कामीरिता २३ औँ पटक सगरमाथामा, आफ्नो विश्व रेकर्ड आफैँले तोडे
सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताए । बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।
एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको वैवाहिक स्वर्ण जयन्ती मनाइयो
काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । ग्रुपका अध्यक्ष तथा उनकी धर्मपत्निको वैवाहिक स्वर्ण जयन्तीका अवसर जिल्लाको सिमरामा विशेष कार्यक्रम गरियो । बैशाख २१ गते ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड दम्पती लगायत सम्पूर्ण परिबारलाई श्र विशेष निम्तो दिएका थिए । निम्तोलाई स्वीकार्दै मोतिलाल, श्रीमती, छोरा, बुहारी, नातीहरु सहित जितपुरको दुगड कार्यालयमा गएका थिए । बाजागाजा सहित उनलाई स्वागत गर्दै कार्यक्रममा दम्पतीको वरमाला सहित पुनः विवाहको कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका पुर्व कर्मचारी र उनका परिवार सहभागी भएका थिए । कार्यक्रम दुगड ब्रदर्श एण्ड सन्स प्रालिका सिनियर जनेरल म्यानेजर वेदप्रकाश शर्माको संयोजकत्व र कार्यक्रम संचालन एमभि दुगड ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । उद्योगी मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । एमभी दुगड ग्रुप अन्र्तगत काठमाण्डौका हाईड्रोपावर र अटोमोवाईल्स काकर्मचारीहरुले पनि अब द्राश्रो चरणको कार्यक्रम काठमाडौंमा गर्ने घोषण गरेका छन् ।
सेल्फी प्रतियोगिताको बिजेतालाई २ लाख ५० हजारको बीमालेख
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको क्लीन शेयर एण्ड वीन सेल्फी प्रतियोगिताको विजेतालाई २ लाख ५० हजारको सानिमा म्यादी जीवन बीमालेख पुरस्कार प्रदान गरिएको छ । मातातीर्थ औँसीको अवसरमा आयोजित सो प्रतियोगितामा कम्पनीको अफिसियल फेसबुक पेजमा राखिएको सेल्फी प्रतियोगितामा आफ्नी आमासँगको सेल्फी पोष्ट गरी प्रथम हुन सफल रञ्जना खनालकी आमा सीतादेवी अधिकारीलाई बीमालेख प्रदान गरिएको हो । कम्पनीको मुख्यालयमा आयोजित विशेष समारोहमा महाप्रबन्धक शिवराम तिमल्सिनाले सो बीमालेख प्रदान गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसीको पनि उपस्थिति रहेको थियो ।