ठमेलमा रात काट्न सास्ती
काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको हो । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए । ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए । ‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन, प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ,’ उनले भने । स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे । होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनी २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले जानकारी दिए । ‘ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ, जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन् । राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ,’शर्माले भने । सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेको उनको भनाइ छ । शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए । ‘यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ,’ उनले भने । अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । ‘सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ, ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ,’ उनले भने । परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन् । त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र सुसंस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए । परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए । ‘आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ,’ उनले भने ।
बजेट अभावले ‘महभिर झरना’को भौतिक पूर्वाधार तयार हुन सकेन
ढोरपाटन । चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रुपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ । बेलाबखतमा स्थानीय फाट्टफुट्ट पुग्ने गरे पनि बाहिरी पर्यटक पुग्न सकेका छैनन् । बागलुङको निसीखोला गाउँपालिका–३ स्थित महभिरमा रहेको यो झरना दुरीका हिसाबले टाढा पनि छैन । समुन्द्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको छ । झरनासम्म पुग्नका लागि सहज पदमार्ग तथा सडक भने छैन । बोहोरागाउँ र याङ्म्याङको बीचमा पर्ने यो झरना क्षेत्रमा बर्सेनि स्थानीय भिर मह काढ्नका लागि पुग्ने गर्छन् । झरनासँगै यो क्षेत्र ‘हनी हन्टिङ’ अर्थात् मह सिकारका लागि निकै उपयुक्त रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले यसको चासो दिए पर्यटकीय गन्तव्य बन्ने निसीखोला गाउँपालिका–३ का विनोद विश्वकर्माले बताए । उनले झरना सुन्दर रहेको तर यहाँसम्म पुग्ने पहुँचमार्ग सहज नहुँदा बाहिरी मान्छे आउन नसकेको बताए । धेरै टाढाबाट पनि यो झरना देख्न सकिने भन्दै अब पर्यटक भित्र्याउनका लागि पदमार्ग निर्माण गर्नुपर्ने उनको भनाइ छ । विश्वकर्माले स्थानीयहरु पशुचौपाया चरनका लागि झरना रहेको क्षेत्रमा जाने गरेको भए पनि प्रचार नभएको बताए । उनले भने, ‘अरू ठाउँमा योभन्दा निकै साना झरनाहरु छन्, ती झरनाहरुमा पर्यटकहरूको चहलपहल देखिन्छ तर यो झरना निकै ठूलो छ र पनि आझेलमा पर्दा पर्यटक आउन सकेका छैनन्, स्थानीय सरकारले यसको प्रचार र पूर्वाधार निर्माण गर्न सके यहाँ पनि पर्यटक आगमनमा कमी हुने थिएन, यति सुन्दर ठाउँमा सरकारको नजर पर्न सकेन ।’ निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेश विक्रम शाहीले झरनामा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउनका लागि योजना बनाएको बताए । उनले भौगोलिक विकटताका कारण झरनासम्म पुग्ने पदमार्ग तथा सडक निर्माणका लागि ठूलो बजेट लाग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ । वडामा सीमित बजेट हुँदा अहिलेसम्म झरना वरपर पूर्वाधार निर्माण गर्न नसकिएको अध्यक्ष शाही बताउँछन्। मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ झिवाखोलादेखि करिब ३ घण्टाको यात्रामा झरनामा पुग्न सकिन्छ ।
तारा एयरले मंगलबारदेखि पुनः पोखरा-जोमसोम उडान गर्ने, असोजदेखि रामेछाप-लुक्ला उडान नियमित
काठमाडौं । मंगलबारबाट तारा एयरले नियमित उडान गर्ने भएको छ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित डान ताराले पुनः सुरु गर्ने भएको हो । उडान पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि ताराले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । यो सिजनका लागि ताराको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी ताराले दिएको छ । ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।