चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा, चन्द्र ढकालले गरे स्वागत
काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए । चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।
नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग
काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।
नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली पोखरातर्फ प्रस्थान
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन् । रासस