पर्यटकको लर्को लाग्न थालेपछि होटलमा लगानी बढाउँदै, १ करोडदेखि ३० करोडसम्म लगानी

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गरे । पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै धेरै लगानीको पहिलो होटल हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ३० करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको छ । झण्डै ६ महिनाअघि बजारमै सञ्चालनमा रहेका दुई होटलले सेवा बिस्तार गरे । लगानी बढाए । होटल रेड एप्पलले स्थानान्तरणपछि फराकिलो क्षेत्रमा आफ्ना सेवा सञ्चालनमा ल्याएको छ भने होटल शितलले २ करोड रुपैयाँ लगानी थप गरेर सेवा थालेको छ । सदरमुकाममा रहेका होटल दि राजन, पिस प्यालेस, समिट धौलागिरी, होटल पर्व लगायतका होटल पनि आफ्ना सेवा बिस्तारमै छन् । अन्य होटल तथा रेष्टुँराले पनि पर्यटक लक्षित सेवालाई केन्द्रमा राखेका छन् । सदरमुकाम बाहिर घोडाबाँधेमा माउन्टेन भ्यु, गलकोटमा गलकोट स्क्वायर, बडिगाडमा एग्रो रिसोट, कुश्मीशेरामा साकुरा, बुर्तिबाङमा होटल दरबार र निसीको झिँवाखोलामा होटल लोकमार्ग पर्यटक लक्षित होटल हुन् । पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बागलुङमा होटल व्यावसायमा लगानी बढाउदै लगिएको हो । बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्राहलय, तथा ढोरपाटन शिकार आरक्ष लगायतका प्रमुख पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्न आउने पर्यटकको चहलपहल बढ्न थालेपछि सुविधा सम्पन्न होटल तथा लजहरूको विस्तार हुने क्रम बढेको होटल सगुनका सञ्चालक सञ्जय श्रेष्ठ बताउँछन् । यहाँ पर्यटक आउनका लागि कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्गले सघाईरहेका छन् । ‘भएका होटल मात्रै यहाँ पर्यटक आउने क्रम बढ्दा पर्याप्त हुँदैनन्, होटल व्यवसायमा लगानी बढ्नु जिल्ला मात्रै होईन प्रदेशकै लागि सकरात्मक सन्देश हो,’ होटल व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने । होटल क्षेत्रमा व्यवसायीले १ करोडदेखि ३० करोडसम्म लगानी गरेका छन् भने एक हजार भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । पाहुनाको आगमनले रौनकता छाएको र होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको होटल शिलतका संचालक तालबहादुर कुँवर बताउँछन् । ‘यहाँ सम्भावना धेरै छन्, राज्यले लगानी सुरक्षा गरिदिने हो भने लगानीकर्ता तयार हुन्छन्, लगानी आकर्षण गर्ने काम राज्यको हो, नीजि क्षेत्रलाई हेर्ने नजर स्थानीयदेखि केन्द्र सरकारसम्म फेरिनुपर्छ,’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले भने । व्यवसायीहरूले पाहुलनालाई आर्कषण गर्न बिभिन्न पर्यटकीय प्याकेज समेत ल्याउन थालेका छन् । बिभिन्न क्षेत्रको अवलोकनपछि एक दिन बसोबास गर्ने गरि सुविधा सम्पन्न होटल पाउन थालेपछि आन्तरिक पर्यटकलाई सहज बनेको छ । पर्यटकको आगमन बढेसँगै होटलको आम्दानी पनि बढेको छ । होटल भरिँदाका दिन एउटै होटलले ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको होटल पर्वका म्यानेजर राम पराजुली बताउँछन् । बागलुङका पर्यटकीय क्षेत्र घुम्नका लागि देशभरीबाट बिभिन्न विद्यालय, समुह र सहकारी तथा व्यक्ती र परिवार मिलेर आउनेहरूको लर्को छ । मुस्ताङ पुगेर फर्किने, म्याग्दीको तातोपानी कुण्ड पुग्ने पर्यटकको समेत बासस्थान भएकाले दैनिक ३०० देखि ५०० सयपर्यटक जिल्ला भित्रिने गरेको होटल अन्नपूर्णका सञ्चालक ढोलराज पौडेल बताउँछन् ।

वायुसेवा सञ्चालकले भने : युरोपेली देशसँग वार्षिक अर्बौंको कारोबार हुन्छ, हेलिकोप्टर आयात रोकियो भन्नु गलत हो

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको भन्नु गलत रहेको बताएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै हेलिकोप्टर आयात रोकियो भन्ने समाचार गलत भएको धारणा राखेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगायो भनेर विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएकोउल्लेख गर्दै संघले त्यस्तो नभएको बताएको हो । संघले विज्ञप्तिमा भनेको छ, ‘नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरूले ओगटेको छ, साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अर्बौं रुपैयाँ युरोपियन कम्पनीहरूसँग कारोबार भइरहेको छ ।’ शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा सेफ्टी लिस्टबाट हटाउने सम्बन्धमा गहन छलफल भएकोले त्यसले साथर्कता पाउने विश्वास संघको छ । ‘हामीले गरेको कामको उचित मूल्यांकन गर्दै युरोपियन यूनियनको हेडक्वार्टर ब्रुसेल्समा बस्ने सेफ्टी कमिटीको आगामी मिटिङले अवश्य पनि सेफ्टी लिस्टबाट हटाउँछ भन्ने नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघले पूर्ण विश्वास लिएको छ,’ विज्ञप्तिमा भनिएको छ । युरोपियन युनियनले नेपाली हवाई सेवालाई सन् २०१३ देखि सेफ्टी लिस्टमा राखेपश्चात संघका सदस्य वायुसेवा कम्पनीहरूले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी स्ट्यान्डर्डले निर्दिष्ट गरेअनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि लिस्टबाट हट्न नसकेको हुँदा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरट्ठ तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुकताका साथ लागि परी नै रहेको जानकारी पनि संघले दिएको छ । युरोपियन यूनियनको सेफ्टी लिस्टले निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरूमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरूको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा एभिएसन प्रडक्टका लागि वैकल्पिक बजारहरूको हिस्सा विस्तार गर्ने संघले जनाएको छ । साथै संघले नेपाली हवाई सेवा उद्योगहरूको दीर्घकालीन स्थिरता र वृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेली उडयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भीर भई उचित कदम चाल्न अनुरोध गरिएको छ ।

महाशिवरात्रीलाई भव्य बनाउन आवश्यक तयारी गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तिब्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवीथत गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गरे । उनले महाशिवरात्री नेपालीहरुको महान पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको उल्लेख गरे । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताए । ‘देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महशुस गर्न सक्नुभयो, त्यति नै महत्व, महाविशरात्रीको महत्व र देशको महत्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ,’ उनले भने । उनले महाशिवरात्री मुल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।