भारतीय पर्यटकको रोजाइमा पोखरा

पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ । फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो । दोस्रोपल्ट पोखरा आएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनीसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छिन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताइन् । श्रीमान्का साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन् । अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । उनकाअनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् । गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । ‘अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्’, उनले भने । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ । भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उनको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताए । उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए । उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताए । उनले भने, ‘यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।’ उनले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भने, ‘धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उनहरुको गुनासो छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उनहरुको गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।’ उनले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उनहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताए । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउछन् । उनले भने, ‘विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।’ उनले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा पाँच खर्ब रुपैयाँ बढीको लगानी रहेको उनले जानकारी दिए । रासस

दुई जहाज चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाईट

काठमाडौं । पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रने क्रम बढ्दो छ । तिर्थयात्रीका रुपमा नेपाला आउने गरेका भारतीय पर्यटक जहाज नै चार्टर्ड गरेर माउन्टेन उडानमा गएका छन् । निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरका दुई जहाज चढेर शनिबार ८० जनाभन्दा बढी भारतीय पर्यटक माउन्टेन फ्लाईटमा गएका हुन् । यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरु रहेका एयरलाइन्सले जनाएको छ । काठमाडौंको हायात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् । चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले एकै कम्पनीको अगुवाईमा २ वटा जहाज चार्टर्ड गरेर माउन्टेन फ्लाईट पहिलो पटक भएको दाबी गरे । उनले उक्त उडानबाट नेपालको पर्यटकीय संभवना असिमित भएको प्रमाणित भएको बताए ।

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा ७ हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् । पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए । विसं २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ । लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले विसं २०२६ मा विमानस्थल निर्माण गरिएको थियो । त्यसको दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन ।