नेपाल पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड बढी

फाइल तस्विर

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/ ०८४ का लागि बजेट ल्याएको छ । बोर्डले १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको हो । आर्थिक वर्ष २०८२/ ०८३ मा १ अर्ब २० करोड ८९ लाख ६४ हजार ७१४ रुपैयाँ रहेको थियो ।

यस वर्षको बजेटमा बोर्डले डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरेको छ।
फोटो, भिडियो तथा अन्य सामग्री उत्पादन तथा खरिद, डिजिटल सामग्री बैंक तथा भण्डारण प्रणाली विकास र नेपाली प्रभावशाली व्यक्ति, कलाकार तथा सामग्री सिर्जनाकर्तासँग सहकार्य गर्ने कार्यक्रम यसै शीर्षकमा राखिएको छ।

त्यस्तै विदेशी सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति तथा सामग्री सिर्जनाकर्तालाई नेपाल भ्रमण गराउने परिचयात्मक भ्रमणका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

जनसम्पर्क तथा प्रचारप्रसार महाशाखाका लागि १३ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ। यसअन्तर्गत प्रचार सामग्री प्रकाशन, डिजिटल प्रवर्द्धन, बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट, सिनेमा पर्यटन तथा अन्तर्राष्ट्रिय जनसम्पर्क र सञ्जाल विस्तारलगायतका कार्यक्रम छन्।

पर्यटन बोर्डले तालिम तथा जनशक्ति विकासका लागि १६ करोड ३४ लाख रुपैयाँ प्रस्ताव गरेको छ।
पर्यटन व्यवसायी तथा जनशक्तिको क्षमता विकास, डिजिटल प्रविधि, आतिथ्य सेवा, भाषा, पर्यटक गाइड, मौलिक खाना, होमस्टे, उद्धार तथा प्राथमिक उपचारलगायतका तालिम सञ्चालन गर्ने कार्यक्रम राखिएका छन्।

अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका लागि २ करोड ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
पर्यटक आगमनको तथ्यांक संकलन तथा विश्लेषण, पर्यटन स्याटेलाइट एकाउन्ट, विभिन्न प्रदेशका पर्यटकीय सम्पदाको अध्ययन, स्थलमार्गबाट आउने भारतीय पर्यटकको सर्वेक्षण, जलवायु परिवर्तन तथा पर्यटनसम्बन्धी अध्ययन र नयाँ पर्यटन व्यवसायका लागि स्टार्टप सहयोगलगायतका कार्यक्रम यसअन्तर्गत छन्।

बोर्डले प्रदेशगत संरचना विस्तार गर्ने भन्दै कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रादेशिक तथा अन्य कार्यालय स्थापना तथा सञ्चालनका लागि पनि बजेट प्रस्ताव गरेको छ। 

नयाँ कार्यालय स्थापना तथा सञ्चालनका लागि कुल ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ। यसमध्ये पाँच प्रदेशमा नयाँ कार्यालय स्थापना तथा सञ्चालनका लागि मात्रै ३ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

पर्यटन सम्पदा तथा संसाधन विकासतर्फ भारतसँग जोडिएका प्रमुख नाकामा सूचना केन्द्र स्थापना, पर्यटकमैत्री पूर्वाधार, संकेत तथा क्यूआर कोड, पदमार्ग संरक्षण, पर्यटक घर, सांस्कृतिक केन्द्र तथा संग्रहालय, प्रादेशिक पर्यटन मार्ट, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन र एडभेन्चर ट्राभल मार्टलगायतका कार्यक्रम पनि समेटिएका छन्।

Share News