पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’, बेलुनको मूल्य १.४० करोड

काठमाडौं । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍याफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ । बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताए । ‘पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि हो र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको छ,’ बाडेले भने, ‘सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहासिक यात्राले लोभ्याउँदै लगेको छ ।’ उनले बेलुनको उडानले ५ वर्ष उमेर माथि साहासिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताए। बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी दिए । ‘पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ, हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ,’ उनले । उनका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताए । ‘पोखरा प्राकृतिक सुन्दरताको केन्द्र मात्रै नभएर साहसिक गतिविधिहरूको पनि महत्वपूर्ण सहर बनिसकेको छ, पछिल्लो समय सार्क राष्ट्रका पर्यटकका लागि हट एयर बेलुन विशेष आकर्षणको केन्द्र बनिरहेको छ,’ उनले भने । अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । युरोपियन मापदण्डअनुसारका हट एयर बेलुन क्यानमा जाँच गरेरमात्र भित्र्याइन्छन् । काठमाडौंमा सनराइज बेलुनले सन् १९९१ हट एयर बेलुन भित्र्याएको थियो । काठमाडौंमा हवाइ चाप बढ्न थालेपछि बेलुन उडान बन्द भएको थियो । पोखरामा भने पहिलो पटक सन् २००९/१० मा बेलुन उडान प्रयास गरिए पनि व्यावसायिक रूपमा सन् २०१८ मा बेलुन नेपाल प्रालिले सुरू गरेको हो । अहिले कम्पनीसँग तीन वटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन् । त्यसमा ५, ८ र १२ जनाले उडान गर्न सक्छन् भने यसको मूल्य ७० लाख रुपैयाँदेखि १ करोड ४० लाखसम्मका छन् । बेलुन उडानका लागि नेपालीलाई ११ हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई १२० अमेरिकी डलर र अन्य मुलुकका नागरिकलाई १५० अमेरिकी डलर शुल्क लाग्छ । हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको २० हजार डलरको यात्रु बीमा गरिन्छ । यो शुल्कमा उडानसँगै आकर्षक क्याप, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात, फोटो, भिडियो र प्रमाणपत्रसमेत उपलब्ध गराइन्छ । बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ । असार, साउन र भदौमा वर्षायामको कारण उडान हुँदैन । उडान समय ४० मिनेटको हुन्छ । कम्पनीले सूर्योदय र सूर्यास्तको समयलाई मध्यनजर गर्दै बिहान ५ देखि ९ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म उडान गराउँदै आएको छ । बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार बेलुन पोखराको लौरुकदेखि उडेर चङ्खपुर क्षेत्रमा अवतरण हुने गर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी सम्पर्कमा रहने गरी उडान हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले ९ हजार फिटसम्मको अनुमति पाए पनि हाल छ हजारदेखि सात हजार फिटसम्मको उडान बेलुनले भर्दै आएको छ । अहिले स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले पाइलट हुनुहुन्छ । कम्पनीका अनुसार गत वर्ष पोखरामा दुई हजार चार सय पर्यटकले बेलुन उडानको मजा लिएका थिए । हट एयर बेलुन एउटा विशेष प्रकारको हावाबाट भरिएको बेलुन हो । केही विशेष प्रक्रियाअनुसार गरिन्छ । तातो हावा प्रयोग गरी उडाउन सकिन्छ । बेलुनलाई उडाउन ग्यास वर्नर प्रयोग गरी बेलुनभित्र तातो हावा भरिन्छ । तातो हावाको घनत्व कम हुने भएकाले यो चिसो हावाभन्दा हल्का हुन्छ । त्यसले गर्दा बेलुन माथि उड्छ । उडान अघि र बेलुनको सुरक्षा अवस्थाको जाँच गरिन्छ । पाइलट र प्राविधिकहरूले बेलुनका सबै भागहरूको निरीक्षणपश्चात् हावा, मौसम र दिशा नियन्त्रण गर्दै बेलुनलाई सुरक्षित रूपमा उडान गर्दछन् । हावाको चाप, वर्षा वा हावाहुरीजस्ता प्रतिकूल अवस्था भएमा उडान स्थगित गरिन्छ ।

धरहरा चढ्दाको शुल्क तोकियो, स्वदेशीलाई २ सय रुपैयाँ, कसलाई कति ?

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं । वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ । केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ । “‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो । इस एयरलाइन्सले रहेर भाडादर कायम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।