आज सार्वजनिक बिदा, मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइदै
धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । “जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
पुर्खाको नासो जनताको हक भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान शुरु
काठमाडौं । टुँडिखेल अतिक्रमणमुक्त गरौं अभियानका साथ रत्नपार्क र खुल्लामञ्चलाई मानव साङ्गो बनाई घेरिएको छ । सरकार तथा महानगरले ‘अकुपाई टुँडिखेल’को स्थितिको बारे ध्यान केन्द्रित नगरेपछि विहान ८ः३०मा सो क्षेत्रलाई मानिसले घेरेका हुन् । पुर्खाको नासो जनताको हक भन्ने नाराका साथ साथै शुरु भएको सो घेराउ कार्यक्रममा टुँडिखेल कस्को विर्ता अब लिनेछौं फिर्ता जस्ता विभिन्न नारा गुन्जिएको थियो । हातमा हात समाई घेर्न सम्भव नभए पछि हरियो रिवनको साहेताले रत्नपार्कदेखि टुँडिखेल घेरिएको थियो । आगामी तीन महिनासम्म हुने उक्त कार्यक्रम सफल बनाउन स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जन दबाब अभियानमा जुटेका छन् । विश्व स्वतन्त्रता दिवसको अवसर पार्दै टुँडिखेल बचाउ अभियानको सुचारु गरिएको हो । बाजा सहितकाे सहितकाे उक्त घेराउ टाेलीमा केन्द्रिय, स्थानिय तहका नेता तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति रहेको थियो ।
नेपाली महिला क्रिकेट टोली आज चीनतर्फ प्रस्थान
काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ । कात्तिक २८ गते नेपालले मलेसिया र २९ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपाली टोलीको कप्तानीको भूमिका भने डली भट्टले निर्वाह गर्नेछिन । त्यस्तै, टोलीको अन्य सदस्यमा कविता कुँवर, कृतिका मरासिनी, यशोधा विष्ट, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुशी डङ्गोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले र सृष्टि पौडेल छन् । त्यसैगरी वैकल्पिकतर्फ हेलिसा लामा गुरुङ, पेम लामु शेर्पा र मनिषा मगर छन् । रासस