होटल क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढ्यो, सिटि घाटामा कालिञ्चोक धनात्मक
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूले चालु आवको पुस मसान्तसम्ममा ४८ करोड ३६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत वर्षको पुसमा ४३ करोड ४५ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.७८ प्रतिशत बढेर ६ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ७.६४ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ६८.११ प्रतिशत घटेर २४ लाख ४२ हजार रुपैयाँ र कुल आम्दानी ८.३० प्रतिशत घटेर ३६ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७६ लाख ५९ हजार रुपैयाँ अन्य आम्दानी र ४० करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३१.७७ प्रतिशत घटेर ८ करोड ७३ लाख रुपैयाँ, कर्मचारी खर्च ७.३० प्रतिशत बढेर ८ करोड ८३ लाख रुपैयाँ, प्रशासन खर्च ८.५४ प्रतिशत घटेर ५ करोड २१ लाख रुपैयाँ र कुल खर्च ०.८१ प्रतिशत बढेर १४ करोड ४ लाख रुपैयाँ गरेको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसा बढेर ८.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.८४ गुणा रहेको छ । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ८५ लाख ७० हजार रुपैयाँ ऋणात्मक थियो । पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३०४.२६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ, सञ्चालन आम्दानी ३१.२९ प्रतिशत घटेर २ करोड ९० लाख रुपैयाँ, अन्य आम्दानी १११.४१ प्रतिशत बढेर ४ करोड ९५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ लाख ६५ हजार रुपैयाँ आम्दानी, ४० लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी र ३ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च ७३.७१ प्रतिशत बढेर ५६ लाख ६८ हजार रुपैयाँ, अन्य खर्च ८४.६१ प्रतिशत बढेर ५९ लाख ४८ हजार रुपैयाँ र वित्तीय खर्च २७९.३० प्रतिशत घटेर ५२ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २६ लाख ८१ हजार रुपैयाँ कर्मचारी खर्च, ३४ लाख २४ हजार रुपैयाँ अन्य खर्च र २८ लाख २८ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८५ लाख ९७ हजार रुपैयाँ धनात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ रहेको छ । सोल्टी होटलको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर ३० करोड १७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १६.०५ प्रतिशत बढेर १ अर्ब २१ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर २८ करोड ८ लाख रुपैयाँ, प्रशासन खर्च १९ प्रतिशत बढेर १३ करोड ४५ लाख रुपैयाँ र कुल खर्च १५.८२ प्रतिशत बढेर ८४ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कर्मचारी खर्च २४ करोड ९८ लाख रुपैयाँ, प्रशासन खर्च ११ करोड ३० लाख रुपैयाँ र कुल खर्च ७३ करोड २८ लाख रुपैयाँ गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५ प्रतिशत बढेर ९२ करोड ८९ लाख रुपैयाँ र सञ्चित नाफा ०.३६ प्रतिशत बढेर १ अर्ब ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ बढेर ३.२५ रुपैयाँ पुगेको छ । ओरियण्टल होटल्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६ प्रतिशत घटेर २८ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी १२.२० प्रतिशत घटेर ४९ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा १३.१७ प्रतिशत घटेर ४९ करोड ९६ लाख रुपैयाँ र अन्य आम्दानी ४८.४५ प्रतिशत घटेर ७९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ५५ लाख रुपैयाँ कुल नाफा र १ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च १३.४२ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ, वित्तीय खर्च ९.४३ प्रतिशत घटेर २ करोड ५७ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ४३ करोड ७२ लाख रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ र जगेडा कोष १.४६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.१८ रुपैयाँ घटेर २.५६ रुपैयाँमा सीमित भएको छ । सिटि होटल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी २.९८ प्रतिशत घटेर २३ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ३९.६६ प्रतिशत घटेर २ करोड १४ लाख रुपैयाँ, बिक्री आम्दानी ९.५१ प्रतिशत घटेर ५ करोड ९० लाख रुपैयाँ र कुल आम्दानी ७.६५ प्रतिशत घटेर २५ करोड ७१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी, ६ करोड ५२ लाख रुपैयाँ बिक्री आम्दानी र २७ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.७१ प्रतिशत घटेर ४ करोड ७५ लाख रुपैयाँ, प्रशासन खर्च ५.१६ प्रतिशत बढेर ५ करोड ९३ लाख रुपैयाँ र कुल खर्च ६.५६ प्रतिशत घटेर १७ करोड ४६ लाख रुपैयाँ गरेको थियो । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । तारागाँउ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.८३ प्रतिशत बढेको हो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८१ प्रतिशत बढेर ६९ करोड ४८ लाख रुपैयाँ, अन्य आम्दानी ३.८२ प्रतिशत बढेर ७ करोड ८५ लाख रुपैयाँ र कुल आम्दानी ८.२८ प्रतिशत बढेर ७७ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको पुसमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी, ७ करोड ५६ लाख रुपैयाँ अन्य आम्दानी र ७१ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २८.७० प्रतिशत बढेर १ अर्ब १० करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रशासन खर्च ५.११ प्रतिशत बढेर १८ करोड ६७ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ९.५२ रुपैयाँमा सीमित भएको छ ।
तीन महिनामा १० हजार विदेशी पर्यटकले घुमे बन्दीपुर, बढ्न थाले चिनियाँ
तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजार तीन सय ५२ जना रहेका छन् । यसैगरी क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्याङ्कअनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन् । प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरु प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् । बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् । चीनबाट माघ महिनामा मात्रै एक हजार ५०० पर्यटकहरू आएका छन् । त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट आएका पर्यटकहरू छन् । बन्दीपुरबाट सुन्दर हिमाल, विभिन्न खोला, नदी तथा फाँटहरू सजिलै देखिन्छन् । यहाँ प्राचीन काठकलाले भरिएका घरहरूसमेत हेर्न पर्यटकहरू लालायित हुने गर्दछन् । बन्दीपुर गाउँपालिकासहितका अन्य सरोकारवाला पक्षहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेर विभिन्न पर्यटकीय गतिविधि गरिरहेका छन् । सन् २०२५ भरि नै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गतिविधि गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सन् २०२५ मा एक लाख बाह्य तथा दुई लाख आन्तरिक पर्यटन भित्र्याउने योजना रहेको बताए । यस्तै, सन् २०२५ सहित २०२७ सम्म आठ लाख पर्यटक भित्र्याउने योजनासहित विभिन्न कार्यक्रम तय गरिने उनले जानकारी दिए । फेब्रुअरी १४ को अवसरमा आज यहाँ पर्यटक लक्षित विशेष कार्यक्रम आयोजना गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । क्षेत्रीय होटल सङ्घ बन्दीपुर इकाइ सभापति फुलमती थापाले हाल आन्तरिक पर्यटकहरू पनि बढेको बताए । पछिल्लो समय यहाँ दैनिक करिब पाँच सय आन्तरिक पर्यटकहरू आउने गरेका उनले जानकारी दिए । यहाँ प्राचीन पुरातात्विक महत्वको बन्दीपुर बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दवासिनी मन्दिर, मणिमुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेट वाल), रानीवन, तीनधारा, पिकनिक स्पोर्ट, गुम्बा, रामकोट, धरमपानी, कोरीखाका ‘होमस्टे’, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादनका लागि कीट विकास कार्यक्रमलगायत पर्यटकीय केन्द्रका रूपमा परिचित छ । नेवारी, मगर, गुरुङलगायत जातजातिका विभिन्न सांस्कृतिक वेशभूषा र रीतिरिवाज पनि यहाँका आकर्ष हुन् । बन्दीपुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । हिमालहरूको लामो रेन्ज एकै ‘फ्रेम’ मा देखिने भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू रमाउने गरेका छन् । पर्यटकलाई लक्षित गरी यहाँ होटलको विकास पनि निरन्तर भइरहेको छ । बन्दीपुर होटल सङ्घमा आबद्ध करिब ८० वटा होटल र एक दर्जन घरबास सञ्चालनमा छन् । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेबजारबाट एक किलोमिटर अगाडि बढेपछि बन्दीपुर गेटबाट आठ किलोमिटर यात्रा गर्दै बन्दीपुर बजार पुग्न सकिन्छ । हाल यहाँको ठूलढुङ्गाबाट बरालथोकसम्म केबलकारसमेत सञ्चालनमा छ । केबलकारबाट आउँदा सात मिनेटमा नै बन्दीपुर पुग्न सकिने हुँदा पर्यटकलाई थप सहज भएको छ । रासस
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ । मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछभने एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्छ । यसको गति बढाउन पनि सकिने उनले बताए । मेगाट्रोल सञ्चालनका लागि चार करोड लगानी गरिएको कार्कीले बताए । ‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको अनुभव दिन्छ’, उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको छ ।’ दुई साताअघि नै यसको सफल परीक्षण गरिएको थियो । ‘द क्लिफ’ले भ्यालेनटाइन डेका अवसर जोडी बञ्जीसमेत सञ्चालन गरेको छ । यसअघि एकजना मात्र बञ्जी गर्न मिल्नेमा दुईजना एकैसाथ मिल्नेगरी सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले बताए । विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङ, गुलेली पिङ, स्काई क्याफेलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि नियमित रुपमा सञ्चालनमा ल्याइएको उनले बताए । ‘कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै मेगाट्रोलको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ,’ उनले भने, ‘यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।’ अध्यक्ष कार्कीले मेगाट्रोल गर्नेका लागि एक जनाको चार हजार र तीनजनाले नै गरेमा नौ हजार ५०० शुल्क निर्धारण गरिएको छ । योसँगै साहसिक स्वीमिङ पुललगायतका संरचनाहरु पनि निर्माण भइरहेको कार्कीले जानकारी दिए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि यहाँआउने पर्यटकहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । रासस