नेपालको हवाई क्षेत्र इयुको सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीबाट हट्ने दाबी गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे । मन्त्री आलेले भने, “ [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीबाट हट्ने दाबी गरेका छन् ।

मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।

मन्त्री आलेले भने, “ नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रबद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा समेत व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिए। इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरे ।

हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भने,“हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।”

सन् २०१३ को जुलाईमा आइकाओको अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

आइकाओको रिपोर्टका आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् ।

Share News