एकैपटक तीनवटा जहाज चार्टर गरेर नेपाल आउँदै भियतनामी पर्यटक, यस्तो छ टुर प्याकेज
काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकैपटक तीनवटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरुले नेपाल भ्रमण गर्ने भएका छन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एअरलाईन्सका एअरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायतका स्थान भ्रमण गर्ने गरि उच्च वर्गीय पर्यटकहरु काठमाडौं अवतरण गर्ने भएका हुन् । नेपाली ट्राभल एजेन्सीको अगुवाईमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै तीन जेट विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गरिएको यो पहिलो अवसर हो । करिब १५ प्रतिशत बुद्ध धर्मालम्बिहरु रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या पछिल्ला दिनहरुमा बढीरहँदा भियतनाम काठमाडौंको यात्रा छोट्याउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान अद्धितीय भएको पर्यटनविद्हरुको भनाई रहेको छ । नेपालमा समेत खर्चालु पर्यटक आउने क्रममा वृद्धि हुँदै गएको पछिल्लो समयमा भियतनाम लिस्टमा थपिएको हो । भियतनाम काठमाडौं ओर्लिएका पर्यटकहरुले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्नेछन् भने केही पर्यटकहरु नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्नेछन् । यसरी नेपाल भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरु भियतनाम जाने भएका छन् । नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेज्ले एक लाख २० हजार रूपैयाँको विशेष टुर प्याकेजको निर्माण गरेको छ । चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तब्यहरुको घुमाई, एकदिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकहरुको उल्लेख्य आकर्षण रहेको छ । तिनै चार्टर उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकहरुले भियतनाम भ्रमण गर्ने भएका हुन् । यी चार्टर उडानमा सीमित संख्यामा सिट उपलब्ध रहेको जनाउँदै रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुलीले सोझो उडान, उत्कृष्ट आथित्यता र आकर्षक गन्तब्य भ्रमणको अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।
यही वर्षमा १० वटा जहाज थप्छौँ, विमान खरिद प्रक्रिया दशैँअघि नै शुरु हुन्छः मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् । उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी समेत गरे । दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताउँदै उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए । त्यस्तै काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण समेत गराए । सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिदैँ विद्यार्थीहरुलाई देशमै राख्नका लागि उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे ।
नेपालमा ४० वटा हेलिकोप्टर दुर्घटना, पर्यटन क्षेत्रलाई धक्का
काठमाडौं । मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा शनिबार भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ । व्यवसायीहरु असोज–मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । “सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ”, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भने, “विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।” उनका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । “वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ”, उनले भने, “बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।” यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उनको भनाइ छ । सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उनले भने, “मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।” यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउँछन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा शनिबार बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार दुर्घटनामा घाइते हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईँको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार सम्भव नभएरपछि भारत पठाइएको छ । दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ ।दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ । ३ महिनामा २ हेलिकोप्टर दुर्घटना पछिल्लो तीन महिनामा मनाङ एयरका २ हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गत असार २६ गते मनाङ एयरको कलसाइन ९एन–एमभी (एएस–५०) कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको थियो । सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँका लागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । ६ महिनामा ३ हेलिकोप्टर दुर्घटना विसं २०८० को ६ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको ३ महिनामै सोही कम्पनीको अर्को हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । यस्तै गत वैशाख २० गते सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा सोही कम्पनीको समान एक हेलिकोप्टर दुर्घटनामा परेको थियो । मनाङ एयरको ६ वर्षमा ४ हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको मृत्यु भएको छ । शनिबारको दुर्घटनासहित नेपालमा हेलिकोप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् । मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् । अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्”, प्रवक्ता भुलले भने, “प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।” प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।