भोटेकोशी बाढीपछि विश्व बजारमा ‘नेपाल सुरक्षित छ’ सन्देश फैलाउनुपर्छ

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले भोटेकोशी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न तत्काल विश्व बजारमा ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्ने बताएका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विपद् भोटेकोशी करिडोरको सीमित क्षेत्रमा भएको भए पनि त्यसको प्रभाव अन्तर्राष्ट्रियस्तरमा समग्र नेपालबारे नकारात्मक धारणा बन्न सक्ने भएकाले वास्तविक अवस्था स्पष्ट पार्न आवश्यक रहेको बताए ।

शाहले भारत र चीनलगायत प्रमुख पर्यटकीय बजारमा दशैं–तिहारअघि नै प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार काठमाडौं, चितवन र पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेकाले त्यसको स्पष्ट जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु हो ।

उनले भने, ‘भोटेकोशीको करिडोरमा विपत्ति भएको हो, नेपालभरि होइन । काठमाडौं, चितवन, पोखरा लगायत सबै सामान्य अवस्थामा छन् । यो सन्देश हामीले बलियो रूपमा दिनुपर्छ । नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्र सबै यसमा लागेका छन् । अब यसलाई अझ तीव्रता दिनुपर्छ ।’

उनले पर्यटन प्रवद्र्धन र सहजीकरणको मुख्य जिम्मेवारी रहेको नेपाल पर्यटन बोर्डले विपद्पछिको अवस्थामा प्रवर्द्धनात्मक कार्यक्रमलाई थप तीव्र बनाउनुपर्ने बताए । 

समयमै प्रवर्द्धन गर्न सके पर्यटकीय बजारमा ठूलो क्षति हुन नदिने र गुमेको बजारसमेत पुनः फर्काउन सकिने उनको भनाइ छ ।

शाहका अनुसार नेपाल आउने पर्यटकमध्ये ठूलो हिस्सा पदयात्रा, पर्वतारोहण र र्याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । 

यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले विपद्का कारण समग्र नेपालको पर्यटन प्रभावित नहोस् भन्न वास्तविक अवस्थाबारे सही र प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने उनले बताए ।

उनले भूकम्प र कोभिड–१९ महामारीका समयमा समेत नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गर्दै पुनरुत्थान गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबीचको समन्वयमा योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्जालमार्फत नेपाल प्रवर्द्धन गर्न सुझाव

अध्यक्ष शाहले नेपालको पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जाललाई समेत उपयोग गर्नुपर्ने बताएका छन् ।

टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायतका अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरी विश्व बजारमा नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने उनको सुझाव छ ।

‘संसारका ठूला एयरलाइन्समध्ये ५–६ वटा नेपालमा आउँछन् । संसारभरि उहाँहरूको जुन पहुँच छ, त्यसलाई हामीले पर्यटन प्रवद्र्धनमा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरूलाई अनुरोध गरेर संसारभरि ‘नेपाल ठीक छ, नेपाल घुम्न जानुहोस्’ भन्ने प्रचार गराउनुपर्छ । नेपालमा बढी पर्यटक आउनु भनेको उहाँहरूको पनि व्यवसाय बढ्नु हो ।’

पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेकाले यसले पनि नेपालको पर्यटन सामान्य अवस्थामा फर्किरहेको सकारात्मक सन्देश विश्व बजारमा गएको उनले बताए ।

विपद्पछिको पर्यटन पुनरुत्थानका लागि नेपाललाई सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र व्यक्तिलाई समेटेर स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने शाहको भनाइ छ ।

‘विपद्पछि हामी योजनाबद्ध किसिमले अगाडि जानुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाललाई माया गर्ने संस्था र व्यक्तिलाई संगठित गरेर एउटा मास्टर प्लान बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

दशैं–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्यूनीकरणका लागि तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना सम्प्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए । पछिल्लो समय पर्यटकको बुकिङ रद्द हुने क्रम घट्दै गएको पनि उनको भनाइ छ ।

शाहले पर्यटन व्यवसायी, होटल कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउनसमेत सरकारसँग आग्रहसमेत गरेका छन् ।

होटल संघ नेपालले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क तथा ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल सुरक्षित र उपयुक्त पर्यटकीय गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको उनले जानकारी दिए ।

Share News