पदबहाली गर्दै सीइओ जोशीले भने- १६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छु

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर । काठमाडौं । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ । सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएका छन् । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो । प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आइतबार पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताए । उनले भने, ‘मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।’ नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ । सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्र्याउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ । सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्ने तथा गुणस्तरीय पर्यटक भ्त्रियाएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे । पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उहाँले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए । साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए । ‘मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।’ निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने सीइओ जोशीको पहिलो दायित्व रहेको छ । ‘मुख्य चुनौती दक्ष जनशक्ति नै हो नाथमलगायतका आतिथ्यतासम्बन्धी शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरेर दक्ष जनशक्ति बढाउनेमा काम गर्नेछु,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनको सुधार पनि प्राथमिकतामा हुनेछ । कार्यविधि पारित नभएको, कर्मचारीको दक्षता अभिवृद्धि गर्नुपर्ने छ ।’ सीइओ जोशीले बोर्ड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए । आफू दोस्रो पटक ठूलो जिम्मेवारीका साथ आएको उल्लेख गर्दै उनले कैयौं चुनौती भए पनि सफलतापूर्वक काम गर्नेमा विश्वास व्यक्त गरे । ‘गन्तव्यको छवि खस्कँदो छ, यस क्षेत्रमा लगानी बढिरहेको र गतिविधि कम भइरहेको अवस्था छ । कोभिडअघिको अवस्थामा विदेशी पर्यटक आगमन पनि पुग्न नसकेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी प्रवर्द्धन आवश्यक छ,’ सीइओ जोशीले भने । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको यही भदौ २० गतेको ३७९ औं बैठकले बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले यही २१ गते शुक्रबार बोर्डको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेबाट सीइओ पदको नियुक्तिपत्र लिएका थिए । को हुन् सीइओ जोशी ? दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय जोशीले गोरखा भूकम्प, नकाबन्दीलगायत चुनौतीकाबीच पनि पर्यटन बढाउन र निजीक्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेका थिए । प्यासिफिक एसिया ट्राभल एशोसियन (केन्द्र) मा डेस्टिनेसन कमिटि चेयर र विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य समेत रहेका जोशीले ‘च्याम्पियन इन च्यालेन्ज’, ‘पर्यटन हिरो’, एसियाका राष्ट्रिय पर्यटन संस्थामध्ये सर्वोत्कृष्ट सीइओ, पाटा पर्सनालिटि अफ द इयर, नाटा पर्सनालिटी जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेका छन् । जोशीले नेपाल उद्योग परिसङ्घमा महानिर्देशकका रूपमा पनि सेवा गरिसकेका छन् ।

यो हो संसारकै महँगो पर्यटन गन्तव्य टापु, भाडा दिनकै ८४ लाख !

काठमाडौं । अहिलेको समयमा धेरै पर्यटक टापु घुम्न मन पराउँछन् । चारैतिर पानीले घेरिएको र हरियाली भएका कारण टापुहरूको सौन्दर्य हेर्न लायक हुन्छ । धेरै पर्यटकहरू यस्ता टापुहरूमा रात बिताउन मन पराउँछन् । तर, यसका लागि भने महंगाे भाडा तिर्नुपर्छ । एक दिनको भाडा लाखौं हुन सक्छ । फिलिपिन्समा एउटा यस्तो निजी टापु पनि छ, जसले यहाँ बस्ने पर्यटकहरूबाट दैनिक लाखौं रुपैयाँ भाडा लिन्छ । यति मात्र होइन, यहाँ बस्नका लागि विभिन्न शर्त पनि लागू हुन्छ । शर्त यो हो कि यो टापुमा कम्तीमा तीन दिन बस्न पाइन्छ । यो टापुमा बसेको तीन दिनको भाडा करोडौं रुपैयाँ पुग्छ । फिलिपिन्सको यो निजी टापुको नाम ‘बनवा’ हो । १५ एकडमा फैलिएको यो टापु फिलिपिन्सको पलावान द्वीपसमूहको हिस्सा हो । यो टापु आफैमा एक रिसोर्ट हो । यो संसारको सबैभन्दा महँगो रिसोर्ट हो । यस टापुमा ६ वटा भिल्ला छन् । एउटा भिल्लामा चार शयनकक्ष, एक निजी इन्फिनिटी पुल, ज्याकुजी आदि छन् । प्रत्येक सुत्ने कोठामा दुईजना मानिस बस्न सक्छन् । यसरी भिल्लामा ८ जना मानिस बस्न सक्छन् । यस्तो अवस्थामा यस टापुमा ४८ जना सँगै बस्न सक्छन् । यो रिसोर्ट पानीले घेरिएको छ । त्यसैले सिपप्लेन र हेलिकप्टरबाट मात्र यहाँ पुग्न सकिन्छ । एउटा कोठामा दुईजना पाहुनाको भाडा प्रतिदिन २ हजार ६ सय ५० अमेरिकी डलर छ । यो प्रारम्भिक मूल्य हो । कम्तीमा एउटा भिल्ला बुक गर्नुपर्छ । यसका लागि सामान्य सिजनमा एक दिनको भाडा करिब ९ लाख रुपैयाँ लाग्ने छ । यहाँ कम्तीमा तीन दिनका लागि बुकिङ गर्नुपर्छ । यस्तो अवस्थामा एउटा भिल्लाको तीन दिनको भाडा करिब २७ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । पिक टाइममा दैनिक भाडा ८४ लाखसम्म पुग्छ । तीन दिनका लागि २ करोड ५० लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यी हुन् यस टापुका विशेषता: धेरै प्रकारका बाहिरी गतिविधिहरू यहाँ उपलब्ध छन् । यसमा स्कुबा डाइभिङ, स्नोर्कलिङ, स्विमिङ आदि समावेश छन् । यसबाहेक यहाँ स्टारगेजिङ, टेनिस र गल्फको पनि मजा लिन सकिन्छ । तपाईं यहाँ भिल्ला वा सम्पूर्ण टापु भाडामा लिन सक्नुहुन्छ । सम्पूर्ण टापु बुक गर्दा प्रतिभिल्ला भाडा तिर्नुपर्छ । प्रत्येक भिलामा इन्फिनिटी पुल छ । यो टापु मनिलाबाट निजी जेट र हेलिकप्टरबाट डेढ घण्टामा र हङकङबाट तीन घण्टामा पुग्न सकिन्छ । हेलिकप्टर र सिप्लेन सुविधा पनि मनिलाबाट सीधा उपलब्ध छ । एजेन्सी

चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र जाने पर्यटकसँग शुल्क उठाउने

काठमाडौं । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग गोरखाको चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेको छ । भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् । पालिकाले एक विज्ञप्ति जारी गर्दै पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको जानकारी दिएको छ । र् ैएमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने व्यहोरासमेत निर्णयानुसार अनुरोध छ’, पालिकाको विज्ञप्तिमा उल्लेख छ ।