पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार, चलपहल बढ्यो

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रर्द्धनमा कोशेढुङ्गा हुने बताउँछन् । ‘यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ, करिब ३ महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ,’ उनले भने, ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाए । केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ । प्रतिघण्टा ५ सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ । यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल ६२९ करोड रुपैयाँमध्ये हालसम्म ४३३ करोड रुपैयाँको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ । यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको २९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।

मनकामना केबुलकारको डिजिटल स्तराेन्नति, असोज १ देखि पुनः सुचारु हुने

मनकामना केबलकार चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ । गत असार ३१ गतेदेखि सेवा राेकेर केबलकार अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति गरिएकाे छ । फाइल तस्बिर । काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो । प्रालिले दुई महिना लगाएर केबलकारको स्तरोन्नति गरेको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरूप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउँछन् । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सुचारु हुनेछ । मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा नेपाल सरकारबाट पटकपटक सम्मानित पनि भएको छ ।

१६ वर्षमा १८ लाख यात्रु बोकेको बुद्धको एउटा जहाजको बिदाइ

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर-४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित सदाका लागि बिदाइ गरे । सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ । नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि पूरा गरी डिकम्पोजमा जान लागेको पहिलो विमान हो ।