स्मार्टच्वाइस टेक्नोलोजिज पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित
काठमाडौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित भएको छ । एससीटीले हालसालै पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणीकरण प्राप्त गरेको हो, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ । कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई– डीएसएस जस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएसजस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरेअनुरुप यस संस्था पीसीआई–डीएसएस प्रमाणित हुँदै आइरहेको छ ।
२ सय जनालाई इसेवामा रोजगारीको अवसर, १२ कक्षा पासले आवेदन दिन सक्ने
काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले देशभरका विभिन्न प्रदेशमा कार्य गर्नका लागि २०० जना बजार प्रतिनिधिको माग गरेको हो । इसेवाले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जनाको माग गरेको जनाएको छ । उम्मेदवारले न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । इच्छुक व्यक्तिहरूले आफ्नो बायोडाटा कम्पनीको इमेलमार्फत पठाउन सक्नेछन् ।
सेयर बजार र मोबाइल वालेटमा पनि ठगी, साइबर ब्यूरोले दियो यस्तो सुझाव
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।