मनकामना केबुलकार चैत १४ गते बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

प्राविधिक समस्याका कारण केही समय उडान प्रभावित बनेको त्रिभुवन विमानस्थल खुला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा समस्या आएपछि रोकिएको उडान पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान ६ बजे विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा समस्या आएपछि केही समय रोकिएको उडान पुनः खुलेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर नियमित रुपमा उडान सुरु भएको बताउँछन् । ‘बिहान विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा प्राविधिक समस्या देखिएको थियो, हाम्रा प्राविधिकले तत्काल समस्या पहिचान गरेपछि उडानमा समस्या छैन’, उनले भने, ‘मेसिनरी उपकरण हो कहिलेकाँही समस्या देखिाहाल्छ, समस्या देखिएपछि हामीले समाधान गरिहाल्यौँ ।’ उनले विमानस्थलका प्राविधिकले तत्काल समस्या पहिचान गरेका कारण नै उडान तथा अवतरण नराकिएको दाबी गरे । ‘बिहानको समय मौसम खासै राम्रो हुँदैन, मौसम सफा नहुँदा उडानमा केही ढिलाई हुन्छ, तर सञ्चार उपकरणका कारण उडानमा कुनै अवरोध भएन’, उनले भने । उपकरणमा समस्या आएपछि वायुसेवा कम्पनीहरूले सूचना जारी गर्दै उडान तथा अवतरणमा समस्या भएको जनाएका छन् । बिहान ६ बजेदेखि नै प्रविधिमा समस्या आएपछि आधा घण्टासम्म विमानस्थलमा उडान प्रभावित भएको थियो ।

पाँचपोखरीको प्राथमिकतामा पर्यटन, शिक्षा र स्वास्थ्य

सिन्धुपाल्चोक । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य हो पाँचपोखरी । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ । पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ । यसैका नामबाट गाउँपालिकाको नाम राखिएको हो । जति सम्भावना छ, त्यति विकास भने हुनसकेको छैन । जिल्लाका १२ स्थानीय तहमध्येको पाँचपोखरी थाङ्पाल गाउँपालिका उच्च हिमाली दूरदराजमा पर्ने गाउँपालिका हो । यो गाउँपालिकामा २०७२ सालको भूकम्पले धेरै क्षति पुर्यायो । त्यो अवस्थाबाट जिम्मेवारी वहन गर्नुपरेकाले चुनौती रहेको गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन् । दोस्रो चुनौती स्थानीय तहमा जनशक्तिको अभाव हो । सबै ऐन, कानुनको अभाव, कोरोना महामारी, बाढीलगायतको सामाना गर्नुपरेकाले सबै काम पूरा हुन नसकेका लामा बताए । स्थानीय स्रोत साधनको प्रयोग गरी केही महत्वपूर्ण काम अघि बढाएको उनले बताए । भूकम्पपछिको पुनःनिर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युत् प्रसारण लाइनको काम गरिएको उनले बताए । सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढेको हुँदा अहिले नतिजा देखिन थालेको लामाले बताए । याङी र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदैछ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ । गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेल बताउँछन् । विसं २०७२ को भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन भवन निर्माण सम्पन्न गरिएका छन् । विद्यालय ‘मर्ज’ गर्ने अभियानमा रहेको पौडेलले बताए । चार विद्यालय मर्ज गरी थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालन गरिएको छ । पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ । कक्ष १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ । मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिकरूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । पाँच विद्यालयमा एक-एक विद्यालय नर्सको व्यवस्था गरिएको प्रमुख प्रसासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए । आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ । पाँचपोखरीसँगै आमा याङी, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिङ्गेश्वरी, जुगल हिमशृङ्खला, दोर्जे ल्याक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ । रक क्लाम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उपाध्यक्ष सुनिता अधिकारीले बताए । रासस