टेनिस च्याम्पियनसीपमा कमल थापाले जिते दोहोरो उपाधि
कास्की । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि प्राप्त गरेका हुन् । त्यसैगरी, थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो । च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् । ३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् । च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिएका छन् । विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए। रासस
दशैं नजिकिँएसँगै चोरहरुको बिगबिगी, तीन दिनमा ४४ घरमा चोरी
गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिएका छन् । यसरी, चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए । रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ । गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताएका छन् । रासस
अब राजमार्ग सुरक्षाकाे जिम्मा सशस्त्र प्रहरीलाई
चितवन । चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने भएकाले सशस्त्रलाई राजमार्ग सुरक्षाको जिम्मा दिइएको हो । राजमार्ग क्षेत्र अवरोध तथा बन्द गर्न नपाइने निर्देशिका जारी भइसकेको, राजमार्गमा सवारी चाप बढ्दै गएको र सबै सडक खण्डमा सुरक्षाका लागि खटिन जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको प्रहरीको जनशक्ति अपुग भएकाले सशस्त्र प्रहरी बललाई खटाइने निर्णय गरिएको बस्नेतले बताएका छन् । सडक यात्राको सुरक्षालाई ध्यानमा राखेर जिल्लामा रहेका बाहिरी राजमार्ग र भित्री सडक खण्डमासमेत सशस्त्र प्रहरीलाई परिचालन गर्ने गरी निर्णय गरिएको छ । दशैँ, तिहार, छठलगायत पर्वमा नेपाल प्रहरीको जिम्मेवारी धेरै हुने र मुख्य राजमार्गमा सशस्त्रले गस्ती गरिदिँदा धेरै सहज हुने अनुमान गरिएको छ । जिल्लाको मकवानपुरको सिमाना लोथल खोलादेखि धादिङ र चितवनको सिमाना मौवाखोलासम्मको सडक क्षेत्र मुख्य राजमार्ग हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले राजमार्ग क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिँदा जिल्लाको शान्ति सुरक्षामा थप बल पुग्ने बताए । जिल्ला प्रहरी अन्तर्गत ३३ वटा स्थायी पोष्ट र ६८ वटा अस्थायी पोष्ट रहेका छन् । जिल्लामा ९३ किलोमिटर राजमार्ग, ३०८ किलोमिटर पक्की सडक, १ हजार ३२० किलोमिटर ग्राभेल सडक र ५५५ किलोमिटर कच्ची सडक गरी दुई हजार १८३ किलोमिटर सडक रहेको छ । रासस