फेरि साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डेकाे भूमिका शंकास्पद

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३/७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहाेर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियाे । त्यस्तै, २०७४/७५ मा १ करोड ७८ लाख घाटामा गएको भएकाे वित्तीय विवरण उल्लेख छ । बस सञ्चालनमै घाटा दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३/७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । वार्षिक रुपमा बसहरुको संख्या थप्दै गएसँगै साझाको घाटा पनि थपिँदै गएको हो । साझाले जग्गा र भवनको भाडा तथा बसमा राखिएको विज्ञापनबापत आम्दानी गर्दा मात्रै खुद घाटाको आकार अघिल्लो वर्षको भन्दा कम भएको देखाएको हो । मुख्यतः बस सञ्चालन घाटा चुलिँदै जाँदा साझालाई फेरि विगतको जस्तै रुग्ण अवस्थामा पुर्याउने देखिएको छ । महानगर भित्र अधिक व्यस्त रुटहरुमा साझाले बस सञ्चालन गर्न अनुमति पाएको छ । ठूला बसहरु भएका कारण अन्य बसहरुको भन्दा तुलनात्मक रुपमा सञ्चालन लागत  कम छ । सरकारी अनुदानमा बसहरू किनिएकाेले न ऋणकाे व्याज तिर्नु परेकाे छ, न लगानीकर्तालाइ लाभांश दिनु परेकाे छ । साथै, सरकारले सित्तैमा दिएकाे जग्गा,  भवन र पार्किङस्थल र पेट्रोलपम्प साझाकाे स्वामित्वमा छ । यी पूर्वाधारबाट साझाले अतिरिक्त आम्दानी गर्दै आएकाे छ । यस्ताे अवस्थामा साझा यातायात पुन घाटामा जानुलाई सरोकारवालाहरुले व्यवस्थापकहरूकाे नियत र क्षमतामा प्रश्न गरेका छन् । तर चुलिँदै गएको घाटाका सम्बन्धमा साधारणसभामा समेत अध्यक्ष कनकमणि दीक्षितले न त कुनै चिन्ता व्यक्त गरे न त त्यसलाई सुधार्ने प्रतिवद्धता नै । ६ पृष्ठ लामो लिखित मन्तव्य दिएका उनले केही समय साझाको विगत र वर्तमानमा खर्चदा अधिकांश समय काठमाडौं महानगरपालिका लगायतका ‘दातृ’ निकायहको प्रशंसामा नै खर्चिए । बरु उनले काठमाडौं महानगरपालिकालाई पैसा थप्न लगाएर थप २० ओटा बस सञ्चालनमा ल्याउने घोषणा गरे । सञ्चालक र व्यवस्थापकको मिलेमतोमा ‘ठगी’ साझामा सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापनका प्रमुखको मिलेमतोमा घोटाला हुने गरेको स्रोतले जनाएको छ । साझालाई सेन्टिमेन्टसँग बेचेर आर्थिक लाभ उठाउन अध्यक्ष कनकमणि दीक्षित र प्रबन्धक महेन्द्रराज पाण्डेले संस्थालाई बन्धक बनाएको आरोप सरोकारवालाहरुले लगाएका छन् । ठूला डिलहरु अध्यक्षमार्फत गरेर मिडिया स्टन्ट फैलाउने र प्रवन्धकमार्फत् भित्रभित्रै संस्थालाई खोक्रो बनाउने योजनासहित लागेका कारण संस्था विगतकै स्थितिमा पुग्ने चिन्ता समेत साझा यातायातकै कर्मचारीहरुले गर्न थालेका छन् । दीक्षितहरुकै अव्यवस्था र बन्दीका कारण विगतदेखि नै साझाले दूरावस्था भोग्दै आएको थियो । यसै कारण करिब १३/१४ वर्षसम्म साझा पूर्ण रुपमा बन्द अवस्थामा रहन गयो । २०६९ देखि १६ ओटा बस किनेर पुनः सञ्चालनमा आएको साझा यातायातले बस थपिँदै जाँदा घाटा भने उचाल्दै लगेको हो । हाल साझामा चालक परिचालक बाहेक ४ जना स्थायी, १६ जना करार र ५ जना दैनिक ज्यालादारीमा कर्मचारी कार्यरत रहेकोमा करार र ज्यालादारीका कर्मचारीहरु समेत साझाको सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । उनीहरु साझाले आफूहरुमाथि श्रम शोषण गरेको अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् । महेन्द्र पाण्डे भन्छन्, ‘बस हेर्नुस्, आयव्यय किन चाहियो’ साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले सूचना लुकाउने प्रयास गरेका छन् । पाण्डेसँग साझा यातायातको साधारणसभाबाट पारित वित्तीय विवरणसम्बन्धी सूचना माग गर्दा  कनकमणि दीक्षितले महानगरपालिका र सरकारको भक्तिभावले ओतप्रोत गरेको मन्तव्य दिएर ‘यसैमा सबै छ, वित्तीय विवरण दिन मिल्दैन’ भन्दै सूचना लुकाउने प्रयास गरेका थिए । उनले आफ्नो कार्यालयबाट बाहिर निस्केर बसहरु देखाउँदै ‘बसहरु गुडिरहेका छन्, बन्दमा पनि सेवा दिइरहेका छौं, यतिभन्दा तपाईलाई किन चाहियो, यही लेख्नुस्’ भन्दै फर्काएका थिए । दीक्षितका विश्वासपात्र मानिएका पाण्डेले सूचनाको हकबमोजिम उपलब्ध गराउनुपर्ने सूचना समेत नदिएर सार्वजनिक निकायको गतिविधिको सूचना पाउने अधिकारबाट वञ्चित गराउने असफल प्रयास गरेका हुन् । स्थिर सम्पत्तिको चरम दुरुपयोग साझा सहकारीको नाममा हरिहरभवनमा २२ रोपनी जग्गा र अत्याधुनिक भवन छ । तर ती जग्गाहरुबाट साझाले गरेको अाम्दानी जम्मा १ करोड ४७ लाख रुपैंया मात्र हो । अघिल्लो वर्ष १ करोड ५१ लाख रुपैंया त्यस्तो आम्दानी गरेकोमा यो वर्ष यो आकार झन् घट्न पुगेको हो । साझाले नेपाल टेलिकम, साझा पसल लगायत ५ व्यक्ति तथा संस्थालाई उक्त जग्गा र भवन भाडामा दिएको छ । तर पुल्चोकको मुख्य भागमा रहेको त्यति मूल्यको सम्पत्तिको उचित रुपमा परिचालन गर्न नसक्दा त्यसको ह्रासकट्टी खर्चभन्दा पनि आम्दानी कम देखिन गएको हो । सर्भाइभलको ग्यारेन्टीविनै महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्मलाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित काठमाडौं उपत्यकाका केही स्थानीय तहले हतारो गरेका हुन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ । अरु स्थानीय तहले समेत काठमाडौंकै पदचाप पछ्याउँदै लगानीमा हतारो देखाएका हुन् । हाल चुक्ता पुँजी ४२ करोड ६८ लाख रुपैंया रहेको साझा यातायातमा तीन तहका सरकार वा तिनका निकायहरुको जम्माजम्मी ९९.२३ प्रतिशत शेयर छ । बाँकी ०.७७ प्रतिशत शेयरमध्ये जगदम्बा गुठी, जगदम्बा प्रेस, मदन पुस्तकालय, साझा सेवा पसल, सम्यक बचत तथा ऋण सहकारी लगायत संस्थाहरु र १५४ जना शेयर सदस्यहरु समेतको स्वामित्व छ । ९९.२३ प्रतिशत लगानी गरेकाे सरकारी निकायलाई गुमराहमा राख्दै ०.७७ प्रतिशत सेयरधरीले सरकारी कब्जामा लिएका छन् । साझामा शेयर भएका संघसंस्थाहरु सबै दीक्षित परिवारकै लगानी भएका संस्थाहरु हुन् । त्यस्तै व्यक्तिगत शेयरधनीको शेयर हिस्सा ५००० रुपैंया देखि १ लाख ८० हजार रुपैंयासम्म छ । महानगरले हाल भएको ३५ प्रतिशत शेयर हिस्सालाई बढाउनेगरी साझामा ठूलो लगानी गर्दैछ ।

केकी अधिकारी सिल्क वेयरको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौँ । नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्राण्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ब्राण्ड एम्बास्डरको लागि केकी अधिकारी र कम्पनीका निर्देशक राजन झाबीच सम्झौता आदान प्रदान भएको छ । यस्तै, सिल्क वेयर ब्राण्डको धाराका सामानहरु भने जोन्स इन्टरनेशल प्रालिले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना प्रोडक्टहरुमा १० वर्षको ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिइएको छ । उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्डलाई बिस्तार गर्न कम्पनीले आफुलाई रोजेकोमा निर्देशक झालाई धन्यवाद दिइन् । साथै सो ब्राण्डलाई लोकप्रिय बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् । विदेशी ब्राण्डलाई महङ्गो पैसा तिर्नु भन्दा विदेशी ब्राण्ड सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गरे ।

चन्द्रपुरमा बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम रौतहटको चन्द्रपुरमा सम्पन्नभएको छ । तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । इन्स्योरेन्सका प्रबन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम, कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ५० जना कृषि तथा पशु बीमा प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रौतहट शाखाका शाखा प्रमुख ओमराज निरौलाले गरेका थिए भने २ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक हुलाश यादव, केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरण गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडले फागुन महिनादेखि रौतहटको चन्द्रपुर शाखाबाट निर्जीवन बीमाको सम्पूर्ण कार्य गर्दै आएको छ ।