मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान व्रत शुरु
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौँ महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरु गरिएको यो पर्वलाई हाल रमजान पनि भनिन्छ । रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्योदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् । सूर्योदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ । यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । गरीब, दीनदुःखीलाई दान गर्छन् । हिजरी पात्रो अनुसार महिना प्रायः २९ वा ३० दिनका हुन्छन् । यो महीनाको २९औँ दिन बेलुकी चन्द्रमा देखियो भने ३० औँ दिन इद पर्व पर्छ । ३०औँ दिन बेलुकी चन्द्रमा नदेखिए पनि ३१औँ दिन अर्को महीना शुरु हुने भएकाले इद पर्व मनाइन्छ । यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम छन् । मुस्लिम समुदाय ७७ वटै जिल्लामा फैलिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ । रासस
चलचित्र क्षेत्रमा लगानीः ‘पहिले धौ–धौ, अहिले नाफा’
विनायक तामाङ कला क्षेत्रमा परिचित नाम हो । उहाँ ८ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर लागिरहनु भएको छ । अभिनयसँग उहाँ चलचित्र निर्देशनमा पनि सक्रिय हुनु भएको छ । कलाकारिता र चलचित्र क्षेत्रका बारेमा निर्देशक तामाङ्गको कुराकानी: यो रङ्गिन दुनियाँमा आउनका लागि तपाईँलाई कस्ले प्रेरित गर्यो ? बच्चैदेखि यो क्षेत्रमा आउन उत्सुक थिएँ, कसरी फिल्म बन्छ भन्ने थियो, एसएलसी सकेपछि विस्तारै यस क्षेत्रमा लागेँ । ८ वाट फिल्ममा अभिनय गर्दै गर्दा पछिल्लो समय निर्देशकसम्म आईपुग्दा पहिलो चलचित्रलाई कसरी समीक्षा गर्नु हुन्छ ? युवराज लामिछानेसँग काम गर्दागर्दै पहिलो फिल्म ‘मनको पिडा’देखि आज ८औं फिल्म ‘यो जिन्दगीको साथी’ (तामाङ भाषामा ल्हूई हो) सम्म आइपुग्दा पहिलाको फिल्म निर्माणमा धेरै कमि कमजारी भेटेको छु । यो क्षेत्र भनेको जति काम गर्दै गयो उति नै आफुलाई सुधार्ने अवसर प्राप्त हुने कुरा बुझ्दै अगाडि बढ्ने क्रममा रहेको छु । तामाङ्ग भाषामा आधारित भई कति वटा फिल्म निर्माण गर्नु भयो ? ५ वटा फिल्म तामाङ्ग भाषामा आधारित भएर निर्माण गरेँ, जसमा सेमला दुङ्गाल, चु माया, डम्फु रे, मैच्याङ्ग, जो जो आले, आमिला झामे, र पछिल्लो समयमा सेमा रो भन्ने फिल्म निर्माण गरेको थिए, जसमा आधा नेपाली आधा तामाङ्ग भाषामा रहेका थियो । अबका दिनमा पूरै फिल्म नेपाली भाषामा नै निर्माण हुनु पर्छ भन्ने लक्ष्यको साथ नेपाली फिल्म क्षेत्रमा विनायक तामाङ्ग नामलाई चिनाउनका लागि यी कदमहरु चाल्दैछु । फिल्म क्षेत्रमा लगानी गर्दा के कस्तो भईरहेको छ ? यस क्षेत्रमा लगानी गर्दा शुरुवातको समयमा लगानी उठाउन धौ–धौ पर्ने गर्थो भने आजभोलि लगानी उठाएर केही नाफा कमाउन सक्ने अवस्था छ । काम गर्नु भएको ८ चलचित्र मध्ये कुनलाई राम्रो(उत्कृष्ट) मान्नु हुन्छ ? पछिल्लो समय प्रदर्शन भएको ‘मनको साथी’ ५१ वटा हलहरुमा एकैसाथ प्रदर्शन भई राम्रो प्रतिक्रिया आएको थियो । हाल निर्माण रहेको चलचित्र तामाङ्ग समुदायलाई लक्षित गरेर समाजमा भएका घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । खास चुनावी समयमा समाजको चहलपहलका साथै राजनीतिक गतिविधि एवम् चुनाव पछिको अवस्थालाई फिल्म मार्फत चित्रण गरिएको छ । साथै प्रेममा आधारित रहेको छ। उक्त फिल्ममा विनायक तामाङ्ग, विजय तामाङ्ग, संगिता दोङ्ग, बुद्ध तामाङ, सूर्य, सोनी दोङको अभिनय रहेको छ । चलचित्रको निर्मातामा सञ्चकुमारी तामाङ र कार्यकारी निर्मातामा ध्रुवसिंह तामाङ रहेका छन् । यो क्षेत्रमा काम गर्दा आफ्नो नाम टिकाउन र आफुलाई बजारमा स्थापित गर्नका लागि धेरै चुनौतीहरु आउने गर्दछन् । जसका कारण धेरै कुरा र अवस्थाको सामना गर्नु पर्ने अवस्था सिर्जना हुने गर्दछ । यस क्षेत्रमा लाग्दा के आम्दानी गर्न सहज छ त ? आर्थिक क्षेत्रमा आफुलाई उच्च बनाउन सकिन्छ त भन्दिन्, तर साधारण जिन्दगी बिताउन गाह्रो छैन् । क्षेत्रमा राम्रो प्रस्तुती देखाउन सकियो भने नाम र दाम दुवै कमाउन सकिन्छ । फिल्म क्षेत्रमा आउनु अघि कुनै फिल्मी कोर्स गरेर आउनु भएको हो कि ? के हो ? भारतमा फिल्म सम्बन्धी २ महिनाको सिकाईले यस क्षेत्रमा सहज तरिकाले काम गर्न सक्ने उर्जा प्राप्त भयो । पहिलो फिल्म सेम्ला दुवाल र दोस्रो ताजे मानि जुजार भन्ने फिल्म हुन्, पछिका दिनमा आफैपनि निर्माण प्रति असन्तुष्टी भई भारतको नयाँ दिल्ली स्थिति डिएन्डिमा फिल्म निर्माण सम्बन्धी २ महिनाको तालिम लिए, तर दुई महिनापछि सिकाई पूरा गर्न नसकेर पून नेपाल फर्किए । त्यहि २ महिनाको तालिमले कसरी असल कलाकार हुन सकिन्छ भन्ने जस्ता फिल्म सम्बन्धी जानकारी प्राप्त भयो, अहिले त्यही कुरालाई ध्यानमा राखि काम गर्दा उर्जा मिल्ने गरेको छ । त्यस्तै निर्देशक शिव रेग्मी, मदन घिमिरेको सहयोग रहेको छ । चलचित्र व्यवसायिक रुपमा सफल हुने कुरामा कतिको ढुक्क हुनु हुन्छ ? भदौको अन्तिमबाट शुरु हुने भनिएता पनि असोजमा ५० वाट हलमा ल्हूई हो (जीन्दगीको साथी) फिल्म प्रदर्शन गरिनेछ । राम्रो विषय वस्तु समावेश गरेको हुँदा बजारमा राम्रै छाप छोड्छ भन्ने आशा रहेको छ । यो चलचित्र व्यवसायिक रुपमा सफल हुने आशा राखेको छु ।
नयाँ बसपार्कमा टहरा पसल हटाइयो, ट्राफिक व्यवस्थापन सहज बनाइदै
काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम शुरु गरेको हो । महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ । यस्तै, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए । “करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउँछ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस