कार किन्नुभयो ? अब जान्नुस् त्यसलाई मेन्टेन गर्ने ५ तरिका
काठमाडौँ । हरेक कार मालिकले यहि चाहन्छन् कि आफ्नो कार लामो समयसम्म पनि दुरुस्तै बनिरहोस् । तर, चाहेर मात्र हुँदैन, कारलाई मेन्टेन गर्ने केहि तरिकाहरुको पनि ज्ञान हुनु आवश्यक हुन्छ । यदि तपाईं पनि यस्तै चाहना गरिरहनु भएको छ, तर कारलाई मेन्टेन गर्ने तरिकाहरुको बारेमा राम्रो छैन भने तपाईंको कार नयाँबाट पुरानो हुन धेरै समय लाग्दैन । आज हामीले कारलाई मेन्टेन गर्ने ५ तरिकाहरु लिएर आएका छौं, जुन तपाईंका लागि पनि लाभदायी सिद्ध हुन सक्छ । आउनुस् जानौं यी ५ तरिकाहरुका बारेमा: ब्याट्रीको जाँच कारको लाइट, स्टार्टर मोटर, हर्न लगायतका विभिन्न इलेक्ट्रिक सिस्टमहरु ब्याट्रीमै निर्भर गर्ने भएको हुनाले कारको ब्याट्री राम्रो अवस्थामा हुनु जरुरी हुन्छ । त्यसैले तपाईं पनि ब्याट्रीमा चार्ज छ छैन भन्ने तर्फ सचेत रहनुहोस् र ब्याट्रीमा एसिडको मात्रा पनि के कति छ भन्ने तर्फ विचार पु¥याउनुहोस् । विज्ञहरुले हरेक २ देखि ३ वर्षमा कारको ब्याट्री चेञ्ज गर्दा ब्याट्रीको कारण बेहोर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ भनी बताउँदै आएका छन् । एयरफिल्टरको सफाई कारको इञ्जिन चल्ने भनेको फ्यूल र एयरको मिक्स्चर बर्न भएर हो । एयर फिल्टरले इम्पियोर एयरलाई पियोर अर्थात् शुद्ध बनाएर इञ्जिनमा बर्न हुनका लागि पठाउने गर्दछ । यसले इञ्जिनलाई स्मूथ बनाइरहन समेत मद्दत पु¥याउँछ । यो क्रममा फिल्टरमा धेरै फोहोरहरु जम्मा भएर फिल्टरको जालीहरु ब्लक भएका हुन सक्छन् । यसै कारणले गर्दा समयसमयमा एयर फिल्टरलाई सफा गर्न तर्फ ध्यान पु¥याउने गर्नुहोस् । टायर प्रेसरको जाँच टायरको प्रेसरले कम्फर्ट लेभल र ड्राइभको क्वालिटी राम्रो बनाउने भएकाले यसको मात्रा सहि हुनु जरुरी हुन्छ । यदि मात्रा सहि छ भने टायरले राम्रो ग्रिप प्रदान गर्छ र जसले ब्रेकिङ्गलाई समेत राम्रो बनाउँछ । त्यसैले यात्रा गर्नु अघि वा यात्रा गरिसकेपछि तपाईं पनि चारओटै टायरको प्रेसर चेक गर्ने गर्नुहोस् । स्मरण रहोस्, कारका लागि सहि टायर प्रेसर भनेको ३० देखि ३५ पीएसआई हो । इञ्जिन आयलको अवस्था इञ्जिन र गियरलाई लुब्रिकेट गराउने काम भनेको इञ्जिन आयलको हो । लुब्रिकेट गराउनु भन्नाले इञ्जिन र गियरलाई सुक्खा हुन नदिनु भन्ने बुझिन्छ । इञ्जिन आयलको प्रयोग नगरिँदा इञ्जिन र गियरका पार्टस्हरुमा घर्षण उत्पन्न हुनगई चाँडै बिग्रन सक्दछन् । तसर्थ आफ्नो कारमा इञ्जिन आयल चेञ्ज गर्ने वेला भएनभएको वारे ध्यान दिने गर्नुहोस् । ब्रेकिङ्ग सिस्टमको जाँच ब्रेकमा आएको समस्याका कारण दुर्घटना भएका समाचार हामिले सुन्दै आइरहेका छौं । यस्ता दुर्घटनाबाट बच्नका लागि आफ्नो सवारीको ब्रेकिङ्ग सिस्टमले राम्रोसँग काम गरिरहेको छ भन्ने कुराको यकिन गरेर मात्र सवारी चलाउने गर्नुहोस् । कारको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ ब्रेकिङ्ग प्याड फेर्नुपर्ने वेला भए नभएको, ब्रेक फ्लुइडको मात्रामा कमी आए नआएको लगायतका कुराको जाँच गरिराख्नु पर्ने हुन्छ ।
बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग
काठमाडौं । विनयजंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसुस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन । त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । दुव्र्यसनबाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रुपमा फालिएका शवहरुको व्यवस्थापन गर्न लागिपरेका छन् । ‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बस्नेतले भने, ‘मृत्युपछि शवमाथि पनि अहिले अन्याय गरिन्छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो ।’ तिनै विनयलाई उनको काममा सहयोग होस् भनेर अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलका म्यानेजर तथा अन्तर्राष्ट्रिय भाइस प्रिन्सिपल जोन क्यूले सहयोग गरे । उनले विनयको काम राम्रो भएको भन्दै आफू र कलेजको तर्फबाट विनयलाई १५ सय अष्ट्रेलियन डलर दिएका हुन् । ‘उहाँले गरेको काम साँच्चिकै मानवीय भावले ओतप्रोत छ,’ जोनले कार्यक्रममा भने, ‘यसलाई सहयोग गर्दा मेरो मन पनि प्रफुल्ल भएको छ ।’ यो कार्यक्रम अष्ट्रेलियाका शिक्षण संस्थाहरुमा जाने नेपाली विद्यार्थीलाई समायोजन गरिरहेको शैक्षिक परामर्श कम्पनीहरुको संस्था नायरले समायोजन गरेको थियो । कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले भने, ‘विनयजीको काम साँच्चिकै सम्मानयोग्य छ, उहाँलाई यो सहयोग गर्ने अवसर जुटाउन पाएकोमा हामी खुसी छौँ ।’ त्यस्तै, नायरका अध्यक्ष विज्ञान श्रेष्ठले पनि यो कार्यक्रम गर्न पाउँदा नायरलाई खुसी लागेको बताए । ‘अष्ट्रेलियामा हामी विद्यार्थी पठाइरहेका छौँ,’ उनले भने, ‘त्यहाँका शिक्षण संस्थाहरुले नेपाली समाजप्रति देखाएको यो सदाशयता निकै प्रशंसनीय छ ।’ यो कार्यक्रम हब प्रोफेसनल सर्भिसेसको सहयोगमा सम्पन्न भएको थियो ।
संगित सापकोटाको ‘टीका’ कुञ्ज नाटकघरमा
काठमाडौं । भदौ २० गतेदेखि कुञ्ज नाटकघरमा ‘टीका’ मञ्चन भईरहेको छ । निर्देशक संगित सापकोटाको निर्देशनमा मञ्चन भएको उक्त नाटक भदौ २० गते शुक्रबारदेखि थापागाँउ स्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेकाे हाे। भिमनिधि तिवारीले लेखेकाे साे नाटक बुधबार बाहेक साँझ ५ः३० बजे र शनिबार १ बजेदेखि मञ्चन हुँदै आइरहेको छ । दशैं नजिकिँदै गर्दा कामका लागि विदेशिने नेपालीहरुको कथामा केन्द्रित रहेर लेखक तिवारीले नेपाली युवाहरुको विदेशिनु पर्ने बाध्यता, चाडपर्व सँगै मनाउन नपाउँदाको पिडालाई प्रस्तुत गरेका छन् । घरमा रहेको एउटा मात्रै छोरा त्यो नि परिवारकाे दैनिकी अवस्था सुधार गर्न, आवश्यकता परिपूर्ति गर्नका लागि विदेशिने लाखौं नेपाली युवाको बाध्यतामा आधारित भई निर्देशक सापकोटाले सरल एवं मार्मिक तवरबाट उक्त टिका नाटकको मन्चन गरेका छन् । प्रत्येक वर्ष आफ्नो देशको जनशक्ति बाहिरिँदा नेपाललाई पर्ने असर र युवालाई देशप्रति उत्पन्न हुने भावनालाई प्रस्तुत गर्दै नेपालमा नै युवाले केही गर्न सक्छन् है भन्ने सन्देश उक्त नाटकले प्रदान गर्दछ । दिलिप खड्काकाे प्रोडक्सन डिजाईनमा रहेको उक्त नाटकमा श्रवण राना मगर, विनिता गुरुङ, राजकगल फकिर, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन र आनन्द महत रहेका छन् । त्यस्तै नाटकमा संगीत संगित सापकोटा र मोनिस निरौलाको रहेको छ ।