आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएका छन् । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बसनारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।

लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा रमाउँदै बालबालिका

काठमाडौं । लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा बालबालिका अभिनय कार्यशालामा रमाइरहेका छन्र  । हामी बालबालिका हौं, देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौ’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो । कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भइरहेको लिटल थिएटर ग्यारेजका ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी भएका हुन् । थिएटरका विभिन्न खेल तथा क्रियाकलापहरु मर्फत अभिनयको साथमा उनीहरुको व्यक्तित्व विकासका सघाउ पुर्याउने उद्धेश्य साथ कार्यशालाको ढाँचा तयार पारिएको छ । उनीहरुले कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भइसकेका छन् । कार्यशालाको अन्तिम दिन उनीहरुले अतिथि र अभिभावकका माझ ३ वटा नाट्य प्रस्तुति दिँदैछन् । साथमा कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि रहनेछन् । हरेक वर्ष चैत २० गतेबाट सुरु हुने १५ दिने कार्यशाला बैशाख ७ मा सम्पन्न हुनेछ । बालरंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसीसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्चलाई चेतनासहित स्थापना गर्न लागिरहेका युवा रंगकर्मी केदार श्रेष्ठको नेतृत्वमा कार्यशालाले सनरन्तरता पाइरहेको छ । उनी आयोजक संस्थाका कला निर्देशक पनि हुन् । साथमा युवा कलाकर्मीहरु इलिना नकर्मी, सञ्जिता पराजुली, सविर चुरौटै, अरुण पौडेल, सुजन महत, सुजिता महर्जन छन् । नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुन नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसहित कीर्तिपुरमा पुनःस्थापना भएको थिएटर मलले यही महिनाबाट नियमित नाटक मञ्चन थाल्दैछ ।

साढे सात लाख स्मार्ट लाइसेन्स वितरण, तर कार्ड पढ्न ट्राफिकसँग एउटै मेसिन छैन

काठमाडौँ । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन् । साढे सात लाख वितरण भएका छन्, तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन । अहिले सञ्चालन भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभागमा । त्यसो त स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार सयवटा कार्ड रिडर मेसिन उपलब्ध गराइसकेको छ । तर, सफ्टवेयरलगायत आवश्यक प्राविधिक व्यवस्थापन नहुँदा कार्ड रिडर यातायात व्यवस्था विभागमै थन्क्याइएको छ । साढे सात लाख प्रयोगकर्ताको हातमा स्मार्ट कार्ड पुर्‍याइसकेको यातायात व्यवस्था विभाग बल्ल सफ्टवेयर निर्माणका लागि टेन्डर खोल्ने तयारीमा लागेको छ । ‘मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार सयवटा कार्ड रिडर उपलब्ध गराएको छ । तर, प्रयोगमा ल्याउन सकिएको छैन,’ यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, ‘कार्ड रिडरमा प्रयोग हुने सफ्टवेयर तयार भइसकेको छ, त्यसैले विभाग र प्रहरी प्रधान कार्यालयमा दुई रिडर सञ्चालनमा छन् । तर, अन्य ठाउँमा कहाँ–कहाँ रिडर राख्ने नै निश्चित भएको छैन । रिडर सञ्चालनका लागि आवश्यक इन्टरनेट, कम्प्युटरलगायत प्राविधिक व्यवस्थापन भएको छैन । लाइसेन्स जाँचका लागि आवश्यक मोबाइल एप्स पनि छैन । एप्स निर्माणका लागि चाँडै टेन्डर आह्वान गर्ने तयारी छ । करिब २० लाखमा एप्स तयार हुन्छ । यो एप्समार्फत जो–कसैको लाइसेन्स जाँच गर्न सकिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।