पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

घोडेपानी । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा ६ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि, यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार ६ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् । पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताइन् । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताइन् । कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए । केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो। गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ । भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको सङ्ख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन् । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छभने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ ।

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी

काठमाडौं । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अस्ट्रेलियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गरे । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ । न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको सात लाख रूपैयाँ २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए । एक करोड ४५ लाख बढी राजस्व आम्दानी ‘नाउरको सिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी सिकारीहरू बँदेलको सिकार गर्न भने खासै इच्छुक देखिदैनन्,’ अधिकृत शेर्पाले भने, ‘बँदेलको सिकारका लागि न्यूनतम् राजस्व १० हजार भने तिर्नैपर्छ । सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कुल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ।’ सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ। विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो । विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताए । साथै, उनले हतियारको अनुमति तथा सिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिए । सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै ६ महिनासम्म समय लाग्ने गरेको छ । स्थलगत रूपमा आफूले भोगेका विषयबारे जानकारी दिँदै सञ्चालक थापाले भने, ‘आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्तिलाई प्रभावकारी रुपमा खटाउनुपर्छ।’ यो आरक्ष पेसेवर विदेशी सिकारीका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । विदेशी सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ। कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ। सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ । आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आरक्षमा घोरल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन । ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ,’ उनले भने। आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका अधिकृत कँडेलले बताए । ‘यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै, जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन,’ उनले भने। बुढो भाले प्रजातिको मात्र सिकार गर्ने प्रावधान यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ । विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो । अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात सय राजस्व आम्दानी भएको विभागको तथ्यांक छ । रासस