मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी, मूल्यसूची सार्वजनिक गर्नुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनकाे भनाइ छ । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको उनले बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनकाे भनाइ छ । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको उनले जानकारी दिए । ‘मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ’, उनले भने । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए । उनका अनुसार भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म पुर्याउने योजनामा मन्त्रालय रहेको छ । उनले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको जानकारी दिए । ‘त्रिभूवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु । हामीले बनाएका तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ । तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठूलो एयरपोर्ट बन्ने परिकल्पना छ । हामी त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ’, उनले भने । उनले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको जानकारी दिए ।

गौतमबुद्ध विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने

काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा शनिबार आयोजना गरेको १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताए । राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको ईच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले पर्यटकीय गन्तव्यको व्यवसाय प्रवर्द्धनका लागि यात्रुलाई विभिन्न सुविधाका प्याकेज बनाएर दिनुपर्ने बताए । हवाइ सेवामा पहिलो प्राथमिकता यात्रुको सुरक्षा हुने भएकाले गौतमबुद्ध विमानस्थलको अधिकतम सुरक्षाका लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरिएको जानकारी दिए । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका सबै पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने बताए । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनी प्रदेश मात्रै नभएर सिङ्गो देशलाई फाइदा पुग्ने उनको भनाइ छ सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदुरपश्चिम र कर्णालीको लागि भैरहवा सबैभन्दा पायक पर्ने बताए । नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले गौतम बुद्ध विमानस्थल भइरहेको उडानलाई नियमित गराउन पर्ने बताए । नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले वर्तमान समयमा विमानस्थलको सञ्चालनले नयाँ आशा जगाएको बताउँदै यस अवसरलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्नुपर्ने बताए ।

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित भएका छन् । कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । विकल्पका रूपमा मात्र सतही मार्ग रोज्ने मुगुका नागरिक  कर्णाली राजमार्गमा धेरैपटक दुर्घटना भइसकेकाले गाडीको यात्रा सुरक्षित नभएका कारण  बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् । जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् । मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईवटा उडान भर्दै आएका छन् । नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् ।