एक मेडिकल व्यवसायीको अद्भुत समाजसेवा

आठ दिनको शिशुदेखि ९५ वर्षका वृद्धसम्मलाई आश्रय

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा अवस्थित बर्दगोरिया धाम परिसरमा सञ्चालित असहायका लागि सहयोगी हातहरू सहारा घरको परिसरमा अहिले हरियाली छ । 

चारैतिर सयपत्री, मखमलीलगायत विभिन्न थरीका फूल फुलेका छन् । अग्ला केराका बोटसँगै रक्तचन्दन, रुद्राक्ष र अन्य बहुमूल्य मानिएका रूखबिरुवा हुर्किरहेका छन् । कुनै समय उजाड र सुख्खा देखिने यो ठाउँ अहिले बगैंचाजस्तै बनेको छ ।

यही परिसरमा एक सयभन्दा बढी असहाय, अशक्त, अपाङ्गता भएका, परिवारबाट अलग पारिएका र सहाराविहीन व्यक्तिहरूले आश्रय लिइरहेका छन् । कोही जीवनको अन्तिम चरणमा छन्, कोही बाल्यकालमै सहाराको खोजीमा यहाँ आइपुगेका छन् । उनीहरूका लागि यो ठाउँ बस्ने आश्रय मात्रै होइन, जीवनको कठिन मोडमा भेटिएको सहारा पनि बनेको छ ।

null

यो ठाउँलाई हराभरा र सयौं बेसहाराहरूको आश्रयस्थल बनाउन पेशाले मेडिकल व्यवसायी र समाजसेवी बलबहादुर विष्टको लामो संघर्ष छ । 

परिवारको साथ, सहयोगी हातहरूको योगदान र बेसहाराको पीडालाई आफ्नै जिम्मेवारी ठान्ने एउटा मानवीय सोचले याहाँसम्म पुगेको विष्ट बताउँछन् । 

उनका लागि सहारा घर निर्माण गर्नु केवल भवन बनाउनु वा केही व्यक्तिलाई खाना र लुगा उपलब्ध गराउनु थिएन । 

समाजले बेवास्ता गरेका मानिसलाई सम्मानपूर्वक बाँच्ने आधार दिने प्रयास थियो । तर घरबाट सुरु भएको यो यात्राले आजको अवस्था लिन सजिलो भने थिएन ।

आफ्नै घरबाट सुरु भएको यात्रा

आज सयौं मानिसको जीवनसँग जोडिएको सहारा घरको सुरुवात विष्टले आफ्नै घरबाट गरेका थिए । सुरुका दिन सम्झँदा अहिले पनि पीडा महसुस हुने उनी बताउँछन् । अभाव, सामाजिक अवरोध र निरुत्साहका बीच सेवा अभियान अघि बढाउनुपरेको उनको अनुभव छ ।

null

बलबहादुर विष्ट ।

‘सुरुमा घरबाटै काम थाल्दाका दिन सम्झँदा अहिले पनि पीडा हुन्छ । धेरै दुःख, अवरोध र अपमान सहनुपर्यो । समाज र परिवारसँग मात्रै होइन, आफैसँग पनि संघर्ष गर्नुपर्ने अवस्था थियो,’ उनी भन्छन् ।

उनका अनुसार सुरुवाती दिनमा खानाका लागि नुनसमेत नहुने अवस्था थियो । आवश्यक खानेकुरा जुटाउनै कठिन हुन्थ्यो । अहिले सहयोगी हातहरू थपिएका छन् । अभाव अझै रहे पनि दैनिक व्यवस्थापन गर्न सकिने अवस्था बनेको छ । तर त्यसका लागि निरन्तर सहयोग जुटाउनुपर्ने बाध्यता भने कायमै छ ।

विष्टको अनुभवमा समाजबाट प्रोत्साहन र निरुत्साह दुवै मिल्छ । कसैले हौसला दिन्छन्, कसैले कामको आलोचना गर्छन् । कठिनाइ पार गर्दै संस्था यहाँसम्म आइपुगे पनि चुनौती सकिएका छैनन् ।

‘अहिले एउटा ठाउँमा पुगेका छौं । यहाँसम्म पुर्याउन समाजको सहयोग पनि रह्यो । । तर जुन समाजले माथि पुर्याउन सहयोग गरेको छ, त्यही समाजले तल झार्न पनि बेर लाउँदैन,’ उनले भने ।

आठ दिनको शिशुदेखि ९५ वर्षका वृद्धसम्म आश्रित 

सहारा घरमा अहिले एक सय बढी आश्रित छन् । उनीहरू सबैको अवस्था र आवश्यकता एउटै छैन । आठ दिनको शिशुदेखि ९५ वर्षसम्मका वृद्धवृद्धा यहाँ आश्रित रहेको विष्ट बताउँछन् ।

कोही परिवारविहीन छन्, कोही शारीरिक रूपमा अशक्त छन् । कोही अपाङ्गता भएका व्यक्ति छन् भने कोही सामाजिक दुव्र्यवहार र हिंसाका कारण परिवार तथा समाजबाट टाढिन बाध्य भएका छन् । महिला, बालबालिका र विभिन्न कारणले असुरक्षित अवस्थामा पुगेका व्यक्तिहरूले पनि यहाँ आश्रय पाएका छन् । 

दुर्घटनापछि बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई उद्धार गरेर ल्याउने गरिएको छ । कतिपयलाई स्थानीय तह वा अन्य व्यक्तिले पनि सहारा घरसम्म पुर्याउँछन् । विष्ट आफैले पनि असहाय अवस्थामा रहेका मानिस देखेपछि उद्धार गरेर ल्याउने गरेको बताउँछन् ।

null

‘कम्तीमा एक छाक खाना र एकसरो कपडाको अभावमा कसैले दुःख भोग्न नपरोस् । यी मानिसहरूलाई के कारणले दुःख भयो भन्नेभन्दा पनि दुःखमा उनीहरूको साथ र सहयात्री बन्नु हाम्रो काम हो,’ विष्ट भन्छन् ।

सहारा घरले हालसम्म करिब पाँच सय जनालाई परिवारमा पुनःस्थापना गरिसकेको उनको भनाइ छ । उनीहरू सबै पूर्ण रूपमा निको भएरै फर्किएका भने होइनन् । कतिपयलाई परिवारसँग पुनर्मिलन गराउने र सम्भव भएसम्म पुनःस्थापनाको वातावरण बनाउने काम गरिएको उनले बताए ।

यस अवधिमा सहारा घरमा आश्रित ४५ जनाको मृत्यु भएपछि दाहसंस्कारसमेत गरिएको विष्ट बताउँछन् । परिवारको साथ र सुरक्षित आश्रयबाट टाढा रहेका व्यक्तिको जीवनको अन्तिम संस्कारसमेत आफैले गर्नुपर्दाको पीडा उनले भोगेका छन् ।

‘परिवारमा पुनःस्थापना हुँदा खुसी लाग्छ । मेरो कारणले कसैले परिवार पायो, कसैले उपचार पायो भन्ने लाग्छ । तर कसैको दाहसंस्कार गर्नुपर्दा निकै पीडा हुन्छ,’ उनी भन्छन् ।

उनका लागि सफलताको अर्थ संस्था ठूलो हुनु वा परिसर हराभरा देखिनु मात्रै होइन । कसैलाई उसको परिवारसँग पुनर्मिलन गराउन सक्नु, उपचारमा सहयोग पुर्याउनु र असहाय व्यक्तिलाई केही सहज जीवन दिन सक्नु पनि उपलब्धि हो ।

धर्मस्थलमा मानव सेवाको अभ्यास

बर्दगोरिया धाम परिसरको अहिलेको हरियाली र संरचना हेर्दा यो ठाउँ कुनै समय उजाड र सुख्खा थियो भन्ने अनुमान गर्न कठिन हुन्छ । तर यो जग्गा सहारा घरको आफ्नै स्वामित्वमा छैन ।

विष्टका अनुसार यो बर्दगोरिया धामको धार्मिक क्षेत्रअन्तर्गत पर्ने जग्गा हो । सुरुमा धार्मिक वनसँग समन्वय गरेर केही ठाउँ उपलब्ध गराइएको थियो । त्यहीँबाट सहारा घरका संरचना विस्तार हुँदै गए । अहिले यहाँ बनेका टहरा र घरहरू अस्थायी बसोबासका लागि प्रयोग गरिएका छन् । संस्थाको आफ्नै नाममा जग्गा नभएको उनले बताए । 

जग्गाको स्वामित्व र प्रयोगलाई लिएर विवाद तथा आलोचना पनि हुने गरेको उनको भनाइ छ । मन्दिर परिसरमा असहाय र मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई राख्न नहुने भन्दै केहीले विरोध गर्ने गरेका छन् ।

तर, विष्टको बुझाइमा धर्मको सार मानव सेवासँग जोडिनुपर्छ । ढुंगाको मूर्तिप्रतिको आस्था आफ्नो ठाउँमा भए पनि दुःख, पीडा, जाडो, गर्मी र भोक महसुस गर्ने जीवित मानिसको सेवाको महत्व कम हुनु हुँदैन ।

उनले बर्दगोरिया धामको काखमा धर्म र कर्मलाई जोडेर मानव सेवाको अभ्यास गर्न खोजेको बताए । उनका लागि मानवता कुनै जात, क्षेत्र वा धर्मको सीमाभित्र बाँधिनु हुँदैन । मानिस जहाँको भए पनि उसको अस्तित्व र सम्मान उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

null

यही सोचले सहारा घरको परिसरलाई हराभरा बनाउने काममा पनि प्रेरित गरेको उनी बताउँछन् । यहाँ रोपिएका फूल र रूखबिरुवा केवल सौन्दर्यका लागि मात्र होइनन्, उजाड ठाउँलाई जीवन्त बनाउने प्रयासका प्रतीक पनि हुन् ।

यद्यपि विरोध र आलोचना अझै जारी रहेको उनी बताउँछन् । कसैले जग्गा उपलब्ध गराउने वा वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने अवस्था बने आफू मन्दिरको जग्गा छोड्न तयार रहेको उनको भनाइ छ । तर त्यसका लागि असहाय व्यक्तिहरूको बसोबास र सुरक्षाको सुनिश्चितता हुनुपर्ने उनको आशय छ ।

श्रीमतीको साथ, सहयोगी हातहरूको भर

समाजसेवाको यो यात्रामा विष्ट एक्ला छैनन् । उनकी जीवनसाथी लक्ष्मी पौडेलको साथ र सहयोगले उनलाई निरन्तर अघि बढ्न बल दिएको छ ।

विष्टका अनुसार एक दिनको शिशुलाई समेत स्वीकार गरेर स्याहारसुसार गर्न उनकी श्रीमतीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । नवजात शिशुको दिसापिसाब सफा गर्नेदेखि दैनिक हेरचाहसम्म उनले जिम्मेवारी सम्हालेकी छन् ।

उनकी श्रीमती उद्धार, पुनःस्थापना र आश्रितहरूको हेरचाहमा समेत सक्रिय रहने गरेको उनले बताए । संस्थाका कार्यसमिति सदस्य, सहयोगी र दिनरात सेवा गर्ने स्वयंसेवकहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

सहारा घरमा सेवा गर्नेहरूका लागि निश्चित समयको काम मात्रै छैन । यहाँ आश्रित व्यक्तिको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । त्यसैले स्वयंसेवकहरूले चौबीसै घण्टा सेवा दिनुपर्ने अवस्था रहने विष्ट बताउँछन् ।

यस अभियानमा दाताहरूको सहयोग पनि महत्त्वपूर्ण बनेको छ । कसैले चामल दिन्छन्, कसैले दाल, नुन वा तरकारी, कसैले नगद सहयोग गर्छन् भने कसैले उपचारका लागि रकम उपलब्ध गराउँछन् ।

अमेरिकामा बसोबास गर्ने एक नेपालीले एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराएपछि उद्धार र बिरामीलाई अस्पताल लैजाने काममा सहजता भएको विष्टले बताए । तर दाताको सहयोगमा निर्भर रहनुपर्ने अवस्था भएकाले भविष्यको व्यवस्थापन अझै चुनौतीपूर्ण छ ।

null

दिनमै ३० हजार रुपैयाँसम्म खानामा खर्च

सहारा घरमा बिहान र साँझको खानामै दैनिक करिब ३० हजार रुपैयाँसम्म खर्च हुने विष्ट बताउँछन् ।

सहयोगमा आएको चामल, दाल, तरकारी र अन्य खाद्य सामग्रीबाट खाना तयार गरिन्छ । दाताले जे उपलब्ध गराउँछन्, त्यसैअनुसार दैनिक व्यवस्थापन चलाउनुपर्ने अवस्था छ । कहिलेकाहीँ राम्रो खाना पनि उपलब्ध हुन्छ, तर नियमित रूपमा सबै आवश्यकता पूरा गर्न पर्याप्त स्रोत नहुने उनको भनाइ छ ।

खानाबाहेक औषधि उपचार, बिजुली र अन्य आवश्यकताका लागि पनि खर्च हुन्छ । आश्रित व्यक्तिको स्वास्थ्य अवस्था फरक–फरक हुने भएकाले उपचारको आवश्यकता पनि निरन्तर रहन्छ ।

‘यति ठूलो खर्च धान्न नियमित आम्दानीको स्रोत छैन । सहयोग प्राप्त भएका बेला दैनिक आवश्यकता पूरा हुन्छ, सहयोग कम भएका बेला व्यवस्थापनमा कठिनाइ आउँछ,’ उनले भने ।

दानसँगै पारदर्शिता पनि आवश्यक

सहारा घर दाताको सहयोगमा चलिरहेको भए पनि आर्थिक पारदर्शितालाई महत्त्व दिने गरिएको विष्ट बताउँछन् । संस्थाको लेखापरीक्षण हुने, साधारणसभा गरिने र प्राप्त रकमको हिसाब राख्ने गरिएको उनको भनाइ छ ।

नगद सहयोग गर्दा रसिद लिनुपर्नेमा पनि उनी जोड दिन्छन् । दानपेटिकामा संकलित रकमसमेत समितिका सदस्यहरू बसेर गणना गरी अक्षयकोषमा जम्मा गर्ने गरिएको उनले बताए ।

विष्टका अनुसार समाजसेवा गर्ने व्यक्तिमा पनि लोभलालच आउन सक्छ । त्यसैले असल नियतले काम गरिरहेको दाबी गर्नु मात्र पर्याप्त हुँदैन, आर्थिक हिसाबकिताब पनि स्पष्ट हुनुपर्छ । 

मेडिकल व्यवसायबाट आफ्नो जीविकोपार्जन गरिरहेका विष्टले सहारा घर सञ्चालन गरेकै कारण आफ्नो व्यक्तिगत जीवनशैलीमा ठूलो परिवर्तन नआएको बताउँछन् । 

साथीहरूले घर, गाडी र अन्य सुविधा जोडेको देख्दा आफूले त्यस्तो सम्पत्ति नजोडेको उनको भनाइ छ । तर त्यसलाई उनी त्यागको प्रदर्शनका रूपमा प्रस्तुत गर्न चाहँदैनन् । ‘मैले यो गरेँ भनेर ठूलो कुरा ठानेको छैन । यो त गर्नैपथ्र्यो भन्ने लाग्छ,’ उनी भन्छन् ।

राज्यको अभिभावकत्व कहिले ?

सहारा घरलाई व्यवस्थित र दिगो बनाउने जिम्मेवारी राज्यले पनि लिनुपर्छ भन्ने विष्टको अपेक्षा छ । उनका अनुसार अहिले केही संरचना अधुरा छन् । आश्रितहरूको स्वास्थ्य उपचार, दैनिक आवश्यकताको व्यवस्थापन र पूर्वाधार निर्माणमा निरन्तर चुनौती छ ।

स्थानीय तहबाट सहयोग भएको र नभएको दुवै अनुभव रहेको उनी बताउँछन् । तर सहारा घरले बर्दगोरिया धामको पहिचान र गतिविधिमा योगदान पुर्याइरहेकाले स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्मले यसको दीर्घकालीन व्यवस्थापनबारे सोच्नुपर्ने उनको धारणा छ ।

‘यो काम एउटा व्यक्ति वा संस्थाले मात्रै गर्नुपर्ने होइन । राज्यले यसको अस्तित्व स्वीकार गरेर अभिभावक बन्नुपर्छ,’ उनले भने । 

राज्यले गर्नुपर्ने सामाजिक संरक्षणको काम कुनै व्यक्तिले दान र भिक्षामा निर्भर भएर गरिरहनुपर्ने अवस्था दीर्घकालीन समाधान नभएको उनको तर्क छ । असहाय नागरिकको सुरक्षा, उपचार, आवास र पुनःस्थापनाका लागि स्पष्ट नीति तथा व्यवस्थापन आवश्यक रहेको उनी बताउँछन् ।

सहारा घरको जग्गा संस्थाको नाममा छैन । स्थायी पूर्वाधार र नियमित स्रोतको सुनिश्चितता पनि चुनौतीकै रूपमा छ । त्यसैले अहिलेको सेवा अभियानलाई भविष्यसम्म टिकाइराख्न राज्यको भूमिका महत्त्वपूर्ण हुने उनी औंल्याउँछन् । 

null

परिवारबाट टाढिएका व्यक्तिलाई पुनःस्थापित गराउँदा खुसी 

करिब १२ वर्षदेखि असहाय व्यक्तिहरूको सेवामा सक्रिय विष्टका लागि लागि खुसी क्षणिक अनुभूति हो । 

परिवारबाट टाढिएका व्यक्ति पुनःस्थापित हुँदा, कसैले उपचार पाएर सहज जीवन बिताउन थाल्दा वा कसैले नयाँ परिवार र सहारा पाउँदा भने उनलाई खुसी लाग्छ । तर आश्रित व्यक्तिको मृत्यु भएपछि दाहसंस्कार गर्नुपर्दाको पीडा त्यो खुसीभन्दा गहिरो हुन्छ । 

आश्रितहरूलाई सुरक्षित राख्न निगरानी आवश्यक भए पनि उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न नपाएको जस्तो महसुस हुन सक्ने चिन्ता पनि विष्टलाई छ । उनीहरूका लागि सुरक्षित आश्रयको व्यवस्था गर्नु र उनीहरूको स्वतन्त्रता तथा सम्मानको ख्याल गर्नु दुवै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘दुःखलाई पनि मैले खुसी सम्झिन सक्छु । जति बाँच्छु, त्यति दिन दुःख भोग्नुपर्छ । तर कसैलाई परिवारमा पुनःस्थापना गर्न सक्दा वा कसैको जीवन सहज बनाउन सक्दा खुसी लाग्छ,’ उनी भन्छन् ।

उनको अनुहारमा देखिने सन्तोषको पछाडि वर्षौँको संघर्ष छ । घरबाट सुरु भएको सेवा अभियान आज सयभन्दा बढी व्यक्तिको दैनिक जीवनसँग जोडिएको छ । 

उजाड र सुख्खा रहेको परिसरमा हरियाली फैलिएको छ । तर फूल फुल्नु र रूख हुर्कनुजस्तै यहाँ आश्रित मानिसको जीवनमा पनि स्थायित्व र सम्मानको वातावरण बनाउन निरन्तर प्रयास आवश्यक रहेको विष्ट बताउँछन्।

Share News