जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाका मध्यामबाट जोड्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिका सन्दर्भमा) अन्तर विषयक अन्तराष्ट्रिय सङ्गोष्ठीमा उनले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सम्पर्क सञ्जालका माध्यमबाट अघि बढाउनुपर्ने बताए । उक्त प्रयोजनका लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ । पर्यटनमन्त्री पाण्डेले रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनःजागरणमा योगदान गर्नुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने सङ्गोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ । सङ्गोष्ठीमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्याउन सहयोग गर्नसमेत आग्रह गरे ।
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
काठमाडौं । आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् । वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएका हुन् । पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।
आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने
काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।