परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौंमा ल्याण्ड हुन सकेन, कोलकत्ता डाइभर्ट
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकत्ता डाइभर्ट भएको बुझिएको छ । काठमाडौंको आकाशमा खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाज भारतको कोलकत्ता डाइभर्ट भएको हो । कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने प्रयास गरेपनि सम्भव नभएपछि डाइभर्ट भएको हो । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।
बैंकको भन्दा बढी कमाइ, पर्यटनमा तहल्का पिट्दै ओशो वर्ल्ड ट्राभल
काठमाडौं । पर्यटन क्षेत्रले एउटा लय समातेको देखिएको छ । कोरोना महाकारीका कारण सुस्त बनेको पर्यटन क्षेत्र पछिल्लो समय भने चलायनमा भइरहेको विभिन्न कम्पनीको व्यवसाय वृद्धिले देखिएको छ । काठमाडौंको ठमेलमा रहेको ओशो वल्र्ड ट्राभलले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले सन्तोषजनक आम्दानी गरेको छ । विगतका वर्षहरुको तुलनामा यस कम्पनीको आम्दानी बढ्दै गइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यस कम्पनीको सञ्चालन आम्दानी २२९ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीले सन् २०२४ मा ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२० को तुलनामा २२९ प्रतिशत बढी हो । सन् २०२० मा यस कम्पनीले कुल २ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ८७ करोड ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा २२.८३ प्रतिशतले आम्दानी बढेको देखिएको छ । यस्तै, सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाखर सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी वाणिज्य बैंकको भन्दा पनि बढी हो । पछिल्लो समय वाणिज्य बैंकको सञ्चालन आम्दानी पनि औसतमा २÷३ अर्ब रुपैयाँ मात्रै हुने गरेको छ । आम्दानी बढेपनि यस कम्पनीको नाफा अनुापत भने केही घटेको देखिन्छ । पछिल्लो समय व्यावसायिक प्रतिस्पर्धाको कारण सञ्चालन नाफामा विगतको तुलनामा केही कमी आएको कम्पनीको धारणा छ । विभिन्न नीतिगत परिवर्तन, मौसमी उतारचढाव, आर्थिक मन्दी, कोरोना महामारी जस्ता संकट, भू–राजनीतिक जोखिम लगायत कारणले कम्पनीको व्यवसायमा प्रभाव परेको कम्पनीको दाबी छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस कम्पनीले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । यस कम्पनीले अन्तर्राष्ट्रि हवाइ टिकेटिङको काम गर्दै आएको छ भने टुर प्याकेज बिक्री तथा होटल सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पनि यस कम्पनीले भूमिका खेल्दै आएको छ भने उनीहरुले चाहेको टुर प्याकेज तथा सेवासुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यस कम्पनीको नेतृत्व श्यामराज थपलियाले गर्दै आएका छन् । यस कम्पनीमा उनको ९० प्रतिशत सेयर स्वामित्व छ । सन् १९९२ बाट सञ्चालित यो कम्पनी ट्राभल कम्पनीमा एउटा परिचित नाम हो । नेपालको पर्यटन सम्भावना, सरकारको पर्यटन दशक घोषणा र सरकारको पर्यटनमैत्री नीतिगत व्यवस्थाले आगामी दिनमा थप व्यवसाय विस्तार हुन सक्ने अपेक्षा कम्पनीको छ ।
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ : डा. मिलनकुमार थापा
काठमाडौं । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बृद्धि भएको छ। एक दशकयताकै सर्वाधित भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको छ । जनवरीमा ‘पशुपति दर्शन अभियान’मार्फत भारतमा धार्मिक अभियन्ता, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियन्तासँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि महाशिवरात्रिको तयारीमा जुटेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासँग यही सन्दर्भमा गरिएको अन्तरवार्ताः महाशिवरात्रि पर्वमा दर्शनार्थीको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेज्यूको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ। मन्त्रीज्यूको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषको सम्पूर्ण टोलीले काम गरिरहेको छ। ९ वटा विषयगत उप–समिति गठन गरिएको छ। उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ। व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ। यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ। भक्तजनलाई सहज बनाउन पशुपतिनाथ मन्दिरमा पूजाआजाको प्रबन्ध कसरी गरिएको छ ? नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वमा धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ। व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ। कोषको प्राथमिकता भक्तजनको सुबिधा र सहजता हो। दर्शनार्थी, साधुसन्त एवं भक्तजनको संख्या बृद्धि भएको हुनाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्ने र भगवानको दर्शन गर्न लामो समय प्रतिक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ। सुरक्षाको प्रबन्ध कसरी गरिएको छ ? सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली रहेको छ। दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ। साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ। सुरक्षा निकायसँगै अरु सामाजिक संस्थाको परिचालन कसरी गरिएको छ ? सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरिएको छ। कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघसंगठनका तर्फबाट स्वयंसेवक खटाइएको छ। स्वास्थ्यको प्रबन्ध के छ ? स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ । अस्पतालमा शैया बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन, खानपिन आदिको व्यवस्थापन कसरी गरिएको छ ? साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ। मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ। तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ। भगवान पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउनका लागि मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित र भव्य बनाउन मन्त्रीज्यूसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राज्यमन्त्री अरुणकुमार चौधरीको पनि सदासयता प्राप्त भएको छ। दर्शनार्थीलाई छिटोछरितो रुपमा दर्शन गराउनका लागि मूल भट्टजीसहित पाँच जना भट्टजीहरू, भण्डारीहरू, कोषका कर्मचारी, परिषद् सदस्यहरू अरोरात्र खटिनुभएको छ। महाशिवरात्रि पर्वमा आउने दर्शनार्थीले अत्यन्तै उल्लास र भव्यता महसुस गर्नुहुनेछ। कोष सम्पन्न ध्यान दर्शनार्थीको सेवामा केन्द्रित छ। धार्मिक पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा समुन्नत र समृद्ध देश बनाउन मैले व्यक्तिगत र संस्थागत रुपमा पहल गरेको छु। भगवान पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्न हामी प्रयत्नरत छौँ।