खुशीको खबरः ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य जाँच
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिएका हुन् । कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उनले बताए । गाउँपालिकाभित्रका आठ वटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उनको भनाइ छ । ‘ धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था धेरै छ उनले भने, “कम्तीमा महिनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पुर्याउनका लागि कार्यक्रमको थालनी गरिएको हो ।” यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालीम प्रदान गरी कार्यक्रम शुरु गरेको उनले बताए । गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने शुरु गरेको उनको भनाइ छ । “हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १५० जना ज्येष्ठ नागरिक छन्, उनले भने, । “ती मध्ये पनि आधाजति मात्र गाउँमा बसोवास गर्दा रहेछन्, उनीहरुमा सबैमा उपचार सेवा पुर्याउन सकिने पालिकाले अपेक्षा गरेको छ ।” नेपाल सरकारको तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौ ।’ शाखा प्रमुख भट्टले भने,“घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप केही रकम गाउँपालिकाले उपलब्ध गराउछ ।” एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने उनले बताएका छन् । रासस
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरी मनाइँदै
काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरिन्छ । मजदुरहरुलार्इ बिदा पनि दिने चलन छ । फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।
ईपीएल भारतीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानलहरुलाई पनि लिगबारे अधिकार प्रदान गर्न सक्नेछ । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने र नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बताए । नेपाली क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडिया डी स्पोर्ट्सको प्रयोग गरिएको हो । यसअघि ईपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपिवान एचडीले गरेको थियो । चौथो संस्करणको ईपीएल आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने छ ।एभरेष्ट प्रिमियर लिगको ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।