काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकैपटक तीनवटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरुले नेपाल भ्रमण गर्ने भएका छन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एअरलाईन्सका एअरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायतका स्थान भ्रमण गर्ने गरि उच्च वर्गीय पर्यटकहरु काठमाडौं अवतरण गर्ने भएका हुन् ।
नेपाली ट्राभल एजेन्सीको अगुवाईमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै तीन जेट विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गरिएको यो पहिलो अवसर हो । करिब १५ प्रतिशत बुद्ध धर्मालम्बिहरु रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या पछिल्ला दिनहरुमा बढीरहँदा भियतनाम काठमाडौंको यात्रा छोट्याउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान अद्धितीय भएको पर्यटनविद्हरुको भनाई रहेको छ ।
नेपालमा समेत खर्चालु पर्यटक आउने क्रममा वृद्धि हुँदै गएको पछिल्लो समयमा भियतनाम लिस्टमा थपिएको हो । भियतनाम काठमाडौं ओर्लिएका पर्यटकहरुले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्नेछन् भने केही पर्यटकहरु नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्नेछन् ।

यसरी नेपाल भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरु भियतनाम जाने भएका छन् । नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेज्ले एक लाख २० हजार रूपैयाँको विशेष टुर प्याकेजको निर्माण गरेको छ । चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तब्यहरुको घुमाई, एकदिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकहरुको उल्लेख्य आकर्षण रहेको छ ।
तिनै चार्टर उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकहरुले भियतनाम भ्रमण गर्ने भएका हुन् । यी चार्टर उडानमा सीमित संख्यामा सिट उपलब्ध रहेको जनाउँदै रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुलीले सोझो उडान, उत्कृष्ट आथित्यता र आकर्षक गन्तब्य भ्रमणको अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।