एकपछि अर्को दुर्घटना भएपछि पृथक रणनीतिका साथ आउँदै मनाङ एयर, नयाँ हेलिकप्टर किन्ने प्रक्रियामा

<p>काठमाडौं । तीन महिनाको अवधिमा दुई ठूला दुर्घटना भएको मनाङ एयर यतिखेर ठूलो संकटमा छ । ठूलो आर्थिक र मानिवय क्षति व्यहोरेको मनाङ एयरको साख र छविमा पनि ठूलो ह्रास आएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पनि कम्पनीको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । गत शनिबार सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको [&hellip;]</p>

काठमाडौं । तीन महिनाको अवधिमा दुई ठूला दुर्घटना भएको मनाङ एयर यतिखेर ठूलो संकटमा छ । ठूलो आर्थिक र मानिवय क्षति व्यहोरेको मनाङ एयरको साख र छविमा पनि ठूलो ह्रास आएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पनि कम्पनीको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ ।

गत शनिबार सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भयो । उक्त दुर्घटनापछि क्यानले तत्कालका लागि मनाङ एयरकोे लाइसेन्स नै निलम्बन छ ।

दुर्घटनामा परेको उक्त हेलिकप्टरमा आगो लाग्दा पूर्ण रुपमा नष्ट भएको छ भने जहाजका क्यापटेन प्रकाश कुमार सेढाईको काठमाडौंमा उपचार नभएपछि मुब्बईको नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

तीन महिना अगाडि अर्थात् गत असारमा पनि मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्यापटेन सहित ६ जना विदेशी नागरिकको मृत्यु भयो । एकपछि अर्को ठूलो दुर्घटनाले कम्पनी संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ ।

मनाङ एयरलाई ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै तत्कालका लागि उसको इजाजतपत्र निलम्बन गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार दुर्घटनाको विस्तृत अध्ययन गरेर मात्रै मनाङ एयरको लाइसेन्स नै खारेज गर्ने वा निलम्बन फुकुवाको निर्णय हुनेछ ।

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । कम्पनीले केही समयअघि नयाँ हेलिकप्टर ल्याउने तयारी गरेको थियो ।

पटक-पटक उडान बन्द

उडानका क्रममा सुरक्षामा गम्भीर लापरकाही गरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले मनाङ एयरलाई दिएको एयर अपरेशन सर्टिफिकेट (एनओसी) पटक/पटक निलम्बन गरेको पाइएको छ ।

सन् १९९७ मा सञ्चालनमा आएको मनाङ एयरको लाइसेन्स प्राधिकरणले सन् २००९ (वि स २०६६ साल) मा पहिलो पटक निलम्बन गरेको थियो । सन् २००९ सम्म कम्पनीले दुई थान ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले उडान गरिरहेको थियो । उडानका क्रममा एक वटा हेलिकप्टर दुर्घटनामा परेपछि बाँकी रहेको ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले श्री एयरलाई बिक्री गरेर उडान बन्द गरेको थियो ।

हेलिकोप्टर नभएर उडान नभए पनि मनाङले वर्षैपिच्छे नागरिक उड्डयन प्राधिकरणमा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिरहेका थियो । प्राधिकरणले उडानमा रोक लगाएको ५ वर्षपछि सन् २०१४ अर्थात २०७१ को जेठबाट पुनः उडान सुरु गरेको थियो ।

५ वर्षपछि उडान सुरु गर्दा कम्पनीले तीन थान एयरबस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएर उडान सुरु गरेको थियो । यस्तै, प्राधिकरणले २०७५ मा समेत मनाङ एयरको उडानमा रोक लगाएको थियो । २०७५ को साउन २९ गते हुम्लाको हिस्लास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको एउटा हेलिकोप्टरको पछाडिको पंखा लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो ।

दुर्घटनास्थलको स्थलगत अवलोकन

गत शनिबार भएको हेलिकप्टर दुर्घटनाको कारण बुझन क्यानका अधिकारीहरु आइतबार दुर्घटनास्थलमा पुगिसकेका छन् । उनीहरुले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाएपछि मनाङ एयरको लाइसन्स खारेजी वा निलम्बन पुकुवाको थप निर्णय हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय हुने बताउँछन् ।
‘अहिलेसम्म मनाङ एयरको ५ दुर्घटना भइसकेको छ, तीन महिनाको बीचमा दुई ठूला दुर्घटना भएपछि मनाङ एयरले सुरक्षामा गम्भीर गल्ती गरेको हाम्रो बुझाइ छ, यस विषयमा छलफल गरेर थप निर्णय लिइनेछ’, उनले भने ।

‘कम्पनी बन्द हुँदैन’

यसरी एकपछि अर्को दुर्घटना भइरहेको मनाङ एयर अहिले ठूलो संकटबाट गुज्रिरहेको छ । अहिले कम्पनी हेलिकप्टरविहिन अवस्थामा छ । धेरैले अब कम्पनी सदाका लागि बन्द हुन्छ वा नयाँ रणनीति तथा योजनाका साथ अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरेका छन् ।

२६ वर्षअघि सन् १९९७ मा स्थापना भएको मनाङ एयरका अध्यक्ष सतिशप्रसाद प्रधान हुन् । हाल मनाङ एयरका अध्यक्ष सतिशप्रसाद प्रधान हुन् । कम्पनीको सञ्चालकमा नेपाल चेम्बर अर्फ कमर्शका अध्यक्ष समेत रहेका व्यवसायी राजेन्द्र मल्ल, कुष्ण ज्ञवाली, पुण्य पौडेल, जगन्नाथ ज्ञवाली, क्यापटेन प्रकाश कुमार सेढाई र खगेन्द्र श्रेष्ठ छन् ।

कम्पनीका सञ्चालक राजेन्द्र मल्लले अहिले प्राधिकरणले गरेको निलम्बनलाई सहयोग गर्ने र त्यसपछि हेलिकप्टर खरिद गरेर नयाँ योजनाका साथ अगाडि बढ्ने बताए । उनले कम्पनी भने बन्द नहुने धारणा राखे ।

यस्तै, कम्पनीका प्रबन्धक राजु न्यौपाने ब्रान्ड न्यू हेलिकप्टर ल्याउनका लागि फ्रान्सको कम्पनीसँग सम्झौता नै भैसकेको बताउँछन् । उनले पनि कम्पनी बन्द नहुने धारणा राखे ।

‘अहिले मनाङ एयर बन्द हुन लाग्यो भनेर हल्ला चलेको रहेछ, २६ वर्ष पुरानो कम्पनी यतिकै बन्द हुँदैन, हामीले दुर्घटना अघि नै फ्रान्सबाट ब्रान्ड न्यू हेलिकप्टर ल्याउन सम्झौता नै गरिरहेका छौं, क्यानले एओसी निलम्बन गरेको छ, हामी प्रक्रिया पूरा गरेर छिट्टै ल्याउँछौं,’ उनले भने ।

उनले नयाँ हेलिकप्टर खरिदका लागि बैंकमा प्रतितपत्र (एलसी) खोल्ने क्रममा हेलिकप्टर दुर्घटना भएको समेत बताए ।

Share News