मन्थली–लुक्ला उडान ५ दिनदेखि ठप्प, २ सयभन्दा बढी फ्लाइट क्यान्सिल
काठमाडौं । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाई उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्डयन प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिवारदेखि बुधवारसम्म दुई सयभन्दा बढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख अशोक थापाले बताए । पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेका थिए । तर अहिले हेलिकप्टरका लागि पनि भिजिविलिटी कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् । ‘सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, ‘शनिवारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।’ लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने । यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए । निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौंबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौंदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । रासस
सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर
फाइल फोटो काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हाल तीनवटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाजमार्फत सेवा दिइरहेको बुद्ध एयरले यही अक्टोबरभित्रै अर्को एउटा एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै कम्पनीको जहाज सङ्ख्या १७ पुग्ने छ । वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकतानुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए । उनले भने, ‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्याङ्कन गराउँदै आएका छौँ ।’ जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एकमा पर्छ । जहाँबाट स्वदेशी तथा विदेशी कम्पनीले पनि सेवा लिइरहेका छन् । बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ । कम्पनीले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरूमा पनि आधा दर्जनभन्दा बढी उडान गिररहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने कम्पनीले जनाएको छ ।
दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ, ८० प्रतिशत बुकिङ
काठमाडौं । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।” अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ । त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए । उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।” अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।