नाट्टा नेतृत्वका लागि रमेश थापा र विनय बस्नेत समूहको प्रतिस्पर्धा

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् । मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् भने उनका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक हुन् । पर्यटन व्यवसायमा उनको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताए । अर्का अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य प्रत्यासी हुन् । त्यस्तै सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, महेश कोइराला (दीपक), राम शोभित नायक, श्रद्धा जोशी र सवला भण्डारीले उम्मेदावरी दिएका छन् । त्यसैगरी बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी हुन् । त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् । नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ ।

‘काठमाडौं-दिल्ली हरेक दिन दुई उडान हुन्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीनवटा उडान भरिएको बताए । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे । साथै, मन्त्री आलेले क्यासिनोहरूको रोयल्टी र नवीकरण तथा अन्य होटल व्यवसायमार्फत् दस्तुरमार्फत् सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको समेत बताए ।

यी ३ पाँचतारे होटल : सरकारको नियम टेर्दैनन्, सवा अर्ब राजश्व नतिरेरै निर्वाध सञ्चालन

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र दरबारमार्गमा सञ्चालित पाँच तारे होटलले सरकारको नियम उल्लंघन गरेका छन् । नयाँ बानेश्वरमा रहेको होटल एभरेष्ट र दरबारमार्गमा रहेको याक एन्ड यतीले सरकारको नियम उल्लघंन गर्दै नवीकरण बिनै होटल सञ्चालन गर्दै आएका हुन् । पोखरामा सञ्चालित होटल द फुलबारी पनि नवीकरण भएको छैन । तीन वटै होटलले सवा एक अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । फूलवारीले ७९ करोड बढी बक्यौता तिर्न बाँकी छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको होटलको मान्य अवधि (इजाजत्र पत्र) नविकरण नै नगरि दुई होटल बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको जनाएको छ । याक एण्ड यतीलाई विभागले दिएको पाँच तारे होटलको अनुमति २०७५ को फागुन २२ गते र एभरेष्टको २०७५ कै कात्तिक १२ गते सकिएको छ । प्रत्येक पाँच/पाँचँ बर्षमा गर्नुपर्ने होटल नविकरण फेल भएको तीन वर्षदेखि राजधानीमै दुई पूराना पाँचतारे होटल बिना नविकरण सञ्चालन हुँदै आएतापनि कसैले ध्यान दिएका छैनन् ।लामो समयदेखि नवीकरण नै नभई सो होटलहरु सञ्चालित हुँदै आएका हुन् । विभागका होटल तथा क्यासिनो शाखाका अधिकृत खेमराज जोशी होलटमा सञ्चालन गरिएको क्यासिनोले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम करोडौँ भएपछि होटलको नविकरण रोकिएको बताउँछन् । पटक/पटक ताकेता गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि केही समय अघि विभागले याक एण्ड यती होटलको लाइसेन्स नै खारेज गरेको थियो । विभागले लाइसेन्स खारेज गरेपछि २२ करोड ५८ लाख ४१ हजार रुपैयाँ बक्यौता भुक्तानी नगरी होटलले सर्वाेच्चमा मुद्धा दर्ता गराएको छ । सञ्चालन नै नभएको क्यासिनोको बक्यौता रकम भुक्तानी नगर्ने भन्दै होटल अदातल गएको होे । क्यासिनोको बक्यौता रकम भुक्तानी गर्न बारम्बार ताकेता गर्दा पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि होटल नवीकरण नगरीएको विभागका सूचना अधिकारी मोहन जिसीले जानकारी दिए । ‘हामीले क्यासिनोको बक्यौता बुझाउन पटक/पटक निर्देशन दिदा समेत सुनुवाई नभएपनि होटलकै नविकरण रोकेका हौँ,’ उनले भने, ‘पुरानो बक्यौता शुल्क तिरेपछि मात्रै नविकरण हुन्छ ।’ भारतीय लगानीकर्ता राधेश्याम सर्राफले सञ्चालन गर्दै आएको होटल याक एन्ड यती र मस्कुर अहमद तारीले सञ्चालन गरेको एभरेष्ट होटलले गत आर्थिक बर्ष २०७२/०७३ देखी सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानी गरेका छैनन् । एभरेष्ट होटलले १५ करोड ८० लाख बढी बक्यौता रकम रहेको छ । होटल नवीकरण नगरेपछि विभागले विदेशी मुद्रा कारोबारदेखि विदेशी कामदार सिफारिस रोकेको छ । यसअघि विभागकै होमस्टे तथा होटल शाखाले कामदार सिफारिस रोक्दा रोक्दै दबाबकै कारण याक एण्ड यतीलाई विदेशी कामदार सिफारिस दिइएको थियो ।