वृज सिमेन्टका ब्राण्ड एम्बेसडर श्रेष्ठद्धारा बनेपाको स्कुललाई फुटबल सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री वितरण कार्यक्रमबीच उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । यस विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथसाथ सहक्रियाकलाप अझ खेलकुद महत्वपुर्ण विषय रहेकाे बताएका छन् । साथै, उनले यस सार्वजनिक विद्यालयलाई फुटवल सामाग्री प्रदान गरेकोमा वृज सिमेन्टलाई धन्यवाद दिएका छन् । उनले निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्य कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने उनले बताए । यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उनले बताए ।
ग्लोबल सेपर्सद्धारा बुढानिलकण्ठको स्कुललाई नयाँ भवन हस्तान्तरण
काठमाडौं । ग्लोबल सेपर्सले बुढानिलकण्ठको गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन हस्तान्तरण गरेको छ । गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित विद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए । गोरखामा आएको भुकम्पले श्री गणेश सेकेण्डरी स्कुलको भवनमा धेरै क्षति पुर्याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षालाई ध्यानमा राखी नयाँ र आधुनिक सुबिधाका साथ उक्त भवनको निर्माण गरेको छ । उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल, एमसी ग्रुप कतार एयरवेज, एनआईसी एसिया बैंक र एनआईबिएल बैंक जस्ता विभिन्न संस्थाहरु बाट सहयोग लिएका थिए । भवन निर्माणको लागि अनलाईन क्याम्पियनबाट ठूलो धनराशील यूएसडी १५०,००० उठेको बैंकले जनाएको छ ।
क्लिन नेपालगञ्ज–ग्रीन नेपालगञ्ज, वार्षिक ८ करोड रुपैयाँ खर्च
नेपालगञ्ज/१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’ नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिशापिसाब गर्दैनन् । वस्तीमा नियमित सामूहिक सरसफाइ हुन्छ ।’ शहरको मुख्य बजार घरबारीटोलमा ढलको समस्या छ । व्यापारी जथाभावी सडकमा फोहर फाल्दैनन् । एकै ठाउँमा थुपारेको फोहर उपमहानगरपालिकाको ट्रयाक्टरले लैजान्छ । व्यापारी भानु गौतम भन्छन्, ‘सरसफाईमा उपमहानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति विस्तारै हट्दै गएको छ ।’ नगरका प्रायः मुख्य चोकमा ठेलामा कारोबार हुन्छ । ठेलाको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले ठाउँठाउँमा डस्टबिन राखेको छ । धम्बोझीचोकमा करिब २ दशकदेखि ठेलामा विरयानी बेच्दै आएका अख्तर अलि डस्टबिन प्रयोगबारे भन्छन्, ‘ग्राहकलाई जथाभावी फोहोर फाल्न दिन्नौँ । डस्टबिनमै हाल्न लगाउँछौँ ।’ सरसफाइ चेतना ल्याउन जनप्रतिनिधि सक्रिय छन् । नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु घरदैलो पुगेर फोहोर व्यवस्थापन सिकाइरहेका छन् । शौचालय निर्माणमा सहयोग, डस्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम जारी छ । चिडिमार कसरी सरसफाइ गर्न तयार भए त ? वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी ‘सामूहिक सरसफाई कार्यक्रम गरेर फोहर नगर्न र उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सघाउन गरेको आग्रह” लाई स्थानीयले हाम्रै लागि काम गरिरहेका छन् भन्ने महसुस गर्नुको प्रतिफल ठान्छन् । नागरिक पनि सरसफाइमा जुटेका छन् । २०७३ साल साउनदेखि उपमहानगरसँगको सहकार्यमा साप्ताहिक रुपमा क्लिन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज अभियान जारी छ । ‘नेपालगञ्जको परिचय नै फोहोरसँग जोडिन्थ्यो । सुन्दा दुःख लाग्थ्यो’, अभियन्ता डा. विनोद कर्ण भन्छन्, ‘शुरुमा अभियान थाल्दा झगडा गर्न आउनेहरुलाई हामीले गरेको फोहर हाम्रै लागि हानिकारक हुन्छ । यसले टोल र नगरको सुन्दरता बिगार्छ र स्वास्थ्य खराब पार्छ भन्ने चेतना दिन सफल भएका छौँ ।’ नगर सफा गर्ने अभियानमा उद्योगीव्यापारीको पनि साथ छ । न्यूरोडमा व्यापारीकै सरसफाई कर्मचारी छन् । नेपालगन्जमा सरसफाईसँगै हिलो, धुलो र धुवाँमुक्त गर्दै व्यवस्थित ढल र शौचालयको उचित प्रयोगतर्फ ध्यान दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठको सुझाव छ । नगर सरसफाइमा खुला दिशामुक्त अभियानको पनि देन छ । नालामा जोडिएका सेफ्टि ट्यांकी हटाउन, नालामा फोहोर फाल्न नदिन समुदायलाई नै सक्रिय बनाइएको छ । विपन्नलाई शौचालय बनाउन सहयोग, शौचालय नबनाउने र खुला स्थानमा शौच गर्नेलाई कारबाही भइरहेको छ । अभियानका फोकल पर्सन ओविराज आचार्य अभियान थाल्दाको अनुभव सुनाउँछन्, ‘एकथरीसँग घर, जग्गा र गाडी भए पनि शौचालय थिएन । बनाउनुपर्छ भन्ने चेतना पनि थिएन । अर्को थरी जग्गा, पैसा र चेतना तिनै चिजको अभाव थियो ।’ उपमहानरपालिका दिशामुक्त घोषणा भइसकेको छ । उपमहानगरपालिकाले सरसफाइमा वार्षिक ८ करोड रुपैयाँ खर्च गर्छ । १०४ जना स्वीपर र ७ वटा ट्रयाक्टर खटाइन्छ । दैनिक ३५ टन फोहोर संकलन हुन्छ । स्थान अभावमा अहिले ३२ टन मात्रै व्यवस्थापन हुने गरेको छ । फोहार दीर्घकालिन व्यवस्थापन गर्न हिरमिनीयामा ल्याण्ड फिल्ड साइट निर्माणको काम अन्तिम चरणमा छ । वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी नगरवासीमा सरसफाईप्रति जागरण बढेको देख्छन् । ‘डेढ वर्ष अघिसम्म फोहोर नगरपालिकाले सफा गरिदिने हो ठान्थे प्रवृत्ति फोहोर व्यवस्थापनमा चुनौती थियो । तर अहिले आफै फोहोर व्यवस्थापन गर्ने जनजागरण आएको छ’, भन्छन्, ‘उपमहानगर ५ वर्षे वातावरणमैत्री रणनीतिक योजना बनाइरहेको छ । सरसफाई, जलवायु अनुकुलन, वातावरण सन्तुलन लगायतका विषय समेटिनेछन् । फोहोर र ढल व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाईयुक्त बनाउने हाम्रो लक्ष्य हो ।’ नगरका घरघरमा सरसफाइ चेतना आएको छ । नेपालगञ्ज–१८ कि निर्मला केसी भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउँछिन् । कुहिने फोहोर कुहाएर मल बनाउँछिन् । प्लाष्टिकका झिल्ली पुनः प्रयोग गर्छिन् । काम नलाग्ने फोहोर मात्र फोहर बोक्ने ट्रयाक्टरमा हाल्छिन् । ‘आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो । घरको फोहर घरमै व्यवस्थापन गरे आधा समस्या समाधान हुन्छ ।’ नेपालगञ्ज–७ का वडाध्यक्ष जुमन खाँ नगरवासीको जागरणमा ४० प्रतिशत सुधार आएको दाबी गर्छन् । नगरवासी पनि सरसफाइमा परिवर्तन अनुभूति गर्नथालेका छन् । ७५ वर्षीय कृपाराम वर्मा सरसफाईमा जागरण नै आएको ठान्छन् । ‘शौचालयमा मात्रै शौच गर्ने बानी बस्नु पनि धेरै ठुलो प्रगति हो ।’ स्राेत-नेपालगञ्ज उपमहानगरको ‘शहर फिचर सेवा’