जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि धीरबहादुर र राममायालाई

खलङ्गा । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गरेका छन् । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेका भण्डारीले पाँच घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित समय पूरा गरे भने त्रिभुवन आर्मी क्लबका महताराले पाँच घण्टा २४ मिनेटमा पूरा गरेका हुन् । यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी राममाया बुढाले उपाधि प्राप्त गरेकी छिन् । क्लबकै मञ्जु रावत दोस्रो र २४ नम्बर बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हासिल गरिन् । मुगुको रारा तालबाट अध्यक्ष शाहीले प्रथम स्थान हासिल गरेकी बुढाले छ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा निर्धारित समय पूरा गरेको बताए । यसैगरी, रावतले छ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र भण्डारीले छ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । सो प्रतिष्पर्धामा रहेका ६३ जना मध्ये ६१ जनाले दुरी पार गरे । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा पहिलो पाँच जना विदेशी खेलाडीले समेत सहभागिता जनाएका थिए । म्याराथनका प्राविधिक संयोजक तथा एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट छ जना नेपाल टेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही रु ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । रासस

कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक

काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिएका हुन् । चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घट्नुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको बताएका छन् । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।