेका थिए । एरोथाईका प्राविधिक परीक्षण उडानको अध्ययन गर्न आएको समयमा नै मौसम खराब हुँदा (वर्षा र मौसमका कारण) उनीहरु अध्ययन नै नगरी पुनः थाइल्याण्ड फर्किएको प्राधिकरणका अधिकारीहरुले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवको आयोजनाहरुलाई नेतृत्व गरिरहेका निर्देशक प्रदीप अधिकारीले मौसमका कारण परीक्षण उडान रोकिएको बताए । यसअघि मौसमका कारण एरोथाइका प्राविधिक आएर फर्किएको भन्दै उनले मौसममा सुधार नहुँदासम्म परीक्षण उडान नहुने बताए । ‘अहिलेको मौसम एकदम खराब छ । आईतबार मात्र २ बजे विमानस्थल खुलेको छ (उडान तथा अवतरण भएको) । अहिलेकै अवस्थामा परीक्षण उडान गर्न सम्भव छैन, मौसममा सुधार आएपछि मात्र एरोथाइका प्राविधिकले जहाज लिएर आउने जनाएका छन्’, उनले भने, ‘अझै एक डेढ महिना परीक्षण उडान हुनसक्ने अवस्था छैन।’ क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनको अवधि लम्बिएको छ । परीक्षण उडान भएको तीन महिनाभन्दा अगाडी नियमित उडान सञ्चालन गर्न नसक्ने विमानस्थल आयोजना कार्यालयले जनाएको छ । सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ७ वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन । विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएको थियो । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना र आइसिपी–२ अन्तर्गतका सम्पूर्ण कामहरु सकिएको विमानस्थल आयोजना कार्यालयले जनाएकोे छ । मन्त्री भन्छन्, भारतका कारण ढिलाइ भयाे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतका कारण सञ्चालनमा ढिलाई भएको बताएका छन् । शनिबार विमानस्थलको निरीक्षणपश्चात उनले भारतका कारण समेत सञ्चालनमा केही ढिलाई भएको बताएका हुन । गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्दा केही भाग भारतीय प्रयोग हुन्छ । भारतीय आकाश प्रयोग हुने भन्दै भारतले अहिलेसम्म उडान रुट स्वीकृति गरेको छैन् । भारतले केही विषयमा अव्जेशन गरेको भन्दै मन्त्री आलेले आफूले भारतका पर्यटनमन्त्रीसँग कुरा गरेको भन्दै छिट्टै समस्याको समाधान हुने समेत जिकिर गरे । यस्तै, उनले अबको २ महिनाभित्र सञ्चालनमा ल्याईने बताएका थिए । मौसमका कारण परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारी भएको भन्दै २ महिनाभित्र विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।

मौसम सुधार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने

फाइल फाेेटाे काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जनाएका छन् । शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताएका हुन । ‘क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौँ,’ उनले भने । मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिएका छन् । यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए । उनल भने, ‘क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।’ क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठिक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफले छ ।