हिमाल चढ्न १३२ जनाले लिए अनुमति, उठ्यो डेढ करोड रोयल्टी

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागका अनुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका ७ र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका ५ जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।

विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशत बढ्यो, ७ महिनामा भित्रिए ७ लाख बढी

काठमाडौं । सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने उनले विश्वास व्यक्त गरे । बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए । कुन महिनामा कति पर्यटक मार्च महिनामा सबैभन्दा बढी १ लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, जनवरीमा ७९ हजार १ सय, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । के छ पर्यटक बढाउने सरकारी योजना ? कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

सुकेटार विमानस्थलमा पुनः उडान सुरु, उडान तालिका सातामा एक दिन मात्र

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, ‘मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो ।’ निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ । बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौं–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ । उडान पुनः सञ्चालन भएसँगै दशैं, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ(काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति ९ हजार ४ सय ७६ रुपैयाँ रहेको निगमले जनाएको छ ।