राराको मुर्माटपमा पुग्यो फोरजी, पर्यटकले अब हाईस्पिड इन्टरनेट पाउने

काठमाडौं । नेपाल टेलिकमले मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त क्षेत्रमा फोरजी सेवा औपचारिक रूपमा सुरु गरिएको हो । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप रारातालको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुगिने यस स्थानबाट राराताल, हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिमका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल टेलिकमका अनुसार फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सहज रूपमा प्रयोग गर्न सक्नेछन् । यसले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ मार्गमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने विश्वास कम्पनीको छ । सेवा सञ्चालनपछि पर्यटकले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमार्फत तत्कालै साझा गर्न सक्नेछन् । साथै स्थानीय होटल, होमस्टे र व्यवसायीले पनि डिजिटल सेवाको प्रयोग सहज रूपमा गर्न पाउने भएकाले पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमले जडान गरेको नयाँ टावरले मुर्माटपमा मात्रै सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनका रूपमा पनि काम गर्ने कम्पनीले जनाएको छ । यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ । कम्पनीले ‘राष्ट्रको सञ्चार’ अभियानअन्तर्गत दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको लक्ष्यलाई सघाउने जनाएको छ । नेपाल टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि राराताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइसकेको थियो ।  

एआई विस्तारसँगै दक्षिण कोरियाले बढायो सेमीकन्डक्टरमा लगानी

काठमाडौं । कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन् ।  सियोलले सोमबार नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरू समेटिने गरी ठूलो लगानीको घोषणा गरेको छ र यसको नेतृत्व दक्षिण कोरियाली चिप उत्पादक कम्पनीहरूले गरेका छन् ।  व्यापक नाफा  एआई प्रणाली चलाउन मद्दत गर्ने उन्नत मेमोरी चिप उत्पादन गर्ने विश्व बजारमा अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्सगरी प्रमुख तीन कम्पनीको वर्चस्व छ ।  सरकार तथा प्रविधि कम्पनीहरूले एआई उपकरण प्रशिक्षण र सञ्चालनमा सयौँ अर्ब डलर खर्च गरिरहँदा यी कम्पनीहरूको नाफा र शेयर मूल्य अत्यधिक बढेको छ ।  'एआईले ठूलो माग मात्र होइन, अभाव पनि सिर्जना गरेको छ जसले मूल्य वृद्धि गराएको छ,' सेमीकन्डक्टर विशेषज्ञ जिम ह्यान्डीले एएफपीले प्राप्त ‘अब्जेक्टिभ एनलाइसिस’ मा एएफपीलाई बताए ।   मेमोरी र स्टोरेज चिपको बढ्दो मूल्य उपभोक्तासम्म पुगेको छ । एप्पलले म्याकबुक र आइप्याडको मूल्य यसै महिना बढाएको छ ।  यो विकासले ल्याएको आर्थिक वृद्धिले कामदारहरूको तलब मागलाई पनि बढावा दिएको छ । सामसुङले मे महिनामा ठूलो हडताल टार्न आफ्नो सबैभन्दा ठूलो ट्रेड युनियनसँग बोनस सम्झौता गरेको थियो ।   चिनियाँ प्रतिस्पर्धा    दक्षिण कोरियाले यस वर्ष एआईमा खर्च तीन गुणा बढाउने प्रतिबद्धता जनाएको छ । यसले अमेरिका र चीनसँगै विश्वका शीर्ष एआई शक्तिमध्ये एक बन्न लक्ष्य राखेको छ ।  विशेष गरी चीनले आफ्नो प्रविधि उद्योग विकासमा दौडिरहेको बेला सियोलले यो विकासको अवधिलाई ‘एक पटकको अवसर’ को रूपमा हेरेको प्रविधि कम्पनी ‘ओमडिया’का प्रमुख विश्लेषक लियन ज्ये सुले बताए ।   'यो दक्षिण कोरियाका लागि आफ्नो रणनीतिक लाभ प्रयोग गरेर लगानी गर्न उपयुक्त समय हो किनकि एआईको प्रगति सुस्त हुनसक्छ र माग घट्न सक्छ,' उनले एएफपीसँगको कुराकानीमा भने ।  फाइनान्सियल टाइम्सले शनिबार आफ्नामे समाचारमा लेखेको छ, 'एप्पलले चिनियाँ उत्पादक ‘सीएक्सएमटी’बाट मेमोरी चिप किन्न खोजिरहेको छ र यो कम्पनी अभावबाट फाइदा लिने स्थितिमा छ ।' एएफपीले यस सम्बन्धमा एप्पल र सीएक्सएमटीसँग प्रतिक्रिया मागेको छ । 'चिनियाँ कम्पनीहरूलाई सस्तो श्रम र ठूलो घरेलु मागको फाइदा छ, तर उनीहरूको प्रविधि वृद्धिमा सीमा हुनसक्ने देखिन्छ,' सुले भने । 'मानिसहरू चिनियाँ ‘सिलिकन’मा अत्यधिक निर्भर हुन कम इच्छुक छन् र यसै कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा ‘दोब्बर’ जोड दिन चाहेका छन् ।  नवप्रवर्तन अनिवार्य  'स्थापित एसियाली चिप उत्पादकहरूले एआइको तीब्रतर विकासको फाइदा लिन सक्छन् किनकि उनीहरू अझै नवप्रवर्तनशील छन्,' ह्यान्डीले भने ।   'यसले उनीहरूलाई नाफा दिन्छ, उनीहरू र उस्तै स्तरको खर्च र अनुसन्धान लगानी गर्न नसक्ने ती साना कम्पनीहरूबीचको खाडललाई यसले बढाउँछ,' उनले अगाडि भने । 'सोमबारको घोषणासँगै दक्षिण कोरियाली चिप उत्पादकहरूले आफूसँग भएको प्रशस्त नगदको उपयोग गरेर आफ्नो उत्पादन विविधीकरण गर्न चाहेका छन्,' सुले थपे ।   यसले उनीहरूलाई हालको आकर्षण क्षेत्र बनेको मेमोरी चिप निर्माणमा अत्यधिक निर्भर हुनबाट जोगाउँछ । अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ भन्छन्, जसले एक वस्तुको अस्थायी मूल्य वृद्धिको नकारात्मक प्रभावलाई जनाउँछ ।  तीब्रतर आर्थिक वृद्धि कि अवनति  एआई क्षेत्रको चकित पार्ने विकास गतिले सामसुङको शेयर मूल्य गत वर्ष ४३० प्रतिशतभन्दा बढी बढेको छ भने एसके हाइनिक्सको ७७० प्रतिशत बढेको छ । यसले एआईको तीब्रतर विकास कति समय टिक्छ भन्ने चिन्ता बढाएको छ ।  सुजस्ता केही विश्लेषकहरू एआई उपकरणहरू व्यवसायिक सञ्चालनमा गहिरिएर एकीकरण हुँदै गएकाले माग बलियो रहनेमा आशावादी छन् ।  'मेमोरी चिपका लागि अन्तिम बजारमा प्रभाव नपरेसम्म मूल्य बढ्न रोकिने कुराको कम सम्भावना छ,' ह्यान्डीले भने, 'यदि मूल्य अत्यधिक बढ्यो भने बजारले अर्को प्रविधितर्फ लाग्छ वा पूरै हराउँछ,तर हामी अझै त्यहाँ पुगेका छैनौँ ।' रासस 

एआईमा सामसुङले ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङले आगामी हप्ता करिब १० हजार खर्ब वन (करिब ६ खर्ब ५० अर्ब अमेरिकी डलर) बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको छ ।      यो लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको छ । राष्ट्रपति लीले सोमबार आयोजना गर्ने ‘नेसनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसुङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि सोही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना रहेको छ । दुवै कम्पनी कृत्रिम बौद्धिकतामा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन् ।      डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ । एआईको विस्तारले सामसुङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र सेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ ।      स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङको प्रस्तावित प्याकेजअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स निर्माणका लागि करिब तीन लाख अर्ब वन लगानी गरिनेछ । प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा पछाडि परेका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने लक्ष्य राखिएको छ ।      माइल बिजनेस न्युजपेपरका अनुसार योङ्गिनमा छवटा चिप उत्पादन केन्द्र निर्माणका लागि करिब ६ सय खर्ब वन विनियोजन गरिनेछ भने डाटा सेन्टर र एआई पूर्वाधार विकासका लागि करिब तीन हजार ५०० खर्ब वन लगानी गर्ने योजना रहेको छ । प्रस्तावित १० वर्षे खर्च योजना दक्षिण कोरियाको कुनै पनि निजी कम्पनीले सार्वजनिक गरेको सबैभन्दा ठूलो लगानी प्रतिबद्धता बन्नेछ ।      समाचारअनुसार राष्ट्रपति लीले यसै साता सामसुङका अध्यक्ष ली जे–योङसँग भेट गरी सेमिकन्डक्टर उद्योगमा लगानी विस्तारबारे छलफल गरेका थिए । उनले गत साता एसके समूहका अध्यक्ष चे ताए–विनसँग पनि भेटवार्ता गरेका थिए ।      सामसुङ इलेक्ट्रोनिक्सले गत वर्ष ४३६ खर्ब वन सञ्चालन नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको नाफा आगामी वर्षहरूमा अझ तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा तीन हजार खर्ब वन नाघ्न सक्ने अनुमान गरिएको छ भने आगामी वर्ष यो बढेर पाँच हजार ५०० खर्ब वनसम्म पुग्न सक्छ ।      राष्ट्रपतिका नीतिसम्बन्धी प्रमुख सचिव किम योङ–बीमले योङ्गिनस्थित सेमिकन्डक्टर परियोजनासम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार योजना अन्तिम भएपछि सम्बन्धित कम्पनी र सरकारी मन्त्रालयहरूले संयुक्त रूपमा जनतालाई विस्तृत जानकारी दिनेछन् ।      एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दक्षिण कोरियाले सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्न अभूतपूर्व लगानीको बाटो रोजेको छ । रासस