आईएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, नेपालकै बलियो डिजिटल वालेट बन्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति दिएको छ । देशका दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत हुने यो कदम नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । यस एकीकरणपछि नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । गाभिएपछि खल्ती एपमार्फत सेवा दिने यस संयुक्त संस्थाले सबैभन्दा ठूलो चुक्ता पूँजी र ५० लाखभन्दा बढी प्रयोगकर्ताको आधारमा नेपालकै सबैभन्दा बलियो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ । यसले नेपालको फिनटेक क्षेत्रमा ठूलो फड्को मानिएको छ । अब सबै सेवा एकीकृत गरी खल्ती एपमार्फतै उपलब्ध हुनेछन् । दुवै वालेटका वर्तमान प्रयोगकर्ताले केवल एक क्लिकमा सजिलै नयाँ प्रणालीमा समाहित हुन सक्नेछन् भने नयाँ प्रयोगकर्ताले खल्ती एप डाउनलोड गरी अझ व्यापक सेवाहरू उपयोग गर्न सक्नेछन्। यस मर्जरले विशेषगरी ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास गरिएको छ । खल्ती एपले भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ । नगदरहित कारोबारको माग बढ्दै गइरहेका बेला डिजिटल वालेट दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । सहरी क्षेत्रमा सीमित रहेको विद्युतीय भुक्तानी सेवा अब गाउँघरसम्म विस्तार गर्ने यस कदमलाई निर्णायक मानिएको छ । आईएमई पे मात्र प्रयोग गर्नेहरूले पनि सजिलै खल्तीमा रूपान्तरण गर्न सक्नेछन् र सबै ब्यालेन्स तथा रिवार्डहरू सुरक्षित रहनेछन् । यो रणनीतिक सहकार्यले फिनटेक क्षेत्रमा प्रतिस्पर्धा र नवीनतालाई अझै तीव्र बनाउने, लगानी र प्रविधिको विकासलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । डिजिटल भुक्तानीमा पहिलो मर्जर, खल्ती र आइएमई पेले गरे सम्झौता
रिफरबिस्ड फोनमा ग्राहकको आकर्षण, ब्राण्ड बन्दै ‘सबको फोन’
काठमाडौं । प्रविधिको तीव्र विकाससँगै आजको दिनमा हरेक कुरा ‘स्मार्ट’ बन्दै गएको छ । बजारमा नयाँ–नयाँ सूचना र प्रविधि भित्रिएसँगै हामीले त्यसलाई प्रयोग नगरी सुखै छैन । प्रविधिसँगै जोडिएको छ ‘स्मार्टफोन’ । जुन आज हरेक मान्छेको लागि अतिआवश्यक वस्तु बन्दै गएको छ । मोबाइल फोन अतिआवश्यक वस्तु बन्दै गए पनि सबै मानिसले महँगो र प्रिमियम फोन किन्न सक्ने अवस्था भने बनिसकेको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार अझै पनि २६.८ प्रतिशत जनसंख्यामा मोबाइल फोनको पहुँच छैन । यद्यपि यो तथ्यांक चार वर्ष अघिको हो । यो बीचमा यो संख्या घटबढ हुनसक्छ । नयाँ, महंगो र प्रिमियम क्वालिटीको मोबाइल किनेर प्रयोग गर्न नसकेपनि विकल्पको रूपमा ‘सेकेण्ड ह्यान्ड’, ‘रिफरबिस्ड’ फोन बन्दै गएको छ । पछिल्लो समय ‘रिफरबिस्ड’ ‘सेकेण्ड ह्यान्ड’ मोबाइल फोन प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गएको छ । किफायती मूल्यमा ब्राण्डेड स्मार्टफोन पाएसँगै नयाँ फोनभन्दा ग्राहकको लागि रिफरबिस्ड फोन विकल्प बन्दै गएको हो ।सेकेण्ड ह्यान्ड, रिफरबिस्ड फोनतर्फ ग्राहककको झुकाव बढेसँगै विभिन्न मोबाइल फोनसँग सम्बन्धित कम्पनीहरूले सो सुविधा दिन थालेका छन् । सेकेण्ड ह्यान्ड फोनको सुविधा व्यक्ति, मोबाइल पसलबाटै सहजै लिन सकिने भएपनि रिफरबिस्ड फोनको सुविधा भने निकै कम कम्पनीले दिँदै आएको छ । रिफरबिस्ड फोनको लागि हामीमध्ये धेरैले सुनिँदै र रोज्दै आएको कम्पनी हो ‘सबको फोन’ । लोकप्रिय ब्राण्ड बन्दै ‘सबको फोन’ आजभन्दा पाँच वर्षअघि अर्थात सन् २०१९ मा नेपालमै पहिलोपटक स्थानीय स्तरमा रिफरबिस्ड मोबाइल फोन कम्पनीको रूपमा सुरु भएको सबको फोन आजको दिनमा आइपुग्दा ग्राहकमाझ लोकप्रिय बन्दै गएको छ । कम्पनीका को-क्रियटर हुन् उत्तम काफ्ले । त्यतिबेला स्थानीयस्तरमा रिफरबिस्ड फोनको अवधारणा आइसकेको थिएन । स्थानीयस्तरमा रिफरबिस्ड फोनको अवधारणा भित्र्याउने पहिलो कम्पनी नै सबको फोन भएको कम्पनीका को–क्रियटर काफ्ले बताउँछन् । नेपाली बजारमा प्रयोगमा आइसकेको मोबाइल फोनलाई पुनः प्रयोगमा ल्याउने उद्देश्यसहित कम्पनीको स्थापना भएको उनले सुनाए । उत्तम काफ्ले प्रिमियम क्वालिटीको फस्ट ह्याण्ड फोन प्रयोग गर्न नसक्नेलाई त्यसको विकल्पमा एक पटक प्रयोग गरिसकेको रिफरबिस्ड फोन उपलब्ध गराउने उद्देश्यसहित कम्पनी सुरु गर्याैं,’ उनले भने, ‘त्यससँगै एकपटक प्रयोग गरिसकेको फोन डम्पिङ साइटमा जान नदिएर त्यसलाई दक्ष प्राविधिकमार्फत नयाँ जस्तै बनाएर कम्पनीको लोगो, नाम, चार्जर बक्समा हालेर ‘वारेन्टी’ सहित बिक्री गर्ने हाम्रो उद्देश्य हो ।’ यसले एकातिर क्वालिटीको फोन बोक्ने ग्राहकको इच्छा पनि पूरा हुने अर्कोतिर वातावरण प्रदूषण कम गर्न सहयोग पुग्नुका साथै चक्रीय अर्थतन्त्रलाई टेवा पुग्न मद्दत पुग्ने उनले बताए । ग्राहकलाई चित्तबुझ्दो सेवा दिन सकेकै कारण आज सबको फोन ग्रोइङ ब्राण्डको रूपमा स्थापित बन्दै गएको काफ्ले सुनाउँछन् । उनले भने, ‘आजको दिनमा आइपुग्दा सबको फोन ग्रोइङ ब्राण्डको रूपमा स्थापित बन्दै गएको छ । रिफरबिस्ड मोबाइल फोन इन्डस्ट्रीमा मान्छेले हामीलाई पायोनियर भनेर चिन्नुहुन्छ ।’ हुन त पछिल्लो समय फोन एक्सचेञ्जलाई अफिसियल गर्ने भनेर अरू कम्पनीहरू पनि आएका छन् । ती कम्पनीहरू रिफरबिस्डको लागि भन्दा पनि नयाँ फोन बिक्री गर्ने र पुरानो फोन एक्सचेञ्जको लागि मात्रै खोलिएको काफ्ले सुनाउँछन् । पूर्ण रूपमा स्थानीय रिफरबिस्ड फोन तयार गरेर ब्राण्ड नै बनाएर लैजाने कम्पनी भने सबको फोन मात्रै भएको उनको भनाइ छ । पाँच वर्षअघि ‘सबको फोन’ के हो भनेर चिनाउनुपर्ने चुनौती कम्पनीलाई थियो । नेपालमा पहिलो पटक स्थानीय रिफरबिस्ड कम्पनी दर्ता गर्दैगर्दा धेरैले यसको उद्देश्य बुझेका थिएनन् । ग्राहकलाई समेत रिफरबिस्ड फोन भनेको के हो बुझाउनुपर्ने जिम्मेवारी कम्पनीलाई थियो । त्यतिबेला धेरैले रिफरबिस्ड फोन भनेको सेकेण्ड ह्यान्ड भनेर बुझ्ने गरेको र त्यसलाई चिर्न नै समय लागेको अनुभव काफ्लेले सुनाए । अहिले विस्तारै ग्राहकहरूले रिफरबिस्ड फोनबारे बुझ्न थालेको र कम्पनीप्रति ग्राहकको विश्वास बढ्दै गएको हुँदा त्यसले ठूलो सन्तुष्टि मिलेको बताउँछन् उनी । ‘हामीले शून्यबाट सुरु गरेको कम्पनी आज यहाँसम्म आइपुगेको छ, ७/८ जनाको टिम छ, वर्षमा हजारौं फोन रिफरबिस्ड गरेर बिक्री गर्छौं, त्यो हेर्दा सन्तुष्टि मिल्छ,’उनले भने । इमान्दारिताका साथ ग्राहकको आवश्यकतालाई बुझेर गुणस्तरीय सेवा दिएको कारण कम्पनी आज यहाँ पुगेको उनको भनाइ छ । कम्पनी ललितपुरका सानेपामा भए पनि आज देशका विभिन्न जिल्लाबाट फोनको लागि अर्डर आउने गर्छ । उनी भन्छन्, ‘इलाम, भोजपुर तेह्रथुमदेखि पश्चिमममा धनगढी कैलालीसम्मको अर्डर आउँछ ।’ कम्पनीप्रति ग्राहकले देखाएको विश्वास र भरोसाले थप अघि बढ्न प्रेरणा मिलेको काफ्ले सुनाउँछन् । सबको फोनमा उपलब्ध सेवा सबको फोनले घरमै बसिबसी मोबाइल किनबेच गर्न सक्ने सुविधाका साथै बिग्रेका मोबाइलको मर्मत सेवा प्रदान गर्दै आएको छ । सबको फोन यस्तो एउटा प्लेटफर्म हो, जहाँबाट ग्राहकले यी तीन प्रकारका सुविधा एकै ठाउँबाट लिन सक्छन् । ग्राहकले सबको फोनको वेबसाइटबाट आफ्नो फोनको मूल्य पत्ता लगाउन सक्छन् । अनलाइनबाटै आफूले प्रयोग गरिरहेको फोन बेच्न सक्ने सुविधा पनि छ । ग्राहकले चलिरहेको फोनदेखि बिग्रेको (स्क्रीन फुटेको, ब्याट्रीको समस्या, पानी पसेर बिग्रेको लगायत) फोन बिक्री गर्न सक्छन् । ग्राहकले बेच्न चाहेको मोबाइल सबको फोनले उचित मूल्यांकन गरी बजारमा चलेअनुसारको मूल्य दिने काफ्ले बताउँछन् । उनका अनुसार कम्पनीले पाँच वर्षभन्दा पुरानो फोन भने लिने गरेको छैन । अर्को सेवा रिफरबिस्ड गरिसकेको फोन बिक्री । कम्पनीले ग्राहकहरूबाट किनेको फोनहरूलाई प्राविधिक टिम प्रयोग गरेर मोबाइलमा के–के समस्या छन् भनेर जाँच गर्ने, समस्या देखिए त्यसलाई मर्मत गर्ने र सबै ठीक छ भने ठीक छ भनेर प्रमाणित गर्नु नै रिफरबिस्ड हो । त्यही रिफरबिस्ड फोनलाई पुनः बिक्री गर्दै आएको छ । ग्राहकले ‘वारेन्टी’ सहित फोन किन्न सक्नेछन् । कम्पनीले रिफरबिस्ड फोन किन्दा ग्राहकलाई ६ महिनाको वारेन्टी प्रदान गर्ने गर्छ । त्यस्तै, बिग्रेको मोबाइल फोन मर्मत गर्ने ‘प्लेटफर्म’ हो सबको फोन । आफ्नो बिग्रेको मोबाइल बनाउने ठाउँ खोजिरहेका ग्राहकको लागि उपयुक्त विकल्प यो कम्पनी बन्न सक्छ । कम्पनीका को-क्रियटर काफ्ले मर्मत गर्दा गुणस्तरयुक्त पार्ट्सहरू प्रयोग गरिनुका साथै ग्राहकको गोपनीयतामा विशेष ध्यान दिने भएकाले ढुक्कले मोबाइल मर्मत गर्न सकिने बताउँछन् । ‘तपाईंको फोन बिग्रियो, हामी गुणस्तयुक्त पार्ट्सहरू प्रयोग गरेर पुनः मर्मत गर्छौं, तपाईंको मोबाइलभित्र आफ्नो व्यक्तिगत गोपनीयता होला, त्यो गोपनीयतालाई हामी सुरक्षित राख्छौं,’ उनले भने । बढ्दो प्रयोगकर्ता कम्पनी सुरु गर्दैगर्दा मान्छेले फोन किन्छ कि किन्दैन भन्ने डर काफ्लेलाई थियो । आजको दिनमा आइपुग्दा हजारौं संख्यामा उपभोक्ता बन्दा गर्व महसुस गर्छन् उनी । सबको फोनबाट किफायती मूल्यमा प्रिमियम क्वालिटीको रिफरबिस्ड फोन पाउने हुँदा पनि ग्राहकको क्रेज बढ्दै गएको उनको बुझाइ छ । ‘हामीले स्थानीय स्तरमै रिफरबिस्ड गरेको फोन एकदमै किफायती मूल्यमा उपलब्ध गराउँछौं, साथै हाम्रो इमान्दारिता र बिक्रीपछि पनि दिने सेवाले गर्दा ग्राहकहरू बढ्दै गएका छन्,’ उनले भने । काफ्लेका अनुसार रिफरबिस्ड फोन किन्दा नयाँको तुलनामा ५० देखि ८० प्रतिशतसम्म कम मूल्यमा ग्राहकले किन्न पाउँछन् । यद्यपि फोनको मूल्य मोडेलअनुसार पनि अन्तर पर्ने काफ्लेले बताए । ‘कुनै फोन तीन वर्षजति चलिसकेको छ भने अब किन्नेले तीन भागको एक भाग मूल्यमा किन्न पाउँछन्,’ उनले भने, फोन नयाँ छ भने नयाँ मूल्यको ३० देखि ४० प्रतिशतसम्म कममा पाउनुहुन्छ ।’ सबको फोनमा चार हजार रुपैयाँदेखि लाखसम्मको मोबाइल उपलब्ध छन् । त्यस्तै, मुख्य ब्राण्डका ८ सय भन्दा बढी मोडलहरू सबको फोनमा राखिएको छ । काफ्लेका अनुसार सबको फोनमा बढीजसो मोबाइलको क्वालिटी बुझेको, वातावरणमैत्री फोन बोक्नुपर्छ भन्ने चेतना भएको र फोनमा धेरै खर्च गर्नुहुँदैन भन्ने ग्राहकहरू आउने गरेका छन् । सबको फोनबाट मोबाइल लिने प्रायः साथी सर्कलबाट थाहा पाएर, कसैले सिफारिस गरेर आउने गरेका छन् । उनले भने, ‘यहाँ एउटा साथीले अर्कोले भन्दा, अर्कोले अर्कोलाई भन्दा यसरी जोडिने धेरै हुनुहुन्छ । हामीले विज्ञापन गरेर ल्याएको भन्दा पनि मान्छेले मान्छेलाई भनेर आउने ग्राहकहरू धेरै नै हुनुहुन्छ ।’ के हो रिफरबिस्ड फोन ? नेपालमा रिफरबिस्ड मोबाइल भन्नेबित्तिकै बिग्रेको, समस्या देखिएको फोन भन्ने बुझाइ रहेको पाइन्छ । यसलाई यसरी बुझ्न नहुने काफ्लेको तर्क छ । रिफरबिस्ड विशेषगरी दुई क्षेत्रमा प्रयोग गरिन्छ । एउटा एप्पल कम्पनीले ठूलो भोलुममा मोबाइल फोन उत्पादन गर्दा केही कमीकमजोरी देखिएको खण्डमा त्यसलाई एप्पलले सेलमा नराखेर छुट्टै राख्छ । त्यसलाई पछि आफैले र पार्टनर कम्पनीलाई रिफरबिस्ड गरेर मात्रै बिक्रीमा राख्ने गर्छ । दोस्रो बेचिसकेको वा चलाइसकेको फोनको क्वालिटी ठीक छ कि छैन, कहीँ समस्या छ कि छैन भनेर जाँच गर्नु रिफरबिस्ड हो । यसको अर्थ सबै रिफरबिस्ड फोन मर्मतको लागि जान्छन् भन्ने होइन, धेरै फोन क्वालिटी पास गरेर पुनः बिक्रीमा जान्छन्। स्थानीय रूपमा उत्पादित प्रडक्ट सबै रिपेयरमा जान्छन् भन्ने होइन । धेरै फोनले क्वालिटी टेस्ट पास गर्छन् केही समस्या छैन भने प्याकेजिङमा जान्छन् । केही फोन टेस्ट गर्दै जाँदा ब्याट्री, क्यामेरामा समस्या देखिन्छ भने समस्या देखिएको पार्ट्स मर्मत गरेर प्याकेजिङमा जाने हो । सबको फोनले पनि क्वालिटी टेस्टको क्रममा त्यस्ता समस्या देखिएको फोनलाई मर्मत गरी पुनः बिक्री गर्दै आएको छ । काफ्लेका अनुसार मोबाइल मर्मतको लागि आवश्यक पार्ट्सहरू स्थानीय स्तरबाट जुटाउँदै आएको छ । आवश्यक परेको खण्ठमा थानीय स्तरमा बेस्ट क्वालिटी पार्ट्सहरू जसले अफर गर्छ त्यहीबाट लिने गरेको छ । रिफरबिस्ड फोन सेकेण्ड ह्यान्ड होइन को-क्रियटर काफ्ले रिफरबिस्ड फोन र सेकेण्ड ह्यान्ड फोनमा ठूलो भिन्नता छ । सेकेण्ड ह्यान्ड फोन अनौपचारिक हुन्छ । जहाँ बढी व्यक्तिगत कारोबार हुन्छ । जसको कुनै रेकर्ड हुँदैन । बिल बिजक जारी भएको हुँदैन । सेकेण्ड ह्यान्ड फोनको क्वालिटी टेस्ट गरेको हुँदैन, जसको गुणस्तरमा निश्चित छैन । आज किनेर २ दिनपछि बिग्रिन सक्छ, दुई/तीन वर्षसम्म चल्न पनि सक्छ। तर रिफरबिस्ड फोनमा यस्तो नहुने काफ्लेको तर्क छ । उनका अनुसार रिफरबिस्ड फोनमा सुरुदेखि अन्तिमसम्म ट्र्याकिङ हुन्छ । कोसँग किन्ने, फोनमा के समस्या छ, केके मर्मत गर्नेदेखि बिक्रीसमेत फर्मल च्यानलबाट हुन्छ । यसमा ‘क्वालिटी’ को ग्यारेन्टी हुन्छ । अर्को महत्वपूर्ण के छ भने सेकेण्ड ह्यान्ड फोन लिँदा जोखिम बढी हुन सक्छ । किनकि सेकेण्ड ह्यान्ड लिँदा चोरी भएको वा गैरकानुनी मोबाइल हुन सक्छ । यसले भोलि कसैले मेरो फोन भनेर दाबी गर्न आएको खण्डमा समस्या हुन्छ । रिफरबिस्ड फोन कानुनी रूपमा मान्यताप्राप्त हुन्छ, यहाँ कुनै जोखिम मोल्नुपर्दैन । कानुनी झमेलामा पर्नु पर्दैन । को-क्रियटर काफ्ले सेकेण्ड ह्यान्ड फोन लिनुभन्दा रिफरबिस्ड फोन नै प्रयोग गर्न ग्राहकलाई सुझाव दिन्छन् । उनी अनौपचारिक रूपमा सेकेण्ड ह्यान्ड फोन लिर्नुपर्ने भएमा सुनिश्चित भएर मात्रै लिनुपर्ने बताउँछन् । ‘सेकेण्ड ह्यान्ड फोन लिने हो भने धेरै कुरामा विचार पुर्याएर मात्रै लिनुपर्छ, को सँग किन्दैछु, जोसँग किन्दै हुनुहुन्छ उसको आफ्नै हो कि होइन, बिल, बक्स छ कि छैन हेर्नुपर्छ । पसलेसँग लिँदै हो भने अनिवार्य बिल माग्नुपर्छ,’ उनी भन्छन् । ग्राहकको रोजाइमा आइफोन र सामसङ सबको फोनमा आउने ग्राहकहरूको रोजाइमा एउटै खाले फोन पर्दैन । कसैलाई बढी र्याम भएको मोबाइल रोजाइमा पर्छन् त कसैलाई ब्राण्डेड मोबाइल त कसैलाई सामान्य चल्ने । काफ्लेका अनुसार युवाहरूले गेमिङ फोन बढी माग गर्छन् भने कामकाजी व्यक्तिहरूको रोजाइमा ब्राण्डेड मोबाइल पर्छ । एक समूह जसलाई ब्राण्डेड चाहिएको छैन, सूचना सञ्चार गर्नका लागि प्रयोग गर्न मिल्ने भए पुग्छ । पछिल्लो समय ग्राहकहरुले प्रिमियम ब्राण्डका आइफोन र सामसङ मोडेलहरु बढी खोज्ने काफ्लेले बताए । यस्तो हुनुुमा व्यक्तिगत भन्दा पनि समाजले धेरै कुरा निर्धारण गरेको कारण मान्छेलाई प्रिमियम ब्राण्डको आइफोन, सामसङका मोडेलहरु बढी खोज्ने गरेको उनको अनुभव छ । पछिल्लो समय सामसङ, आइफोनको क्रेज बढ्नुमा रिफरबिस्ड फोनले पनि ठूलो भूमिका खेलको काफ्लेको दावी छ । अरू फोनको तुलनामा सामसङ र आइफोनको मूल्य बढी हुन्छ । सामान्य मानिसले दुवै फोन किन्न सक्दैनन् । उनीहरूले चलाउने भनेको कि त विदेशबाट आफन्तले उपहारको रूपमा पठाएको फोन प्रयोग गर्छन्, नभए यस्तै रिफरविस्ड फोन किनेर प्रयोग गर्छन्। रिफरबिस्ड आइफोन नयाँभन्दा सस्तोमा किन्न सकिने हुँदा एकातिर आइफोन बोक्ने इच्छा पनि पूरा हुने अर्कोतिर कम मूल्यमा पाइने । यसले गर्दा अहिले आइफोन बोक्नेहरूको संख्या बढ्दे गएको काफ्ले सुनाउँछन्। ग्राहकको रोजाइमा आइफोन र सामसुङ रोजाइमा पर्ने भएपनि बिक्रीको हिसाबले भने मिडियम रेञ्जका फोनहरू जाने गरेको उनले बताए । ‘सेल्सको हिसाबले धेरै फोनहरु मिडियम रेञ्जको जान्छन् । ३५ देखि ६० हजारसम्मका फोन लिने ग्राहक बढी छन्,’काफ्लेले भने ।
भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स, नेपालमा चर्चामै सीमित
काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् । पृथ्वीको निम्न कक्षका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिंकको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ । सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिङ्कका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए । ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भनेका छन् । यो भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणा पछि आएको हो । स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन् । भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएता पनि टेक उद्यमीको इलेक्ट्रिक सवारी साधन निर्माता टेस्लाले देशमा प्रवेशको तयारी गरिरहेको छ । भारत सरकारले केही साताअघि मात्रै भारतमा सेवा सञ्चालनका लागि स्टारलिंकलाई लेटर अफ इन्टेन्ट (एलओआई) जारी गरेको थियो । स्टारलिंकका उच्च पदाधिकारीहरु भारतमै पुगेर यो सम्झौता भएको हो । लाइसेन्सका लागि भारत सरकारले तय गरेका सर्त तथा निर्देशिकाअनुरूप व्यावसायिक सेवा सञ्चालन गर्न स्टारलिंक तयार भएपछि अनुमति दिइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अब स्टारलिंकले सेटलाइट इन्टरनेट सञ्चालन गर्न भारतमै कमाण्ड एण्ड कन्ट्रोल सेन्टरस्थापना गर्नुपर्नेछ । स्टार लिंकले नेपालमा पनि आउन खोजेको चर्चा भइरहेको छ । तर, सरकारको उदाशिनताले त्यो सम्भव हुन सकेको छैन । केही महिनाअघि मात्र स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो । टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच भर्चुअल सम्वाद पनि भएको थियो । त्यसपछि भने स्टारलिंक नेपाल आउने विषयमा कुनै चर्चा भएको छैन ।