अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उनले बताए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ । ‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ,’ उनले भने । गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताए । यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ । आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताए  । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उनको भनाइ छ । पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुग्नुभएको हो । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उनी पुगेर फर्किएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गरेका थिए । आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बताको थियो । पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताएका छन् । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा ३ वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।

पर्यटकको चहलपहल बढ्दो, ८० प्रतिशत होटलको ‘अकुपेन्सी’

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब ९ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना ८ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट २ करोड तीनलाख ४८ हजार ५५३ रुपैयाँ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार दसैँपछि मात्रै करिब ३ हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् । अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् । मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ । नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू-धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । विदेशी पर्यटकको उत्साहबद्र्धक आगमनले व्यवसायी पनि उत्साहित भएका छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार अहिले ७० देखि ८० प्रतिशत होटलको ‘अकुपेन्सी’ रहेको छ । ‘होटेल क्षेत्रमा बुकिङ राम्रो छ । अक्टोबर र नोभेम्बर अन्तिमसम्म राम्रो छ । धेरै पदयात्री र पर्वतारोही आएका छन् । ठमेललगायत मुख्य गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी छ, देशभरका होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने । उनका अनुसार खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौं उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउछन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ भन्दा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याए । ‘पर्यटकीय याम चलिरहेको समयमा विमानस्थलको मर्मतको कामले हवाई उडान खुम्चिन्छ र ट्राभल कम्पनीहरूको अकुपेन्सी घट्नजान्छ । त्यसैले हामीले विमानस्थल मर्मतको काम केही पर सार्न वा उडान अवधि बढाउन सम्बन्धित निकायमा पहल गरिरहेका छौँ,’ अध्यक्ष थपलियाले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल मर्मतको काम सुरु गर्दैछ । करिब ६ महिना विमानस्थलको उडान १० घण्टा बन्द हुनेछ । यसले अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा भारी कटौति हुनेछ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकीय सिजनमा देशका अधिकांश गन्तव्यहरू पर्यटकले भरिभराउ भएको बताए । ‘गन्तव्यहरूमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । होटल तथा रिसोर्टहरुमा अकुपेन्सी एकदमै राम्रो रहेको पाइएको छ, अक्टोबरको सुरुआतमा वर्षाले एकसाता समस्या गरे पनि हाल सबै चिज सामान्य भएर पर्यटन पुरानै लयमा फर्किएको छ,’ उनले भने । निर्देशक लामिछानेका अनुसार सेप्टेम्बरमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएका र अक्टोबरमा पनि त्यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, पुस ४ गते डाक्यो ५०औँ सभा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । होटल सञ्चालक समितिको मंगलबार बसेको बैठकले ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।