काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
सोमबार आयोजित कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् ।
विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त सहयोग जुटाइएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो ।
नेपाल टेलिकमका कर्मचारीहरूले यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका छन् ।
नेपाल टेलिकमले कर्मचारीहरूको सहयोगबाहेक कम्पनीको संस्थागत तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ । उक्त रकम केही दिनभित्रै कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
विपद्का बेला सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको पनि नेपाल टेलिकमले जनाएको छ।