टायर पड्किएको निगमको जहाज ५ दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड
काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज (न्यारेवडी) पाँच दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड भएको छ । गत शुक्रबार थाइल्याण्ड (बैंकक) को सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलममा टेकअफ गर्ने क्रममा टायर पड्किएको थियो । उडानका क्रममा टायरमा समस्या आएपछि रोकिएको जहाज अझै थाइल्याण्डमै रहेको छ । सो जहाजमार्फत नेपाल आउन लागेका १५५ जना यात्रुलाई सोमबार साँझ निगमकै वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको छ । वाइडबडीले रोकिएका यात्रु नेपाल ल्याएतापनि टायरमा समस्या आएको जहाज शुक्रबारदेखि थाइल्याण्डमा नै रोकिएको निगमले जनाएको छ । उडानका क्रममा देखिएका स–साना समस्या निगम व्यवस्थापनले तत्काल समाधान नगर्दा उडान नै प्रभावित हुने गरेको निगमका अधिकारीहरूले बताएका छन् । उडान जस्तो संवेदनशिल क्षेत्रमा निगम व्यवस्थापनबाट पटक/पटक लापरवाही हुने गरेको निगमका एक क्यापटेनले बताए । उनले उडानका क्रममा जहाजको टायर पङचेट हुँदा समेत समयमा मर्मत हुन नसक्ने गरेको गुनासो व्यक्त गरे । ‘उडान जस्तो संवोधनशिल क्षेत्रमा निगम व्यवस्थापनबाट पटक-पटक वेवास्ता हुँदै आएको छ, एक साता अघि मात्र सञ्चालनमा आएको एयरबस जहाज पुनः टायरमा समस्या आउँदा विदेशमा नै रोकियो’, ती क्याप्टेनले भने, ‘जहाज थप गरेर विभिन्न गन्तव्यमा उडान विस्तार गछौँ भन्ने निगमका कार्यकारी अध्यक्ष र मन्त्रीले नै निगमलाई डुवाउने काम गरे ।’ उनले निगमलाई नाफामा लैजान्छु भन्ने पर्यटन मन्त्रीकै कारण पछिल्लो समय निगम घाटामा गएको दाबी गरे । ‘मन्त्रीकै कारण २ महिनासम्म न्यारेवडी जहाज दोहामा रोकियो, अहिले पनि मन्त्रीकै कारण टायर मर्मत हुन सकेको छैन्, निगममा समस्या थुपारेर मन्त्री अनावश्यक काममा केन्द्रीत बने,’ ती क्याप्टेनले भने । थाइल्याण्डमा ग्राउन्डेड भएको निगमको सोही न्यारोवडी जहाजको इन्जिनमा समस्या आएपछि केही दिन अगाडी मात्र भाडाको इन्जिन राखेर सञ्चालनमा ल्याइएको थियो । गत पुस १३ गते यात्रु लिएर दोहा गएको जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड भएको जहाज २ महिनापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा ल्याईएको एक साता नहुँदै टायरमा समस्या आएपछि थाइल्याण्डमै रोकिएको हो । यता निगम व्यवस्थापनले भने जहाज मर्मतको काम भइरहेको दाबी गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले समस्या आएको टायर फेर्ने काम भइरहेको बताइन । ‘हाम्रो फ्लाइ एयरवेजसँग मर्मतको सम्झौता छ, सोही सम्झौता अनुसार अहिले नयाँ टायर राख्ने काम भैरहेको छ’, उनले भनिन, ‘टायर राखेपछि जहाज नेपाल आइहाल्छ ।’ उनले नयाँ टायर राख्ने काम भइरहेको भन्दै कति दिनमा सञ्चालनमा आउछँ भन्ने यकिन नभएको बताइन ।
आजदेखि पोखरा–जनकपुर सिधा उडान सुरु
काठमाडौं । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए । पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ । पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी नौ हजार ३६० र सबैभन्दा कम चार हजार १०० भाडा निर्धारण गरिएको छ । उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, “हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।” उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् । बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो । विमानस्थलबाट उडान भर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ ।