विमानस्थलको २४ बिघा जग्गा भाडामा दिँदै, न्यूनतम साढे १२ लाख रुपैयाँ
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलभित्र रहेको खाली जग्गा कृषि प्रयोजनका लागि भाडामा दिने भएको छ । प्राधिकरणअन्तर्गत सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेका २४ बिघा जग्गालाई तीन वटा प्लटमा विभाजन गरी कृषि प्रयोजनका लागि ठेक्का बन्दोबस्त गर्न लागेको हो । कार्यालयका अनुसार प्लट नम्बर १ धावनमार्गको पश्चिमपट्टि रहेको ३ बिघा १७ कठ्ठा क्षेत्रफलको जग्गा हो । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १२ लाख ५२ हजार ५ सय २१ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्लट नम्बर २ अन्तर्गत भीओआर तथा डीएमई रहेको क्षेत्रमा १० बिघा जग्गा रहेको छ । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २३ लाख २७ हजार ९२ रुपैयाँ तोकिएको छ । प्लट नम्बर ३ डुम्मरवाना जाने बाटोको उत्तरपट्टि रहेको ११ बिघा क्षेत्रफलको जग्गा हो । उक्त प्लटका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ । तीनै प्लटका लागि बोलपत्र फाराम दस्तुर मूल्य अभिवृद्धि करसहित ३ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । इच्छुक संस्था, फर्म वा कम्पनीले कबोल रकमको पाँच प्रतिशत बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ ।
बाढीले क्षति पुर्याएका होटल व्यवसायीलाई पुनःस्थापना गर्न महासंघको पहल
काठमाडौं । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो क्षति भएपछि होटल व्यवसायी महासंघ नेपालले प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल थालेको छ । महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढीबाट प्रभावित होटल, रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षतिको विवरण र नामावली बुझाएका छन् । एफएनसीसीआईको पर्यटन समितिले आयोजना गरेको बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुगे पनि क्षतिग्रस्त व्यवसायलाई पुरानै अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताए । महासंघले प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदान उपलब्ध गराउन माग गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुनःसंरचना गर्न, ब्याजमा छुट दिन तथा सरकारले आवश्यक पहल गर्नुपर्ने माग राखिएको छ । त्यस्तै, बिमा गरेका व्यवसायीको क्षतिपूर्ति दाबी तत्काल भुक्तानी गराउन तथा बिमा नभएका ग्रामीण क्षेत्रका साना होटल र खाजाघरलाई क्षतिको आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउन महासंघले माग गरेको छ। महासंघका अनुसार प्रस्तुत विवरण र मागप्रति एफएनसीसीआई अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले समर्थन जनाएका छन्। प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता एफएनसीसीआईले जनाएको छ। होटल व्यवसायी महासंघ नेपालले प्रभावित साना तथा मझौला पर्यटन व्यवसायीको व्यवसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म आफ्नो पहल जारी राख्ने जनाएको छ।
३ एजेण्डा पारित गर्न ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले हालका लेखापरीक्षक सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्न सक्ने जनाएको छ । कम्पनीले साधारण सभाका लागि असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर दाखिल खारेजका लागि प्राप्त भएका सेयरधनीलाई साधारण सभाको प्रयोजनका लागि सेयरधनी कायम गरिनेछ ।